१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्राविमा झर्‍यो मावि

सल्यान — शारदा नगरपालिका–११, पेदिखोलास्थित जनसेवा माध्यमिक विद्यालय प्राथमिक तहमा झरेको छ । विद्यालयमा चार वर्षसम्म माध्यमिक तह सञ्चालन भएको थियो । निजी स्रोतमा भर्ना गरेका ९ शिक्षकले तलब नपाएका जागिर छोडेपछि पठनपाठन प्रभावित भएको हो ।

प्राविमा झर्‍यो मावि

विद्यालयमा भौतिक पूर्वाधार भए पनि शिक्षक अभावले तह झरेको हो । चार सय बढी बिद्यार्थी अध्ययन गरेको विद्यालयमा अहिले शिशुसहित ४४ जनामात्र विद्यार्थी मात्र छन् । नियमित २५ जना मात्र विद्यार्थी आउने गरेको प्रधानाध्यापक तोरणप्रसाद बुढाथोकीले बताए ।

विद्यालयमा दुई दरबन्दीका शिक्षक छन् भने एक जनालाई निजी स्रोतबाट राखिएको छ । शिक्षक नहुँदा चार/पाँच र दुई/तीन कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने अवस्था छ ।


शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । अभिभावक र विदेशीको सहयोगबाट २०६६ देखि २०७३ सम्म मावि तह संचालन गरिएको थियो । अहिले शिक्षकलाई दुई लाख ५० हजार तलव तिर्न बाँकी छ । २०४६ सालमा विद्यालय स्थापना गरिएको हो ।

निम्न माध्यमिक र माध्यमिक तह बन्द भएपछि बालबालिका दुई घण्टा हिडेर हिवल्चास्थित महेन्द्ररत्न माविमा जाने गरेका छन् । केहीले शितलपार्टीमा कोठा भाडामा लिएर शिवजन माविमा अध्ययन गर्दै आएका छन् । थप तीन शिक्षक भए पुन: मावि संचालन गर्न सकिने उनको भनाइ छ ।

संचालनमा आएको माध्यमिक तह बन्द गर्नुपर्ने भएपछि झन्डै दुई सय परिवारका दुई सय ५० बालबालिका अध्ययनका लागि बाहिर गएको शिक्षक वीरबहादुर रावतले बताए । शिक्षक अभाबमा कार्यालय सहयोगीले समेत पढाउने गरेको उनको भनाइ छ । उनका अनुसार विद्यालय मर्ज गर्ने र बन्द गर्न नसकिने अवस्थामा रहेकाले थप समस्या भएको छ ।


शिक्षकले नियमित पठनपाठन गराएर बाहिर गएका विद्यार्थीलाई पुरानै विद्यालयमा फर्काउन सक्ने वातावरण मिलाएमा नगरपालिकाले सहयोग गर्ने नगर शिक्षाप्रमुख वीरबहादुर सेजुवालले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?