जीर्ण काठे पुलले जोखिम
सल्यान — बर्षौअघि बनाएको काठेपुल जीर्ण बनेपछि कपुरकोट गाउँपालिकाको रिमस्थित घुरखोला वारपार गर्न स्थानीयलाई सास्ती भएको छ । जीर्ण काठेपुलले सबैभन्दा बढी सिस्नेरी गाउँका बासिन्दालाई समस्या भएको छ ।
पुलका काठ कुहिएपछि बिच भागमा प्वाल परेको छ । स्थानीय हातले बार समाएर आउजाउ गर्ने गरेका छन् । जीर्ण पुलको ठाउँमा नयाँ झोलुङ्गे पुल निर्माण गर्नेगरि सर्भे भैसकेपनि बजेट बिनियोजन नहुँदा स्थानीयलाई सास्ती भएको हो ।
स्थानीय इन्द्रबहादुर केसीका अनुसार आउजाउ गर्न लामो समय कुर्नुपर्ने र पुल जीर्ण भएपछि स्थानीयले सास्ती भोगेका छन् । धेरैले अहिले पुल प्रयोग गर्न छाडेको उनले जनाए । ‘पुलबाट आउजाउ गर्दा खोलामा खसिन्छ कि भन्ने डरले कमैले मात्र प्रयोग गर्छन्,’ उनले भने, ‘कतिपयले जोखिम मोलेरै खोलाबाट आउजाउ गर्न थालेका छन् ।’ आठ मिटर लम्बाईको पुल वारपार गर्दा सचेतना अपनाउनुपर्ने भएको उनको भनाइ छ । अहिले एक जना मात्र आउजाउ गर्दासमेत पुल हल्लिने गरेको छ । पुल लामो नभए पनि जीर्ण भएकाले वारपार गर्न १० मिनेट बढी समय लाग्ने गरेको स्थानीय कुलबहादुर रावतले बताए । ‘अर्को विकल्प नभएकाले स्थानीयले वर्षौंदेखि जोखिम मोल्दै आइरहेका छन्,’ उनले भने, ‘द्वन्द्वको समयमा तत्कालीन माओवादीले आउजाउमा सजिलोका लागि पुल निर्माण गरेका थिए ।’
२०५६ सालमा बनेको पुल अहिलेसम्म प्रयोग गर्दै आइरहेको स्थानीयले जनाए । स्थानीय टिका रावतले ठाडो खोला भएकाले बगाउने डर सधैं हुने गरेको बताइन् । उनले पुल तर्न डर मान्ने स्थानीय बर्षाको समयमा पानीको सतह बढे पनि ज्यान जोखिममा पारेर खोला तर्ने गरेको बताइन् । त्यस्तै, कालीमाटी गाउँपालिकाको चिसेखोलीमा भएको काठेपुल समेत जीर्ण बनेको छ ।
पुल जीर्ण बनेपछि आउजाउमा समस्या भएको स्थानीय दलबहादुर खत्रीले बताए ।
झोलुङ्गे पुल निर्माणका लागि पटक पटक माग गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको उनको भनाइ छ । ‘काठेपुल मर्मतका लागि स्थानीय वन समितिसंग काठ माग गरियो तर, नपाइएपछि जीर्ण पुलकै भरमा वारपार भइरहेको छ,’ उनले भने । शंखमुलस्थित झिम्पेखोलामा रहेको काठेपुल पनि जीर्ण छ । बर्षातको समयमा खोला धेरै ठूलो हुने भएकाले हल्लिने गरेको र आफूहरूले जोखिम मोलेर वारवार गर्ने गरेको स्थानीयको भनाइ छ ।
प्रकाशित : जेष्ठ १४, २०७५ १०:०८