२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कालीकोटमा स्वास्थ्य बिमा

२५ सय रुपैयाँको बिमा गर्दा ५ जनाको परिवारलाई वार्षिक ५० हजार रुपैयाँ बराबरको औषधी–उपचार सेवा
तुलाराम पाण्डे

कालीकोट — गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी कालीकोटमा पहिलो पटक स्वास्थ्य बिमा दर्ता सुरु गरिएको छ । स्वास्थ्य बिमा बोर्डले कालीकोटलाई ३६ औं जिल्लाका रूपमा स्वास्थ्य विमा दर्ता सुरु गरेको हो ।

कालीकोटमा स्वास्थ्य बिमा

उपचार गर्ने खर्चको अभावमा रोग पालेर बस्न बाध्य तथा मृत्युवरण गर्नुपर्ने यहाँका नागरिकलाई दुई हजार पाँच सय तिरेर दर्ता गरिएको स्वास्थ्य बिमाले परिवारका पाँचजना सदस्यलाई ५० हजार मूल्यको स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । आउने भदौदेखि लागू हुने बिमा दर्ताको बिहीबारदेखि शुभारम्भ गरिएको छ । खाँडाचक्र नगर उपप्रमुख विजया बिष्टले उपचारको लागि रकम नहुँदा घरखेत बच्नुपर्ने बाध्यता भएका विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमले फाइदा पुर्‍याउने बताइन् । उनले यसबाट बढी कालीकोटका महिलालाई सुविधा पुग्ने बताइन् ।

प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले स्वास्थ्य बिमा सबै नागरिकको उपचारको सुनिश्चितताका लागि राज्यले अघि सरोकार कार्यक्रम भएकाले सबैको सक्रियता आवश्यक रहेको बताए । नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने, पैसाकै अभावमा स्वास्थ्य उपचार नपाउने विद्यमान अवस्थाको अन्त्य गर्न कार्यक्रम लागू गरिएको हो । स्वास्थ्य सेवा उपभोगका क्रममा भइरहेको व्यक्तिगत खर्चलाई कम गर्ने उद्देश्यले सञ्चालित बिमाले यस आर्थिक वर्षमा कर्णालीका हुम्ला, मुगु र डोल्पा तथा सिरहालाई समेटेर ४० जिल्ला पुर्‍याउने लक्ष्य राखेको छ । आउने वर्ष ७५ वटै जिल्लाका नागरिकको स्वास्थ्य बिमा गरिने बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्ड, काठमाडौंका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले नेपालमै दोस्रो नागरिक बस्ने जिल्ला कालीकोटमा ६३ दशमलव ९ प्रतिशत गरिब रहेको सुनाउँदै सबैभन्दा बढी फाइदा आफ्नै खर्चमा उपचार गर्न नसक्ने विपन्न परिवारका सदस्यलाई हुने बताए । कैलालीबाट सुरु भएको स्वास्थ्य बिमामा हालसम्म ८ लाख ७४ हजार ९ सय ६९ जनाबाट ४३ करोड ३ लाख ९५ हजार रकम संकलित भएको छ । १ लाख १० हजार ९ सय गरिबले बिमा गरिसकेका छन् । १० जनाको बिमा दर्ता गरी परिचय पत्र वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका बिमा फोकलपर्सन कटकबहादुर महतले बताए ।

बिमा दर्ता गर्नेमा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, उपप्रमुख लक्ष्मी विष्ट नेपाली, खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डे, उपप्रमुख विजया विष्ट, प्रजिअ चन्द्रनाथ गौतम, अस्पताल विकास समितिका अध्यक्ष कृष्णबहादुर सिंह, रणसुर गुल्मपति विज्ञान खनाल, स्वास्थ्यकर्मी मेनका सन्ज्याल, नागरिक समाजका अगुवा दमनराज बमलगायत छन् ।

कालीकोटमा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन खाँडाचक्र, रास्कोट, तिलागुफा नगरपािलका, कालिका, महाबै, नरहरिनाथ, सान्नीत्रिवेणी, पचालझरना र पलाता गाउँपालिकामा सरोकारवालाई अभिमुखीकरण भएको छ । बिमा दर्ताका लागि ८२ वडामा बिमा दर्ता सहायक पनि परिचालन गरिएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?