जीर्ण काठे पुलले जोखिम

बिप्लब महर्जन

सल्यान — बर्षौअघि बनाएको काठेपुल जीर्ण बनेपछि कपुरकोट गाउँपालिकाको रिमस्थित घुरखोला वारपार गर्न स्थानीयलाई सास्ती भएको छ । जीर्ण काठेपुलले सबैभन्दा बढी सिस्नेरी गाउँका बासिन्दालाई समस्या भएको छ ।

पुलका काठ कुहिएपछि बिच भागमा प्वाल परेको छ । स्थानीय हातले बार समाएर आउजाउ गर्ने गरेका छन् । जीर्ण पुलको ठाउँमा नयाँ झोलुङ्गे पुल निर्माण गर्नेगरि सर्भे भैसकेपनि बजेट बिनियोजन नहुँदा स्थानीयलाई सास्ती भएको हो ।

स्थानीय इन्द्रबहादुर केसीका अनुसार आउजाउ गर्न लामो समय कुर्नुपर्ने र पुल जीर्ण भएपछि स्थानीयले सास्ती भोगेका छन् । धेरैले अहिले पुल प्रयोग गर्न छाडेको उनले जनाए । ‘पुलबाट आउजाउ गर्दा खोलामा खसिन्छ कि भन्ने डरले कमैले मात्र प्रयोग गर्छन्,’ उनले भने, ‘कतिपयले जोखिम मोलेरै खोलाबाट आउजाउ गर्न थालेका छन् ।’ आठ मिटर लम्बाईको पुल वारपार गर्दा सचेतना अपनाउनुपर्ने भएको उनको भनाइ छ । अहिले एक जना मात्र आउजाउ गर्दासमेत पुल हल्लिने गरेको छ । पुल लामो नभए पनि जीर्ण भएकाले वारपार गर्न १० मिनेट बढी समय लाग्ने गरेको स्थानीय कुलबहादुर रावतले बताए । ‘अर्को विकल्प नभएकाले स्थानीयले वर्षौंदेखि जोखिम मोल्दै आइरहेका छन्,’ उनले भने, ‘द्वन्द्वको समयमा तत्कालीन माओवादीले आउजाउमा सजिलोका लागि पुल निर्माण गरेका थिए ।’

Yamaha

२०५६ सालमा बनेको पुल अहिलेसम्म प्रयोग गर्दै आइरहेको स्थानीयले जनाए । स्थानीय टिका रावतले ठाडो खोला भएकाले बगाउने डर सधैं हुने गरेको बताइन् । उनले पुल तर्न डर मान्ने स्थानीय बर्षाको समयमा पानीको सतह बढे पनि ज्यान जोखिममा पारेर खोला तर्ने गरेको बताइन् । त्यस्तै, कालीमाटी गाउँपालिकाको चिसेखोलीमा भएको काठेपुल समेत जीर्ण बनेको छ ।

पुल जीर्ण बनेपछि आउजाउमा समस्या भएको स्थानीय दलबहादुर खत्रीले बताए ।

झोलुङ्गे पुल निर्माणका लागि पटक पटक माग गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको उनको भनाइ छ । ‘काठेपुल मर्मतका लागि स्थानीय वन समितिसंग काठ माग गरियो तर, नपाइएपछि जीर्ण पुलकै भरमा वारपार भइरहेको छ,’ उनले भने । शंखमुलस्थित झिम्पेखोलामा रहेको काठेपुल पनि जीर्ण छ । बर्षातको समयमा खोला धेरै ठूलो हुने भएकाले हल्लिने गरेको र आफूहरूले जोखिम मोलेर वारवार गर्ने गरेको स्थानीयको भनाइ छ ।

Esewa Pasal

प्रकाशित : जेष्ठ १४, २०७५ १०:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

२ प्रदेश जोड्ने पुल जीर्ण

एकतर्फी सवारी सञ्चालन, १२ टनभन्दा बढीकालाई रोक
कान्तिपुर संवाददाता

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत दुई प्रदेश जोड्ने राम्दी पुल जीर्ण बनेको छ । प्रदेश ४ को स्याङ्जा र ५ को पाल्पा जोड्ने पक्की पुल जीर्ण हुँदा सवारी सञ्चालनमै समस्या आएको हो ।

पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकी नदीमा बनेको राम्दी पुल । तस्बिर : माधव अर्याल

४७ वर्ष पुरानो पुलको नियमित मर्मत भएको छैन । दैनिक गाडी सञ्चालनमा कठिनाइ भएको स्थानीय लक्ष्मण पन्थीले बताए । रंगरोगन र सामान्य नटबोल्ट कस्ने काम मात्र हुन्छ । गाडी गुडेका बेला पुल बेस्कन हल्लिने पन्थीले बताए । ‘अहिले केही समययता १२ टनभन्दा बढी तौलका सवारी चल्नमा रोक लगाएको छ,’ उनले भने, ‘पुल हल्लिएकाले सूचना टाँसेर जानकारी दिइएको छ र प्रहरीले भनेर पठाउने गरेको छ ।’

