१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कार्यक्रममै मन्त्रीमण्डल

कार्यक्रमको प्रकृतिसँग खासै साइनो नभएका थप चार मन्त्रीको उपस्थिति
कलेन्द्र सेजुवाल

सुर्खेत — वीरेन्द्रनगरस्थित एक होटेलमा शनिबार सामुदायिक रेडियो प्रसारक संघको प्रदेश भेला भयो । भेलामा प्रमुख अतिथि थिए– मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तर, मञ्चमा उनीसँगै अन्य पाँच मन्त्री पनि देखिए ।

कार्यक्रममै मन्त्रीमण्डल

त्यतिमात्र होइन, उद्घाटन समारोहको मुख्यसत्रमा बोल्ने ९ मध्ये ६ जना कर्णाली सरकारका मुख्यमन्त्री/मन्त्री थिए । मुख्यमन्त्री सहितको यही समूह त्यहाँबाट चेम्बर अफ कमर्सको कार्यक्रममा गयो । र, त्यसैगरी मञ्च ओगट्यो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यो कुनै नौलो दृश्य होइन । मुख्यमन्त्री वा एकजना बिभागीय मन्त्री सहभागी हुँदा पुग्ने कार्यक्रममा सिंगो मन्त्रीमण्डल नै जाने गरेको छ । यसले मन्त्रीहरूको समय बर्बाद त हुन्छ नै, स्वयं आयोजकले समेत लाभ लिन सक्दैनन् । कार्यक्रम व्यवस्थापन झनै भद्रगोल हुन्छ । शनिबारको कार्यक्रममा मुख्यमन्त्री शाहीले मुखै खोलेर यो प्रवृत्तिप्रति असन्तुष्टि जनाए । ‘एउटा कार्यक्रममा सबैजना आउने, अनि भाषण गर्ने यो शैली फिटिक्कै मन परेन,’ उनले आफ्नो मन्तव्यमा भने, ‘अब बोलेर भन्दा काम गरेर देखाउनुपर्छ ।’

उनलाई मात्र होइन, एउटा सामान्य कार्यक्रममा प्रदेश सरकारको सिंगो मन्त्रीमण्डल लस्कर लागेर जाने प्रवृत्ति कसैलाई मन परेको छैन । तर, यो प्रवृत्ति अन्त्य गर्न स्वयं मुख्यमन्त्री शाही अग्रसर हुनुपर्छ । शनिबारकै रेडियोसम्बन्धी कार्यक्रममा सञ्चार हेर्ने विभागी मन्त्री उपस्थित हुँदा पर्याप्त हुन्थ्यो । आयोजकको रुची ‘हाइप्रोफाइल’लाई बोलाउनु नै थियो भने मुख्यमन्त्रीलाई समेत आमन्त्रण गर्न सकिन्थ्यो । तर, कार्यक्रमको प्रकृतिसँग खासै साइनो नभएका थप चार मन्त्रीको उपस्थिति त्यहाँ औचित्यपूर्ण थिएन । चेम्बर अफ कमर्सको कार्यक्रममै पनि आर्थिक मामिला तथा योजनामन्त्री वा मुख्यमन्त्रीसहित आर्थिक मामिलामन्त्री जाँदा भइहाल्थ्यो । कार्यक्रमको विषयसँग प्रत्यक्ष सरोकार नभएका अन्य मन्त्रीको उपस्थिति भने अतिथि बन्ने र भाषण गर्नेमै सीमित देखियो ।

एउटै कार्यक्रममा मन्त्रीको लस्कर लाग्नुमा आयोजक पनि उत्तिकै जिम्मेवार छन् । कार्यक्रमको भव्यता बढाउन होस् वा सबै मन्त्रीको मन राखिदिन, उनीहरूले मन्त्रीदेखि मुख्यमन्त्रीसम्मलाई निमन्त्रणा पठाउँछन् । ‘एउटालाई निम्तो पठाउँदा अर्को रिसाउँछ कि भन्ने लाग्छ, आखिर यहाँ मन्त्री नै कति पो छन् र ?’ केही दिनअघि एउटा कार्यक्रम आयोजना गरेका एक गैरसरकारी संस्थाका प्रतिनिधिले भने, ‘बोलाएजति आउँदा त अघिल्लो लहरमा सबै मन्त्रीमात्र भए ।’

‘मन राख्न’ निमन्त्रणा दिन जाने कतिपय आयोजकलाई लाग्छ– कार्यक्रमको ‘सेडुल’ हेरेर मन्त्री स्वयंले ‘म भ्याउन्न’ वा ‘फलानो मन्त्रीलाई बोलाए भइहाल्छ नि’ भनिदिउन् । तर, कर्णाली सरकारमा ‘मञ्च–मोह’ नभएको त्यस्ता मन्त्री बिरलै छन् ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?