कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीयमा कर्मचारी अभाव

दैलेख — यहाँका स्थानीय तहमा कर्मचारीको अभाव हुँदा विकास निर्माणका काममा ढिलाइ भएको छ । दैलेखका ११ स्थानीय तहमा तीन हजार बढी योजना छन् तर, कर्मचारी अभावले ६० प्रतिशतमात्र पूरा भएको छ ।

स्थानीयमा कर्मचारी अभाव

आर्थिक वर्ष सकिन करिब डेढ महिना बाँकी रहँदा स्थानीय तहमा अधिकांश निर्माणका काम सक्न चटारो छ । चामुण्डा विन्द्रासैनी नगरपालिकाले अहिलेसम्म प्राविधिक इन्जिनियरको टुंगो लगाउन सकेको छैन । नगरपालिकाले करारमा इन्जिनियर राखेर काम गर्दै आएको जनाएको छ । ‘कामको चटारोसँगै कर्मचारी अभावको मार खेपिरहेका छौं,’ उपप्रमुख तारा शाहीले भनिन्, ‘अन्य प्रशासनिक कामको पनि उत्तिकै चटारो छ, केन्द्र सरकारले कर्मचारी पूर्तिमा चासो नदिँदा विकास निर्माणका काम प्रभावित भइरहेका छन् ।’ उनका अनुसार केही साताभित्रै विज्ञापन गरेर कर्मचारी पदपूर्ति गर्ने तयारीमा नगरपालिका छ ।

भैरवी गाउँपालिकामा पनि विकास निर्माणले गति लिन सकेको छैन । पूर्वधार विकासतर्फको १५ लाखमात्र रकम भुक्तानी भएको इन्जिनियर सुशीला मिश्रले बताइन् । उनका अनुसार तीन सय ५० योजना हेर्न दुई प्राविधिकलाई निकै समस्या छ । ‘जनशक्ति कम हुँदा बिहान ६ बजेदेखि राति ११ बजेसम्मै काम गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन् । गाउँपालिका अध्यक्ष प्रेम बुढाले करारमा इन्जिनियर र सबइन्जिनियर राखेर काम चलाइरहेको बताए ।

त्यस्तै, दुल्लु नगरपालिकामा ५ सय ३६ योजना विनियोजन भएका छन् । ८० प्रतिशत काम सम्पन्न भए पनि प्राविधिक मूल्यांकन नहुँदा रकम भुक्तानी न्यून छ । करिब २० प्रतिशत रकममात्र भुक्तानी गरिएको नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए । ‘नगरपालिका करिब ढेढ महिना प्रमुख प्रशासकीय अधिकृतविहीन रह्यो,’ उनले भने, ‘नगरका अधिकांश योजना अलपत्र परे, केन्द्रले कर्मचारी समायोजनमा चासो नदिँदा समस्या भएको हो ।’

प्रकाशित : जेष्ठ ७, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?