पुलको अवस्था कमजोर भएपछि सुरक्षित आवतजावत गर्न १२ टनसम्मका सवारी एकतर्फी आवतजावत गर्न पाउने व्यवस्था गरेको छ । रातिको समयमा अटेर गरेर दोहोरो गुडाउने र बढी भारवहन क्षमताका ट्रकसमेत लैजाने गरेको गुनासो स्थानीयले गरे । पाँच वर्षअघि पुलको सामान्य मर्मत र पेन्टिङ भए पनि सुरक्षा दृष्टिले चेकजाँच नहुँदा निर्बाध सवारी सञ्चालन गर्न अप्ठेरो परेको अर्का स्थानीय राजकुमार श्रेष्ठले बताए । पुल जीर्ण भएपछि पाँच वर्षदेखि प्रहरी र स्थानीयको पहलमा एकतर्फी मात्र सवारी चलाइएको उनले जानकारी दिए । पुलको दिगोपनका लागि सामान्य मर्मत गर्दै आएको छ ।

यस सडकमा दैनिक चल्ने सयौं सवारी पुल मर्मत नहुँदा एकतर्फी मात्र सञ्चालन गर्नुपरेको राम्दी प्रहरी चौकी प्रमुख रामबेलास यादवले बताए । जीर्ण राम्दी पुलकै कारण निर्वाध सवारी सञ्चालन हुन नसक्दा जाम हुने, ट्राफिक व्यवस्थापन गरिरहनुपर्नेजस्ता समस्या थपिएको छ । यस्तै सवारी चालक र यात्रुले समेत दुर्घटनाको भय पालेर दिनहुँ यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रु कमला खनालले बताइन् । यस पुललाई भारतको कोलकातास्थित हावडा पुलको नमुना पनि भन्ने गर्छन् । फलामे पक्की पुलको बेरिङमा ग्रिसिङ गरिने हुँदा पुल हल्लिनु सामान्य भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजन सडकका इन्जियिनर तथा सूचना अधिकारी पवित्रमणि आचार्यका अनुसार दैनिक यस सडकमा चल्ने सयांै सवारी पुल मर्मत नहुँदा एकतर्फी मात्र सञ्चालन गर्नुपरेको छ । यही सडक भएर बाटो हुँदै स्याङ्जा, गुल्मी, पोखरासहित प्रदेश नम्बर ४ का विभिन्न जिल्ला ओहोरदोहोर गर्छन् ।

निर्माण कम्पनीलाई निर्देशन
बर्दिया (कास)– तोकेको समयमा काम नसक्ने निर्माण कम्पनीलाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । काम नसक्ने र शून्य प्रगति भएका २८ कम्पनीलाई स्थानीय प्रशासनमा उपस्थित गराउन प्रहरीलाई निर्देशन गरेको हो । उक्त निर्देशन अटेर गरे पक्राउ गर्न आदेश दिएको छ ।

यसपछि आइतबार २८ कम्पनी सञ्चालकमध्ये १० जना उपस्थित भए । बबई, ओराही र भादा नदी व्यवस्थापन कार्यालय, बबई, कर्णाली सिँचाइ आयोजना, सडक डिभिजन कार्यालय, हुलाकी आयोजना, नगरपालिका र गाउँपालिकालगायतबाट ठेक्का लिएका ठेकेदारलाई उपस्थितका लागि प्रहरीले जानकारी गराएको थियो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कार्यालयमा उपस्थित भएका निर्माण व्यवसायीलाई पहिलोपटक सम्झाउँदै कागज गरी छाडेको र अटेर गर्नेलाई थुनेर मुद्दा चलाइने बताए । केही निर्माण व्यवसायीले समयमा काम गरेको रकम उपलब्ध नगराउनु र म्यादभित्रै सक्ने वचन दिएका थिए । उनीहरूलाई समयभित्र काम गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको प्रजिअ कुरुम्बाङले बताए । केही निर्माण व्यवसायी काठमाडौं गएकाले केही दिनभित्र कार्यालयमा उपस्थित हुने जानकारी गराए । स्थानीय प्रशासनले आयोजनालगायत विकास अड्डाका कार्यालयका प्रमुखले काम गराउँदा ठेकेदारसँग मिलेमतो गरी फाइदा लिएको प्रमाणको आधारमा कारबाही गर्ने भएको छ ।

यसैबीच नेपाल–भारत सीमा जोड्ने सर्यूनदीमा निर्माण हुन लागेको पुल ठेकेदार कम्पनी काम छाडेर बेपत्ता भएकाले पक्राउ गरी थुनामा राखी कारबाही गरिने भएको छ । पुलको काम बीचैमा छाडेकाले अलपत्र छ । पुल यसै साउनको पहिलो साताभित्र सक्ने गरी सम्झौता भएको थियो । उक्त ठेक्का बीटी शिवराम जेभीले करिब ७ करोडमा लिएको हो । ०७३ असार मसान्तमा हुलाकी आयोजनाको ठेक्का जेभीले लिएको थियो । ४० मिटर लम्बाइ र दुई पिल्लर निर्माण गर्नुपर्ने कम्पनीले २२ महिना बितिसक्दा पनि कामै सुरु गरेको छैन । आयोजना प्रमुख सौरभ व्रजाचार्यले पुल निर्माण गर्न ताकेता गरे पनि वास्ता नगरेको जनाए ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT