मानव अधिकारमैत्री गाउँ

तुलाराम पाण्डे

राचुली (कालिकोट) — तिलागुफा नगरपालिका –४, राचुली गाउँ नेपालकै पहिलो मानवअधिकारमैत्री गाउँ भएको छ । मानव अधिकारका विभिन्न २० वटा सूचक पूरा गरेको जनाउँदै राचुलीलाई बुधबार मानव अधिकारमैत्री गाउँ घोषणा गरिएको हो ।

‘घरघरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने नाराका साथ संघीय संरचनापछि राचुली पहिलो मानव अधिकारमैत्री गाउँ बन्न सफल भएको छ । ३ सय ६२ घरधुरीको राचुलीमा करिब एक सय दलित घरधुरी छन् । यहाँको जनसंख्या करिब २ हजार छ ।

यो गाउँलाई मंसिर १८ गते पहिलो बालमैत्री गाउँ घोषणा गरिएको थियो । राचुली बालविवाहमुक्त, बालश्रममुक्त, खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त छ ।

अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको, विद्यालय शान्ति क्षेत्र, साक्षर, पूर्ण जन्मदर्ता र पूर्ण खोपयुक्त, स्वास्थ्य संस्थाबाट नि:शुल्क औषधि पाएको, सबै घरमा करेसाबारी, धूवाँरहित चुलोलगायतले मानव अधिकारमैत्री घोषणा गरिएको वडाध्यक्ष खडराज शाहीले बताए ।

मानव अधिकारमैत्री घोषणासभामा सहभागी हुन जिल्लाका सबै सरकारी, जनप्रतिनिधि, दलका प्रमुख, गैरसरकारी संघका प्रतिनिधि र कृषकहरू राचुली आएका थिए । तिलागुफा नगरपालिका–६ जुबिथाका मनवीर सुनारलाई १० वर्षअघि चुलो छोएको आरोपमा कुटपिट गर्दा ज्यान गएको थियो ।

सबै खालको विभेद अन्त्य भएको नमुना गाउँका रूपमा विकास गरेकाले राचुलीवासीबाट अन्य गाउँ तथा नगरले सिक्नुपर्ने जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी विष्ट नेपालीले बताइन् । उनले जनयुद्धमा अन्तरजातीय विवाह गर्दा समाजमा छिछि र दुरदुर गरेको सुनाउँदै पुरातन चेतनाबाट समाज माथि उठेको महसुस भएको बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख रमेशकुमार थापाले सबै अधिकार सबैका लागि भन्ने मानव अधिकारको सिद्धान्तलाई राचुलीवासीले अवलम्बन गरेको बताउँदै कसैको पनि अधिकार हनन नहुने गाउँका रूपमा चिनिन सक्नुपर्ने सुझाव दिए । जिल्ला प्रहरी कार्यालयका मनिराम भट्टले सबै खाले हिंसा अन्त्य भएको गाउँ घोषणामा आउँदा खुसी लागेको छ भन्दै मानव अधिकारमैत्री गाउँ घोषणाले समुदाय पनि खुसी रहेको बताए ।

प्रकाशित : जेष्ठ १८, २०७५ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार आरोपमा २ किशोर र एक बालक पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — दुई छुट्टाछुट्टै बलात्कारका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाबाट २ किशोर र एक बालकलाई पक्राउ गरेकाे छ । 

सानेभेरी गाँउपालिकाकी एक किशोरीलाई बलात्कार आरोपमा सानीभेरी गाउँपालिका–५ का १८ वर्षीय विशाल केसी, सोही ठाउँका १८ वर्षीय धनसिङ वाँठा र आठबीसकोट नगरपालिका–१२ का १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । केसी र वाँठाले फरक फरक समयमा एउटै किशोरीलाई जर्बजस्ती गरेको उजुरी प्रहरीमा परेको छ । दुबै जनालाई जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्का बालकलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । ३ जनालाई बिहीबार पक्राउ गरिएको डिएसपी खड्काले बताए । बालक भएकाले उनको नाम प्रहरीले खुलाएको छैन ।

बालकले ललाई फकाई बालिकालाई आफ्नै घरमा लिएर बलात्कार गरेको बताईएको छ । ३ वर्षीया नाबालिकालाई बलात्कार गरेर उसले बालविज्याँई गरेकाले बालक विरुद्ध पनि मुद्दा चल्ने डिएसपी खड्काको भनाई छ । बालकलाई अन्य कैदीबन्दी भन्दा छुट्टै कोठामा राखिएको छ ।

पीडित बालिकालाई स्थानीय मेडिकलमा उपचार गर्न ल्याईएपछि उक्त घटना बाहिर आएको प्रहरीले जनाएको छ । बालिकाको उपचार स्थानीय मेडिकलमा भैरहेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ १३:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT