कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौलायो अफिम खेती

सरकारी निकायबाट नियन्त्रण तथा नष्ट गर्न बेवास्ता भएपछि यो वर्ष नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा व्यावसायिक खेती भएको छ
भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध लागूऔषध अफिम खेती मौलाएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयको पाखोबारीमा अफिम खेती मौलाएको हो ।

मौलायो अफिम खेती

धेरै आम्दानीको आशामा स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गरेको पाइएको छ । ४/५ वर्षदेखि नलगाडका स्थानीयले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेतीमा जोड दिएका छन् ।

सिँचाइ अभावले दुर्गमको पाखोबारीमा गहुँ, जौ, आलु लगायत खेतीको तुलनामा अफिमबाट मनग्य आम्दानी हुने भएपछि उक्त खेती मौलाएको हो । पाखोबारीमै प्रतिकेजी अफिम पाँच लाख रुपैयाँमा बिक्री हुने गरेको स्थानीयको भनाइ छ । एक रोपनी पाखोमा २ केजीसम्म अफिम उत्पादन हुने गरेको उनले बताए । स्थानीयका अनुसार तर सोही पाखोमा अन्य खेतीबाट पाँच हजार पनि आम्दानी हुँदैन । दुर्गम गाउँमा लगाएको खेतीबाट अहिले अफिम निकाल्ने सिजन चलेको छ । असोजमा अफिमको खेती लगाउने र वैशाख/जेठमा निकाल्ने स्थानीयले जनाए । स्थानीयले अफिमबाट प्रत्येक सिजनमा एक लाखदेखि १० लाखसम्म आम्दानी गर्छन् ।

सरकारी निकायबाट नियन्त्रण तथा नष्ट गर्न बेवास्ता भएपछि यो वर्ष नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा व्यावसायिक अफिम खेती भएको छ । नलगाड नगरपालिका २ को नहकुली, द्वावारे, १३ को सिउन, रूप, खाती गुर्ता, फुम्दा, १० को रावत गाउँ, ध्यारगाउँ, ९ को बाँसकोट, ताँत्र, घरंगा, ८ को मंसिरी लगायतका क्षेत्रमा व्यावसायिक खेती भएको छ । नलगाडका सयौं किसानले अफिम खेतीमा लगाएका छन् । गत साता नलगाड २, चाउलेचौरको ३ रोपनी पाखोबारीमा लगाएको अवैध लागूऔषध अफिम खेती नष्ट गरेको इलाका प्रहरी कार्यालय दल्लीका इन्चार्ज महेश पन्तले बताए । अफिम खेती विकट क्षेत्रमा हुने गरेकोले नियन्त्रण तथा नष्ट गर्न समस्या भएको इन्चार्ज पन्तले बताए । अर्को पटक अफिम खेती नगर्न किसानलाई चेतावनी दिएको उनले बताए ।

अफिम खेती गर्ने स्थानीयलाई लागूऔषध उत्पादन, बिक्री वितरण, सेवनको असर, कैद, सजाय, कानुनी व्यवस्थालगायत विषयवस्तुबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जरुरी भएको उनको भनाइ छ । कतिपयले गाँजा तथा अफिम खेती अवैध हो भन्ने थाहा नपाएर पनि उक्त खेती लगाउने गरेको पन्तले बताए । गत वर्ष प्रहरीले नलगाड नगरपालिकाको ६० रोपनी पाखोबारीमा लगाएको अवैध लागूऔषध अफिम खेतीको नष्ट गरेको थियो । लागूऔषध कारोबारीले एक केजी अफिमको बारीमै आएर पाँच लाख रुपैयाँ मूल्य दिने गरेको खुल्न आएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

त्यस्त,ै कारोबारीले अफिम खेती र अफिम संकलन गर्ने तरिकाबारे लुकिछिपी तालिम पनि दिने गरेका छन् । तर यस वर्ष अफिमका कारोबारीलाई फेला पार्न नसकिएको उनले बताए । अफिमलगायत लागूऔषधको मुख्य कारोबारीको खोजी भइरहेको अवस्थीको भनाइ छ । गत वर्ष मात्र ५ केजी अफिम बरामद गरेको उनले बताए । प्रहरीले ९ महिनाअघि जाजरकोटका निमबहादुर सिंह, कुशबहादुर महतारा र रुकुम तकसेराका टेकवीर बुढालाई डेढ किलो अफिम लागूऔषधसहित पक्राउ गरेको थियो । जाजरकोट अदालतबाट अफिम कारोबारी सिंह तथा महतारालाई १६/१६ वर्ष र बुढालाई १० वर्ष कैद तथा जनही ८/८ लाख दरले जरिवानाको फैसलासमेत भएको उनले बताए । जाजरकोट चरेस, अफिमलगायत लागूऔषधको उत्पादन केन्द्रका रूपमा परिचित हुन लागेको उनले बताए । गाँजा र अफिम खेती गर्नेलाई कानुनी दायराभित्र ल्याइने जनाए । नेपालगन्ज, रुपैडिया लगायत बजारमा चरेस एक लाख प्रतिकेजी र अफिम ५० लाख रुपैयाँमा कारोबार हुने हुँदा लागूऔषधको उत्पादन बढेको उनले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?