जमुनाहा—नाङ्चेनाङ्ला प्रादेशिक सडक शिलान्यास

माथिल्लो डुंगेश्वर (दैलेख) — भारतीय सीमा नाका जमुनाहा हुँदै उत्तरी चीन छुने मुगुको नाङ्चेनाङ्ला जोड्ने प्रादेशिक सडकको निर्माण सुरु भएको छ । जमुनाहा, कोहलपुर, सुर्खेत, माथिल्लो डुंगेश्वर, दुल्लु, कुसापानी, नाग्म, गमगढी हुँदै उत्तरी नाका नाङ्चेनाङ्ला जोड्ने सडकअन्तर्गत दैलेख खण्डमा निर्माण सुरु गरिएको हो ।

जमुनाहा—नाङ्चेनाङ्ला प्रादेशिक सडक शिलान्यास

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार माथिल्लो डुंगेश्वरमा डोजर चलाएर सडक शिलान्यास गरे । प्रदेश सरकारले प्रादेशिक सडकका रुपमा निर्माण अघि बढाएको यो पहिलो सडक हो । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले यस सडकलाई प्रदेशकै गौरवको आयोजनाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । ‘सरकारको मुख्य प्राथमिकता सडक पूर्वाधार हो, सडकबिना विकासका अरू चाहना पूरा गर्न सकिँदैन,’ उनले भने, ‘त्यसैले प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सडक पूर्वाधारलाई नै जोड दिन्छ ।’


सरकारले राजमार्गस्तरको सडक निर्माण गर्नलाई आवश्यक परे केन्द्र सरकारको सहयोग लिनेसमेत बताए । हाल यो सडक दैलेखको उत्तरी सिमाना ब्याउली लेकसम्म ट्रयाक खोलिनेछ । केन्द्र सरकारको क्रमागत योजना भए पनि प्रदेशले निर्माणमा सक्दो सहयोग गर्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । हाल केन्द्र सरकारको ३ करोड ३५ लाख १६ हजार ९ सय २० रुपैयाँ लागतमा उक्त सडक निर्माण हुँदै छ ।


सडक डिभिजन कार्यालय सुर्खेतले कार्यान्वयन गरिरहेको सडक केएसके कन्स्ट्रक्सन कम्पनीले निर्माण कार्यादेश पाएको छ । औसत ७ मिटर चौडाइको सडक पहिलो चरणअन्तर्गत साढे ३३ किमि लामो हुनेछ । यसअघि तत्कालीन जिल्ला विकास समिति र गाविसको सहयोगमा माथिल्लो डुंगेश्वर, बैंक हुँदै दुल्लु जोड्ने गरी ट्रयाक पूरा भइसकेको थियो । गत आवमा सडक विभागले एक करोड रुपैयाँ खर्चेर स्तरोन्नति गरेको थियो ।


प्रदेशसभा सांसद सुशील थापाले राजमार्ग घोषणा गर्न केन्द्र सरकारलाई आग्रह गरिसकेको बताए । रेखांकन भएको धेरै वर्ष बितिसक्दा पनि निर्माण गति लिन नसकेको भन्दै उनले अब केन्द्र सरकारले सञ्चालन गर्न नसके यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने धारणा राखे । ‘व्यापारिकमात्रै नभई यो सडक त्रिदेशीय हिसाबले रणनीतिक महत्त्वको पनि छ,’ सांसद थापाले भने ।


दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले त्यतिबेलै भारत—चीन जोड्ने सिल्क रोडका रूपमा यो बाटो प्रयोगमा आएको बताए । ‘विगतमा जस्तो विभागबाटै फाइल हराउने समस्या अब नआओस्,’ उनले भने, ‘भारतदेखि सिञ्जा हुँदै तिब्बत पुग्ने सडकका रुपमा विस्तार गरियोस् ।’ नगर प्रमुख भण्डारी स्थानीय तहले सडक निर्माणका लागि सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?