स्थानीय तहमा विकास सुस्त

आर्थिक वर्ष सकिन करिब डेढ महिनामात्र बाँकी रहँदा स्थानीय तहका अधिकांश विकास योजना अधुरै

मुगु र रुकुम पश्चिम — स्थानीय तहका अधिकांश योजना निर्माणमा ढिलासुस्ती देखिएको छ । आर्थिक वर्ष सकिन करिब डेढ महिनामात्र बाँकी रहँदा स्थानीय तहका अधिकांश विकास निर्माणका योजना अधुरै भएका हुन् ।

स्थानीय तहमा विकास सुस्त

स्थानीय तहले साबिकको संरचना जस्तै असारे विकासमा मात्र ध्यान दिएको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार जनप्रतिनिधिमा अझै अलमल देखिएको छ । छायानाथ रारा नगरपालिकाले रोवा, सालिम, झाकोट बालचौर, रयाङच्याकाटी लगायतका गाउँमा विद्युतीकरण गर्न दुई करोड बिनियोजन गरेको थियो । तर योजनाको काम अझै सुरु भएको छैन । त्यस्तै नगरपालिकाले रेडक्रस कार्यालयदेखि चैन गाउँसम्मको सडक ग्राभेल गर्न ८१ लाख बजेट बिनियोजन गरेको थियो तर काम अझै सुरु भएको छैन । गमगढी–चन्दननाथ सडक स्तरोन्नतिको काम पनि रोकिएको छ । सडकमा ८१ लाख बजेट छुट्याइएको छ ।


स्थानीय तहले विकास निर्माणका काममा ढिलासुस्ती गर्न थालेपछि स्थानीयवासी निराश छन् । बालचौरदेखि शोभासम्मको सडक निर्माणका लागि ८१ लाख बजेट विनियोजन गरिएको थियो तर, निर्माणको काम बीचमै रोकिएको छ । जग्गा क्षति भएको भन्दै स्थानीयले अवरोध गरेपछि काम रोकिएको हो ।


‘स्थानीय तहले पनि पुरानै शैलीमा विकास निर्माणका काम अगाडि बढाएका छन्,’ जिल्ला नागरिक सञ्जालका संयोजक चित्रबहादुर मल्लले भने, ‘स्थानीय तह गठनपछि स्थानीयवासीमा धेरै आशा पलाएको थियो तर, जनप्रतिनिधिले सोचेजस्तो विकास गर्न सकेनन् ।’ वर्षभरि विकासका योजना थाती राखेर असार मसान्तलाई लक्षित गरिएको उनको भनाइ छ । प्राविधिक समस्याका कारण केही योजना निर्माणमा समस्या देखिएको नगरप्रमुख हरिजंग शाहीले जानकारी गराए । उनले नगरपालिकाले ८५ प्रतिशत योजना सम्पन्न गरेको दाबी गरे ।


सोरु गाउँपालिकाका अधिकांश योजना पनि अलपत्र छन् । सिपगाउँदेखि सोरुकोट जोड्ने दुई करोडको सडक निर्माण योजनाको आधा काम पनि पूरा हुन सकेको छैन । करिब ११ लाख बजेट विनियोजन गरिएको लिबु्र गाउँको सडक अहिलेसम्म सुरु हुन सकेको छैन । करिब ७५ प्रतिशत योजनाको काम सम्पन्न भइसकेको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले दाबी गरे । प्राविधिकको मूल्यांकनअनुसार योजनाको अन्तिम भुक्तानी दिने गरेको उनको भनाइ छ । स्थानीय तहमा सञ्चालित योजनाहरूको अनुगमन नहुँदा गुणस्तरीय हुन नसकेको स्थानीयले जनाएका छन् । योजनाको मूल्यांकन र अनुगमन नै नगरी भुक्तानी दिन थालिएको स्थानीयले जनाए ।


सबै वडा सडक सञ्जालमा जोडिए
रुकुम पश्चिम– चौरजहारी नगरपालिकाका सबै वडा सडक सञ्जालमा जोडिएका छन् । १४ वटै वडा कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्म अब आवतजावतमा सहज भएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले ९५ किमि सडक निर्माण गरेर सबै वडा कार्यालयसम्म सडक पुर्‍याएको हो ।


