कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्णाली पूर्ण सरसफाइ अभियान

कालीकोट — तिलागुफा नगरपालिकाले पूर्ण सरसफाइ अभियान सुरु गरेको छ । ‘एक घर, एक धारा तिलागुफाको शान, पूर्ण सरसफाइयुक्त नगर हाम्रो पहिचान’ नाराका साथ राचुली, चिल्खाया, जुविथा, फोइमहादेव र छाप्रेमा पूर्ण सरसफाइका लागि अभियान थालिएको हो ।

कर्णाली पूर्ण सरसफाइ अभियान

नगर प्रमुख रतनबहादुर शाहीका अनुसार वडा नं ४ मा एक घर एक धारा जडान गरेर पूर्ण सरसफाइका सबै सूचकबारे समुदायस्तरमा छलफल गरिएको छ । चिल्खायामा पनि एक घर एक धारा बनाउन खानेपानी आयोजना सञ्चालित गरिएको नगरपालिकाले जनाएको छ । चर्पीको उचित प्रयोग, स्तरोन्नति, साबुनपानीले हात धुने बानी, पानी शुद्धीकरण, स्वच्छ र ताजा खानाको प्रयोग, व्यक्तिगत तथा घरायसी सरसफाइ, वातावरणीय सरसफाइ जस्ता पूर्ण सरसफाइका सूचकबारे गाउँबस्तीमा पुगेर सचेतना दिन नगरपालिकाले जनप्रतिनिधिसहितका सरसफाइ अभियानकर्ताका लागि अभिमुखीकरण गरेको छ ।

‘सबै सरोकारवालाई अभिमुखीकरण भइसकेको छ ।’ तिलागुफा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पाण्डेले भने, ‘पूर्ण सरसफाइ अभियान घरघरसम्म पुर्‍याउँदै छौं ।’ उनले अभियानमा घरदैलो, सडक नाटक, घर आँगन सरसफाइ, संयुक्त अनुगमन, र्‍याली र अन्तक्रिया गरिने बताए । पूर्ण सरसफाइका लागि खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय कालीकोटले तिलागुफाको गाल्जेमा सरोकारवाला बोलाएर अभिमुखीकरण गरेको खानेपानी प्रमुख इन्जिनियर रामकुमार साफीले बताए । उनले पाँच वर्षअघि कालीकोट कर्णालीको पहिलो, मध्यपश्चिमको दोस्रो र नेपालको आठौं खुला दिसामुक्त जिल्ला घोषणा भए पनि पूर्ण सरसफाइका लागि बजेट नहुँदा गति लिन नसकेको सुनाए ।

नागरिक समाज तिलागुफाका संयोजक विक्रमबहादुर शाहीले जुविथाका २ सय घरधुरीले गत वर्ष पूर्ण सरसफाइका सबै सूचक पूरा गरेपछि पूर्ण सरसफाइयुक्त घोषणा गरिएको बताए । उनले अभियान सबै गाउँमा सुरु गर्न नगरपालिकाले सहयोग गरेको बताए । पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न नगरका ११ वडाध्यक्ष, कर्यपालिकाका सदस्य, नगरपालिका विषयगत शाखाका प्रमुख, नगरपालिकाका वडासचिव, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय नाग्म, रांचुली, गाल्जे तथा ठिन्के बजार व्यवस्थापन समितिका पदाधिकारीहरूसहित ५० जनालाई अभिमुखीकरण गरेर गाउँ पठाइएको नगर उपप्रमुख दन्ता नेपालीले बताइन् ।

सरसफाइ अभियानमा गाउँ तथा टोल समिति गठन, पुुनर्गठन गरिने भएका छन् भने नगरपालिकाले नयाँ संरचनाअनुसार नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति पनि गठन गरेको छ । समितिले पनि मासिक रूपमा गाउँ/टोलको अनुगमन गरी चर्पीको स्तरोन्नति, व्यक्तिगत तथा वाततावरणीय सरसफाइ तथा खानेपानीको सहज पहुँचको अनुगमन गर्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?