कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘नलगाडलाई विद्युत् भण्डार बनाउँछौं’

काठमाडौँ — कर्णाली प्रदेशको दुर्गम जिल्ला जाजरकोटको नलगाड नगरपालिका विकास र समृद्धिको हिसाबले निकै पछाडि छ । सडक, विद्युत्, शिक्षा, स्वास्थ्य सेवा, सिँचाइ, खानेपानी, रोजगारीलगायत पूर्वाधार र व्यवस्थित सहरीकरण तथा सुशासनका मुद्दा जल्दोबल्दो समस्या छन् ।

‘नलगाडलाई विद्युत् भण्डार बनाउँछौं’

जलस्रोतको धनी नलगाड नगरपालिकामा रहेको ४ सय १० मेघावाट हाइड्रोपावर कम्पनीले पनि निर्माणमा गति लिन सकेको छैन । जलविद्युत्, सडक, कृषि, शिक्षा र स्वास्थ्यको विकासको मुख्य लक्ष्य बनाएर अघि बढेका नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलसँग कान्तिपुरका लागि भीमबहादुर सिंहले गरेको कुराकानी :–

नलगाड नगरपालिकाले अहिलेसम्म गरेका प्रमुख काम के हुन् ?
हामीले नगरपालिकाको नेतृत्व सम्हालेको एक वर्ष बित्यो । यस अवधिमा खासै परिणाम देखिने गरी काम हुन नसके पनि केहि महत्त्वपूर्ण कार्यको थालनी भएको छ । नगरक्षेत्रमा सरसफाइ अभियान, स्वास्थ्य सेवा, सबै वडा केन्द्रसम्म पुग्ने सडक निर्माण, शैक्षिक गुणस्तरका लागि विद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम लगायतको थालनी भएको छ । नगरको नियमित सरसफाइका लागि १३ वटै वडा केन्द्र र मुख्यमुख्य बजारमा अनिवार्य डस्टबिन राख्ने र जम्मा भएको फोहोर उठाएर डम्पिङ साइडमा फ्याँक्ने व्यवस्था मिलाइएको छ । जनप्रतिनिधि तथा कर्मचारी र स्थानीय बासिन्दाले सातामा एक पटक अनिवार्य बजार सरसफाइ गर्नुपर्ने नियम बनाएका छौं ।


स्वास्थ्य सेवाअन्तर्गत सबै स्वास्थ्य संस्थामा आवश्यक औषधिसहित जनशक्तिको व्यवस्थाका साथै महिलाको पाठेघर खसेको, आँखा, नाक कान घाँटी र सुस्त मनिस्थितिलगायत सम्बन्धी शिविर सञ्चालन गरेका छौं । त्यस्तै शैक्षिक गुणस्तरका लागि आवश्यकताअनुसार शैक्षिक पूर्वाधारको व्यवस्थापन, नियमित विद्यालय अनुगमन तथा निरीक्षण, विद्यालय मर्ज, नमुना विद्यालय घोषणा, अंग्रेजी माध्यमबाट पठनपाठनको सुरुवात जस्ता कार्यको थालनी गरेका छौं । सिँचाइ खानेपानी स्रोत व्यवस्थापन, सडक नक्सांकन र ग्रामीण विद्युतीकरणका कार्य भइरहेका छन् । यस अवधिमा ३ वटा कानुनको निर्माण तथा १६ वटा विधेयकहरूको ड्राफ्ट बनाएका छौं । नगरपालिकाको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माणको क्रममा छौं ।


कुन मुद्दालाई बढी महत्त्व दिनु भएको छ ?
नगरको आवधिक योजना, बृहत्तर गुरुयोजना निर्माण, हाइड्रोपावर आयोजना निर्माण, सडक निर्माण, कृषिको विकास, कानुन निर्माण, शैक्षिक गुणस्तर वृद्धि र स्वास्थ्य तथा सरसफाइलाई विशेष महत्त्व दिएका छौं । नलगाड हाइड्रोपावर र भेरी १ तथा २ जलविद्युत् आयोजनाको डीपीआर निर्माण लगायत ठूला आयोजनाका मुद्दालाई सबैभन्दा बढी महत्त्वका रूपमा लिएका छौं । जलविद्युत्का ठूला आयोजनाको छिटो–छरितो निर्माण गरेर नलगाडलाई जलविद्युत्को भण्डार बनाउने योजना बनाएका छौं । नलगाड नगरपालिका क्षेत्रभित्र दुई हजार मेघावाट बढी विद्युत् उत्पादन क्षमताका जलविद्युत् आयोजना रहेका छन् । नलगाड समृद्ध नगर बनाउन जलविद्युत् आयोजनाको निर्माण जरुरी छ । जलविद्युत् आयोजनाको छिटो छरितो निर्माणका लागि सम्बन्धित निकायको पटकपटक ध्यान आकर्षण गर्दै आएका छौं । नगर सरकार एक मेगावटसम्म दर्जन साना जलविद्युत् आयोजना निर्माणमा जुटेको छ । जलविद्युत् उत्पादनको विकासले मात्र नलगाड समृद्ध नगर बन्नेछ । त्यसैले नलगाडलाई जलविद्युत्को धनी नगर बनाउन सक्रिय पहल गर्नेछौं ।


