सडक अलपत्र, ठेकेदार बेपत्ता

विप्लव महर्जन

सल्यान — सल्लीबजार–चौरजहारी सडक अन्तर्गत बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारदेखि नाथेखोलासम्मको पाँच किमि सडक स्तरवृद्धिको काम बीचमै अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । सडकको २० प्रतिशत काम नसकिँदै पेटी ठेकेदार रामबहादुर विष्ट बेपत्ता भएका हुन् ।

सडक अलपत्र, ठेकेदार बेपत्ता

ठेकेदार बेपत्ता भएपछि तारजाली लगाउने, ह्युमपाइप राख्ने, नाली काट्ने, ग्राबेल गर्ने लगायतका काम अलपत्र परेका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि कामदारले लामो समयदेखि ज्याला पाउन सकेका छैनन् । निर्माण कम्पनीका मेसिन समेत अलपत्र परेको स्थानीयको भनाइ छ । सिग्मा गाल्वा कन्स्ट्रक्सनका नरहरि थपलियाले ठेक्का सम्झौता गरेको सडक निर्माणको जिम्मा पेटी ठेकेदार रामबहादुर विष्टले लिएका थिए ।

एक वर्षदेखि सडक निर्माणका लागि पेटी ठेकेदार विष्टले जिम्मा लिएका थिए । पहिलो चरणको सडक चौडा गराउने काम समेत गुणस्तरीय नभएको स्थानीयको भनाइ छ । वर्षा सुरु हुनु पहिले नै सडकमा ग्राबेल गर्ने भनिए पनि ठेकेदार नै बेपत्ता भएपछि काम अलपत्र परेको छ ।

सडक डिभिजन कार्यालय दाङको लापरबाहीले ठेकेदार भागेको स्थानीयको भनाइ छ । पेटी ठेकेदार भागेकाले वर्षातमा गाडी चल्न समस्या हुने स्थानीय दुर्गा बुढाथोकीले बताए । ठेकेदारको लापरबाहीले स्थानीयलाई आउजाउमा समस्या भएको उनको भनाइ छ ।

ठेकेदार भागेपछि आफूहरूले ज्याला नपाएको मजदुर दिनेश नेपालीले बताए । बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोबिन्द पुनले सल्लीबजार–चौरजहारी सडकमा गाडी चल्न थालेको १० वर्ष बढी भइसकेकोले स्तरवृद्धि थालिएको बताए । सडक निर्माणबारे नगरपालिकाले अनुगमन गर्ने छ । काममा ढिलासुस्ती गरेका निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि अटेर गरेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर नरबहादुर चन्दले बताए ।

‘पेटी ठेकेदार विष्टले बेवास्ता गरेपछि मुख्य ठेकेदार नरहरि थपलियालाई पत्राचार गरिएको छ,’ उनले भने, ‘एक साताभित्र काममा फर्कन निर्देशन दिइएको छ, अटेर गरे कारबाही प्रक्रिया अगाडि बढ्छ ।’

डिभिजन कार्यालयले ठेकेदारको बैंक ग्यारेन्टी जफत गर्ने र पेस्की रकम झन्डै ७० लाख पेस्की फिर्ता मागिने जनाएको छ ।

पाँच किमि सडक निर्माणका लागि २०७६ असारसम्म काम गर्ने अवधि भए पनि ठेकेदारले अहिलेसम्म २० प्रतिशतमात्र काम गरेको उनको भनाइ छ । बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारदेखि नाथेखोलासम्म रातो माटो भएको र पानी परेमा गाडी चिप्लिने हुँदा सडक अवरुद्ध हुने उनले जनाए ।

सडक स्तरोन्नतिका लागि सडक डिभिजनले ११ करोड बजेट विनियोजन गरे पनि ठेकेदारले ८ करोडमा ठेक्का लिएका छन् । कामका लागि २०७४ साउनमा सम्झौता भएको थियो । पेटी ठेकेदार विष्टले मजदुर नपाएको भन्दै काम अगाडि बढाउन नसकेको बहाना बनाएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?