१४ वडामध्ये यस वर्ष १० वडा कार्यालयमा सडक पुगेको छ । १, २, ३ र १० नम्बर वडा बाहेक अरू वडामा चालु आर्थिक वर्षमा सडक निर्माण गरिएको हो । ४ वडामा यसअघि नै सडक पुगेको थियो । सडक निर्माणका लागि गुरु योजना बनाएर चौरजहारी नगरपालिकाले सडक निर्माण थालेको थियो ।


चालु आर्थिक वर्षमा नयाँ सडकको ट्रयाक खोल्न तथा सडक मर्मत शीर्षकमा नगरपालिकाले ६ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष सकिन अझै केही महिना बाँकी रहेकाले सडक निर्माण अझ बढ्न सक्ने चौरजहारी नगर प्रमुख विशाल शर्माले बताए ।


उनले निर्वाचित भएर शपथ ग्रहण गरेको अवसर पारेर सार्वजनिक गरेको प्रतिवेदनमा गत साउन महिनायता हालसम्मको सडक तर्फको भौतिक प्रगति उल्लेख्य भएको उल्लेख गरेका छन् । ‘विकास निर्माणको मूल आधार सडक हो, अहिले त सडक दैनिक जीवनमा नभई नहुने भइसक्यो त्यसैले प्राथमिकताका साथ काम गरियो र सबै वडालाई सडक सञ्जालमार्फत नगरपालिकामा जोड्न सफल भइयो,’ नगर प्रमुख शर्माले भने ।


१० वटा वडामा सडक पुर्‍याउन १० वटा सडक निर्माण गरेको छ । सबै सडकको लम्बाइ ९५ किमि रहेको नगर प्रमुख शर्माले जानकारी दिए । उनका अनुसार ४ नम्बर वडामा मेलैनाउली–टाटा–जिव्रेणी–डाँडापीपल सडक, ५ नम्बर वडामा खहरे–मल्यासिम–नेटा सडक, ६ नम्बर वडामा राम्चेटाकुरा–टिमुरेनी–तल्लापोखरा–चौखे सडक, ७ नम्बर वडामा बालुवा नार्जी–बरारुख–थापागाउँ सडक, ८ नम्बर वडामा अंगेरी बिसाउना सडक निर्माण भएको छ ।


यस्तै, ९ नम्बर वडामा नार्जी–माझमेला–लेखनार्जी–न्याउली बजार सडक, ११ नम्बर वडामा जहारी क्याम्पस–सर्केना–जोगिनेटा–डलसिंगे–भालुखोरे–नेप्टेकाँडा–चौफा सडक र १२ नम्बर वडाको नयाँबस्ती–सानाखोला–पुरानापानी–पोखरी–रातापोखरा सडक निर्माण भएको छ । १३ नम्बर वडाको छोपिमारे–भुरुङखोलो–एकौली–खलटाकुरी–नाख्ला–तिमिले सडक र १४ नम्बर वडामा साक्चाखोला–विरालगाउँ–लामाडाँडा–पातिहाल्ना सडक निर्माण भयो । चालु वर्षमा निर्माण भएका सडकले सबै वडा र नगरपालिकालाई जोडेका छन् । वडाबाट नगरपालिकासम्मको आवतजावत सहज बनाउन सडक निर्माण भएको प्रमुख शर्माले बताए ।


सडक निर्माणतर्फ हालसम्मको भौतिक प्रगति ९५ किमि भए पनि वित्तीय प्रगति भने न्यून भएको छ । भौतिक प्रगति भइसकेका केही सडकको वित्तीय प्रगति हुन नसकेको प्रमुख शर्माले बताए । ‘भौतिक निर्माणको काम त सकिएको छ,’ शर्माले भने, ‘भएको कामको निकासा हुन मात्रै बाँकी हो, त्यो पनि प्रक्रियामा रहेकाले केही समयमै सकिन्छ ।’ नयाँ बनेका सडकलाई बाह्रै महिना चल्ने बनाउनेतर्फ नगरपालिकाले ध्यान दिइरहेको नगर प्रमुख शर्माले बताए । नयाँ ट्रयाकसँगै पुराना सडकको मर्मत र स्तरोन्नतिको काम पनि भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?