१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मुहार फेर्दै वीरेन्द्रनगर

आन्तरिक स्रोत, कर्णाली प्रदेश र केन्द्र सरकारको सहयोगमा नगरको दीर्घकालीन विकास योजनामा जोड
प्रकाश अधिकारी

सुर्खेत — वीरेन्द्रनगरप्रति एउटा दृष्टिकोण थियो— क्षेत्रीय सदरमुकाम हुँदासमेत आधुनिक सहर बन्न सकेन । तर, अब वीरेन्द्रनगरको परिचय बदलिँदै छ । यहाँ निर्माणाधीन विकासका आयोजना पूरा भए यो समृद्ध सहरको रूपमा ठडिनेछ ।

मुहार फेर्दै वीरेन्द्रनगर

मुलुक संघीयतामा प्रवेश गर्नुअघिको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर प्रदेश राजधानीमा रूपान्तरण भइसकेको छ । राजधानी भएकै नाताले प्रदेश सरकारसँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने नगरपालिकामा पर्छ यो । र, प्रदेशका संरचनाहरू थपिँदै छन् । राजधानीसँगै जनघनत्व मात्र बढेको छैन, वीरेन्द्रनगरलाई विकासमा छलाङ मार्न दबाब पनि बढेको छ ।

वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदी आन्तरिक स्रोत, कर्णाली प्रदेश र केन्द्र सरकारको सहयोगमा नगरको दीर्घकालीन विकास योजनामा जोड दिएको बताउँछन् । ‘नगरपालिकाको स्रोत–साधनबाट मात्र राजधानीको विकास सम्भव छैन, प्रदेश सरकारको समृद्धिको सपना वीरेन्द्रनगरसँग जोडिएको छ,’ उनी भन्छन्, ‘प्रदेशले राजधानी सहरलाई पक्कै प्राथमिकता राख्नेछ ।’ हाल सञ्चालित धुलियाबिट–बांगेसिमल चारलेन सडक, चक्रपथ, भेरी लिफ्टिङ खानेपानी आयोजना, काँक्रेविहार पुनर्निर्माण, सुर्खेत सभाहल, सिटी बसर्पाकलगायत निर्माणाधीन आयोजनाले वीरेन्द्रनगरको मुहार फेर्नेछन् ।

वीरेन्द्रनगरको समृद्धिसँग प्रादेशिकस्तरको विमानस्थल, औद्योगिक क्षेत्र, चौकुने सिमेन्ट उद्योग र माथिल्लो कर्णाली, बेतान जलविद्युत् आयोजना, भेरी करिडोर, कर्णाली करिडोर, भेरी–बबई बहुउद्देश्यीय आयोजना, कोहलपुर–सुर्खेत दुई लेन सडक जोडिएका छन् । यी आयोजनाले पनि वीरेन्द्रनगरको विकास निर्माण, जनताको जीवनस्तर उकास्नमा मद्दत पुर्‍याउने आशा गरिएको छ । यीमध्ये केही निर्माणाधीन र केही निर्माण सुरु नै नभएका आयोजना हुन् । माथिल्लो कर्णाली, चौकुने सिमेन्टको गति निकै सुस्त छ भने साटाखानीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र र छिन्चुको मदानेचौरमा अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन पुरा भइसकेको छ । भेरी–बबई डाइभर्सन, भेरी करिडोरमा सञ्चालित विकास कार्यक्रम आशाभन्दा बढी प्रगति गर्न सफल भएका आयोजनामा हुन् ।

उपत्यकाभित्र चारलेन सडक, चक्रपथ निर्माण र काँक्रेविहार पुनर्निर्माण केन्द्रीय तहबाट सञ्चालित आयोजना हुन् । यीमध्ये चार लेन सडक निर्माणको अन्तिम चरणमा छ । उक्त सडक कालोपत्र भएपछि वीरेन्द्रनगर सुन्दर सहर बन्ने अपेक्षा गरिएको छ । उपत्यका घेर्ने गरी ३८ किलोमिटर चक्रपथ बन्दै छ ।