नलगाड आयोजना पहिचान भएको २९ वर्ष बित्दा समेत निर्माणले गति लिन सकेको छैन नि ?
संघीय सरकारको चरम लापरबाहीले नलगाडलगायत महत्त्वपूर्ण जलविद्युत् आयोजना निर्माणमा ढिलाइ भएको छ । बजेट अभावमा आयोजनाको प्रगति नभएको हो । नलगाड जलविद्युत् हाइड्रोपावरको डीपीआर निर्माणको चरणमा छ । देशकै ठूलो मध्येको चार सय १० मेघावाटको जलविद्युत् आयोजनालाई पर्याप्त बजेट तथा छिटो भन्दा छिटो निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारसँग जोडदार माग गरेका छौं । जाजरकोटवासीको मात्र होइन, देशकै लागि महत्त्वपूर्ण नलगाड जलविद्युत् आयोजनालाई आगामी १० वर्षमा निर्माण सम्पन्न गर्ने योजना बनाएका छौं ।


नलगाड नगरपालिकाको विकासका लागि कुन–कुन क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ?
नलगाड नगरपालिकाको विकास र समृद्धिका लागि जलविद्युत् उत्पादन तथा जल उपयोगलाई पहिलो प्राथमिकतामा राखेका छौं । जलस्रोतको धनी नगरमा जलविद्युत् उत्पादनका साथै जलयात्रा, सिँचाइ र खानेपानीका क्षेत्रमा जलउपयोग गर्ने पहिलो योजना रहेको छ ।


दोस्रो प्राथमिकतामा कृषि उत्पादन रहेको छ । नलगाड नगरपालिकामा आधुनिक कृषि प्रणाली लागू गरी फलफूल, पशुपालन, मौरीपालन, धान खेती, सुन्ताला, मकै, स्याउ, आलु लगायत खेतीको पकेट क्षेत्र निर्माण गर्नेछौं । तेस्रो प्राथमिकतामा नगर सडक निर्माण गर्ने र १३ वटै वडा केन्द्रमा अबको एक वर्षमा सडक सञ्जाल जोड्ने योजना रहेको छ । त्यसपछि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाएका छौं । नगर विकासका आयोजनालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा नगरपालिका गम्भीर भएर लागेको छ ।


नगर विकासका प्रमुख चुनौती के के हुन् ?
भ्रष्टाचार नियन्त्रण, जनतामा सचेतना तथा बुझाइको कमी, भौगोलिक विकटता, कर्मचारी व्यवस्थापन र साधन स्रोतको अभाव प्रमुख समस्या हुन् । जनताको जनप्रतिनिधिसँग अपेक्षा बढी छ । जनता शीघ्र लाभ चाहन्छन् । जनताको आवश्यकता अनुसार बजेटको कमी छ । योजनाका चाङ छन् ।


दक्ष जनशक्ति, विशेषज्ञ लगायतको अभावमा ऐन कानुन, नीति नियम तथा कार्यविधि निर्माण गर्न गाह्रो छ । हामीसँग जनगुनासो पनि बढी छन् । तिनलाई कसरी सम्बोधन गर्ने भन्नेमा ‘सिरियस’ छौं ।


थुप्रै कानुनी जटिलता छन् । ‘लर्निङ बाइ डुइङ’को सिद्धान्तमा आधारित भएर काम गर्दै आएका छौं । जनताको अपेक्षा र हाम्रो लगानीबीच तालमेल हुन सकेको छैन ।


संघीय शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न तपाईंहरूको भूमिका कस्तो हुनुपर्छ ?
संघीय शासन प्रणालीलाई सफल बनाउने जिम्मा राजनीतिक नेतृत्व अर्थात् जनप्रतिनिधिकै हो । संघीय शासन प्रणालीमा नेतृत्वमा पुगेका सबै जनप्रतिनिधि इमान्दार हुन जरुरी छ । विकृति विसंगति लगायत सुुशासनका चुर्नाैतीको अन्त्य गर्दै संविधानको मर्म तथा भावनाअनुसार चल्न सक्नुपर्छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?