१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिँचाइका लागि काठे ‘डुँड’

सल्यान — कालीमाटी गाउँपालिकाको सुनबासका किसान सिँचाइका लागि काठको ‘डुँड’ प्रयोग गर्न बाध्य छन् ।

सिँचाइका लागि काठे ‘डुँड’

वर्षौंदेखि सिँचाइ योजनाको माग गरे पनि बेवास्ता भएपछि स्थानीयले काठकै ‘डुँड’ प्रयोग गरेर सिँचाइ गर्न बाध्य छन् ।

सिँचाइ सुविधा नभएपछि स्थानीयले परम्परागत ‘डुँड’ बाटै सिँचाइ गरिरहेका हुन् । सुनबास आसपासका तीन सय रोपनी बढी खेतमा सिंँचाइ गर्न ‘डुँड’ प्रयोग गर्नुपर्ने बाध्यता छ । ‘डुँड’ बाट सिँचाइ गर्दा हिउँद महिनामा पानी ज्यादै कम आउने गरेपछि स्थानीयले वर्षे बालीमा मात्र सिँचाइ गर्ने गरेका छन् । स्थानीय किसान दलबहादुर खत्रीका अनुसार शारदा र चिसे खोलाबाट ‘डुँड’ मार्फत पानी लगिएको छ । ‘सिँचाइ योजनालाई पुग्ने पर्याप्त पानी छ, पक्की कुलो निर्माण भए धेरै राहत हुने थियो,’ उनले भने, ‘धेरै सरकारी तथा अन्य निकायमा योजना माग गर्न पुगियो तर, बेवास्ता भएपछि परम्परागत विधिबाटै सिँचाइ गरिरहेका छौं ।’

काठको ‘डुँड’ पुराना हुँदै गएकाले पानी चुहिएर खेतमा कम मात्रै जाने गरेको किसानको गुनासो छ । स्थानीय मोतीलाल ओलीले धानबाली लगाएको खेतमा राम्रोसँग सिँचाइ नपुग्दा कम उत्पादन हुने गरेको बताए । ‘हाम्रो बस्ती नजिकैका अधिकांश गाउँमा सिँचाइका लागि पक्की कुला बनाइएका छन्,’ उनले भने, ‘तर हामी भने परम्परागत काठको प्रयोग गरी सिँचाइ गर्न बाध्य छौं ।’ ’सिँचाइको अभावमा खेती गर्न धेरै कठिनाइ भएको किसान नरबहादुर खत्रीले बताए । सिँचाइ भए हिउँदमा पनि बाली उत्पादन गर्न सकिने खेत बाँझै छाड्नुपरेको उनको गुनासो छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?