गत चैतबाट ठेक्का सम्झौता भई काम अघि बढेको हो । सम्झौताअनुसार काम भए अब दुई वर्षभित्र चक्रपथ निर्माण हुने दाबी गरिएको छ । वीरेन्द्रनगर नगरकार्यपालिकाले बुलबुले पार्क व्यवस्थित, डम्पिङ साइट, सिटी बसपार्क, अत्याधुनिक सभाहल निर्माण, काँक्रेविहार पुनर्निर्माण आयोजनालाई विशेष महत्व दिएको छ । त्यस्तै, खानेपानी तथा ढल निकास विभागले आगामी आवदेखि भेरी लिफ्टिङ आयोजना निर्माण सुरु गर्ने गरी डीपीआरलाई अन्तिम रूप दिँदै छ । यसले उपत्यकाको खानेपानीको समस्यालाई दीर्घकालका लागि समाधान गर्ने अपेक्षा छ ।

सिटी बसपार्क निर्माणको अन्तिम चरणमा छ । यो पूरा भए अहिलेजस्तो अस्तव्यस्त रूपमा सञ्चालित बसपार्क व्यवस्थित बन्नेछ । सिटीहल (सुर्खेत सभाहल) निर्माण सुरु भइसकेको छ । बजार क्षेत्र, चोक–चौतारा, स्कूल, महँगा–महँगा होटलमा गर्नुपर्ने कार्यक्रमहरू अब यही हलमा आयोजना हुनेछन् । आँखा अस्पतालसँगै जोडिएको ४० रोपनी जग्गामा सभाहल निर्माणको २५ प्रतिशत काम पूरा भएको छ । २० करोड ५४ लाख रुपैयाँ लागत रहेको आयोजना २०७६ चैत २३ मा सम्पन्न गर्नुपर्नेछ । सहरी विकासका डिभिजन कार्यालयका अनुसार ४ ब्लक, ७ सय ५५ जना अट्ने दुई बेग्लाबेग्लै भवन निर्माण गर्न लागिएको छ । ‘एकाधबाहेक वीरेन्द्रनगरबाट सञ्चालित सबै आयोजना एक/दुई वर्षभित्रै सम्पन्न हुन्छन्, तब मात्र यो हेर्नलायक सहर बन्छ,’ मेयर सुवेदी भन्छन्, ‘अहिले वीरेन्द्रनगर भविष्यरेखा कोर्नै व्यस्त छ, त्यसले गर्दा केही अस्तव्यस्त देखिएको हो ।’

नगरपालिकाले बजार क्षेत्र व्यवस्थित बनाउँदै छ । फुटपाथमा सञ्चालित व्यवसाय हटाइएको छ । सार्वजनिक जग्गामा बनाइएका घर–टहरा भत्काएको छ । आफूहरूको यो अभियानले नगरको शोभा बढाउनुका साथै सार्वजनिक जग्गा अतिक्रमण रोकिन पुगेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडल बताउँछन् । ‘फुटपाथ व्यवस्थापन गरिसकेपछि सडक खुला र सुन्दर देखिन थालेको छ,’ उनी भन्छन् ।

सुर्खेतकै पर्यटकीय स्थल हो, बुलबुले उद्यान । उपत्यका नगर विकास समितिले हालै यसको गुरुयोजना सार्वजनिक गरिसकेको छ । तालको आकार बढाउनुका साथै डुंगा सयर गर्न सकिनेछ । बाल उद्यान, पिकनिक स्पट स्नानघर, मन्दिर निर्माण गरिनेछ । यहाँको प्रमुख शक्ति पीठ देउती बज्यै मन्दिरको पनि स्तरोन्नति गरिँदै छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाले पनि यहाँको शैक्षिक पूर्वाधार विकासमा ठूलो मद्दत पुर्‍याएको छ । कुइनेपानी क्षेत्रमा विश्वविद्यालयको प्रशासनिक केन्द्र सञ्चालन हुुनुका साथै केन्द्रीय क्याम्पस नजिकै विज्ञान तथा प्रविधि संकायको भवन निर्माण भई प्रयोगमा आइसकेका छन् भने सानो सुर्खेतमा इन्जिनियरिङ संकायको भवन निर्माणाधीन अवस्थामा । त्यहाँ पुग्ने बाटोको पनि स्तरोन्नति गरिँदै छ ।

वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा अवस्थित क्षेत्रीय अस्पतालको भौतिक पूर्वाधार पनि लोभलाग्दो छ । मानवीय जनशक्ति र उपकरण अभाव भए पनि भौतिक पूर्वाधारको कुनै कमी नरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटा बताउँछन् । लामो समयदेखि अवरुद्ध सुर्खेत–काठमाडौं हवाई सेवा सुचारु भएको छ । प्रदेश सरकार बनेसँगै संघीय राजधानीसँग प्रदेश राजधानी हवाई सम्पर्कमा जोडियो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेश राजधानीसँग कर्णालीका अन्य जिल्लाहरूलाई हवाई सम्पर्क जोड्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । ठूला लगानीका होटल खुल्ने क्रम बढेको छ । पछिल्लो समय खेल गतिविधि बढ्दै छन् भने कर्भडहल निर्माण भइसकेको छ ।

पेरिस सपना
उपत्यकाभित्र पर्ने कटकुवा, गोठीकाँडा र जर्बुटा पञ्चायतका केही भागलाई मिलाएर २०३३ सालमा वीरेन्द्रनगर नगरपञ्चायत स्थापना भएको हो । पहिले चौहानचौर र २०२९ सालपछि वीरेन्द्रनगर नामले परिचित हुन थालेको हो । फ्रान्सको पेरिसजस्तो सुन्दर सहरका रूपमा विकास गर्ने लक्ष्य लिई तत्कालीन राजा वीरेन्द्रको निर्देशनमा गुरुयोजना बनाइएको हो ।

वीरेन्द्रले मन पराएर यहाँको सहरीकरणमा चासो देखाए । उनकै सम्मानमा नामै वीरेन्द्रनगर राखियो । उनकै निर्देशनमा तत्कालीन सरकारले वीरेन्द्रनगरको विस्तृत गुरुयोजना बनायो । अहिलेसम्म त्यही गुरुयोजनाका आधारमा काम भइरहेको छ । लामो समय जनप्रतिनिधिविहीन हुनुको मर्का वीरेन्द्रनगरले पनि भोग्नुपर्‍यो । यसले गर्दा विकासमा ढिलाइ, सार्वजनिक जग्गा अतिक्रमण, गुरुयोजना उल्लंघन भई संरचना निर्माणजस्ता बेथिति बढेको जनप्रतिनिधिहरू बताउँछन् ।

विद्युत् बाधक
वीरेन्द्रनगरको हालका मुख्य समस्या खानेपानी र विद्युत् हुन् । खानेपानीको दीर्घकालीन समाधानका लागि आगामी आर्थिक वर्षदेखि भेरी लिफ्टिङ आयोजना सुरु हुँदै छ । तर, विद्युत् सेवा भने भरपर्दो छैन ।

नगरपालिका नेतृत्व र प्रदेश सरकारले प्रशारण लाइनको क्षमता बढाउन बेवास्ता गरेको स्थानीयको जनगुनासो छ । सामान्य हावाहुरीमै आपूर्ति बन्द हुने समस्याले उपभोक्ता आजित छन् । सरकारले कोहलपुर–सुर्खेत प्रशारण लाइनको क्षमता विस्तारको प्रक्रिया अघि बढाए पनि त्यसले निरन्तरता पाएको छैन । १३२ केभीए प्रसारण लाइनका लागि सुब्बाकुनामा स्टेसन निर्माण अलपत्र छ । उक्त प्रसारण लाइन बनेमा अहिलेजस्तो समस्या नहुने प्राधिकरणका कर्मचारीहरू बताउँछन् । ‘ठूला–ठूला पोलहरू निर्माण हुने, सडक आसपास भएरै लाइन विस्तार हुने हुँदा अहिलेजस्तो समस्या देखिन्न,’ सुर्खेत वितरण केन्द्र प्रमुख सुरज भण्डारी भन्छन्, ‘यदि कुनै समस्या आइहाले लाइन सडक आसपासमै हुँदा मर्मतमा पनि सहज हुन्छ ।’

पञ्चायतको उत्तराद्र्धमा मापदण्डविपरीत प्रशारण लाइन विस्तार गरिँदा यस्तो समस्या कायमै थियो । पोलको दायाँ–बायाँ तीन/तीन मिटरसम्मका रूख हटाउनुपर्ने प्रावधान छ । तत्कालीन राजा वीरेन्द्रको सुर्खेत सवारीको व्यवस्थापन लागि ६ महिनामै प्रसारण लाइन विस्तार गरिएको थियो । हाल कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन छ ।

प्रकाशित : जेष्ठ १५, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?