१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नागरिकता लिन ४ दिन पैदल !

स्थानीयलाई नागरिकता लगायतका सरकारी सुबिधा प्रदान गर्न बेला बेलामा दुर्गम स्थानमा घुम्ती शिविर
राजबहादुर शाही

मुगु — यहाँको सोरु, खत्याड र मुगमकार्मारोङ गाउापालिकाबासीलाई नागरिकता लिन कम्तिमा दुई दिन हिडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।

नागरिकता लिन ४ दिन पैदल !

स्थानीयबासी एक दिन सदरमुकाममा बसेर सरकारी कामकाज गराएर फेरि दुई दिन पैदल हिडेर गाउँ पुग्छन् । सोरु गाउापालिकाको नेर र फोतुबाट गमगढी आउन ४ दिन लाग्ने गरेको स्थानीयको गुनासो छ ।

त्यस्तै, खत्याड गाउापालिकाको हयाङलुबाट सदरमुकाम पुग्न चार दिन तथा मुगमकार्मारोङ गाउापालिकाको मुगु र डोल्फु गाउाबाट पाँच दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । बिकास निर्माण लगायतका काम र कारोवारको फस्र्यौट स्थानीय तहबाटै हुने भए पछि नागरिकता र राहदानी बनाउन सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । वडा कार्यालयको सिफारिस लिएर स्थानीय नागरिकता बनाउन कम्तिमा एकतर्फी दुई दिनको यात्रा गर्छन् ।

सोरु गाउापालिकाको फोतु गाउाका प्रेम शाहीले नागरिकता बनाउन घरबाट दुई दिन हिडेर आइतवार साँझ सदरमुकाम गमगढी आएको बताए । पत्नीसहित नागरिकता बनाउन सरमुकाम आएका उनले सोमवार नागरिकता बनाए । गाउँ फर्कन शाही दम्पतीलाई थप दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । नागरिकता बनाएर घर पुग्दासम्म कम्तिमा चार हजार रुपैयाँ खर्च हुने उनले जनाए । ‘मुस्किलले दुई दिनमा सदरमुकाम पुगिन्छ,’ उनले भने,‘खर्च पनि धेरै हुने भएकाले अधिकांश स्थानीयबासीलाई सरकारी कामका लागि सदरमुकाम आउन समस्या छ ।’

सरकारले नागरिकताको अधिकार स्थानीय तहलाई नदिँदा स्थानीयबासी मारमा परेको खत्याड गाउापालिका अध्यक्ष उब्जन शाहीले बताए । सोरु गाउापालिकाको सोरुकोटमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको भएपनि कर्मचारी नहुँदा स्थानीयलाई सदरमुकाम आउनुपर्ने बाध्यता छ । इलाका प्रशासनमा दुई वर्षदेखि कर्मचारी छैनन् । बृद्ध तथा अशक्तलाई समेत आफू र छोराछोरीको नागरिकता बनाउन सास्ती भोगेर सदरमुकाम आउनुपर्ने बाध्यता छ । स्थानीयका अनुसार कागज नमिलेमा फेरी गाउामै जानु पर्ने बाध्यता छ ।

स्थानीय तहलाई नागरिकता दिने अधिकार नभएकोले स्थानीयबासीलाई सदरमुकाममै आउनुपर्ने बाध्यता भएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले बताए । स्थानीयलाई नागरिकता लगायतका सरकारी सुबिधा प्रदान गर्न बेला बेलामा दुर्गम स्थानमा घुम्ती शिविर सञ्चालन गरिएको उनले जनाए ।

प्रकाशित : जेष्ठ २२, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?