कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हत्या आरोपमा दुई युवती थुनामा

तुलाराम पाण्डे

कालीकोट — जातीय विभेद हुने गाली गलौजसहित कुटपिटपछि हत्या गरिएकी वडा सदस्य मना सार्की हत्याको प्रहरीले मुद्दा दर्ता गरेको छ ।

हत्या आरोपमा दुई युवती थुनामा

गत जेठ १९ गते राति सवा ८ बजे नरहरिनाथ ९ की सार्कीलाई छिमेकी २२ वर्षीया राजिन्दा शाही र १९ वर्षीया सिर्जना शाहीले जातीय अपमान हुने गालीगलौज गर्दै लाठी र मुड्कीले कुटपिट गरी हत्या गरेको जनाउँदै मृतकका जेठा छोरा पदम सार्की नेपालीले किटानी जाहेरी दिएका थिए ।

‘कर्तव्य ज्यानको महलमा मुद्दा दर्ता भएको छ,’ जिल्ला प्रहरी प्रमुख सुवास बोहराले भने, ‘किटानी जाहेरी परेका दुवै जना युवतीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।’ उनले मृतकको शरीरमा घाउ सामान्य देखिए पनि भित्रको चोट र अन्य कारण खुल्न पोस्टमार्टमको रिपोर्ट कुर्नुपर्ने बताए । आफ्नो बुबासँग अवैध सम्बन्ध राखेको आरोपमा स्थानीय कम्मरबहादुर शाहीका दुई छोरीले दलित महिला सदस्यमा निर्वाचित सार्कीलाई कुटपिट गरेका थिए । उनीहरूले आफूले सामान्य हप्काएर दुई चार चोट कुटे पनि मर्ने गरी नकुटेको प्रहरीसँगको बयानमा बताएका छन् ।

प्रत्यक्षदर्शी समेत रहेका मृतकका कान्छा छोरा नेत्र सार्कीले शनिबार राति ९ बजेतिर बाहिरबाट आमालाई दुई जनाले कुट्दै ल्याएको बताए । उनले दिनभरि मकै गोडेर बुलुकी ५ बजे घर फर्किएकी आमा बेलुकीतिर प्याज ल्याउन गडीगाउँ गएकी थिइन् । प्याज ल्याएर धारामा हातखुट्टा धोइरहेका बेला आक्रमण गरेको उनले सुनाए । ‘धाराबाटै कुट्दै र गाली गर्दै छिमेकी तपेन्द्रको घरमा रुवावासी भएको सुनेपछि दिदी र म गयौं,’ नेत्रले भने, ‘मलाई पनि ‘कमारा (अपमान हुने शब्द) तेरी आमामाथि चढ्’ भन्दै कुटे । उनले त्यसपछि दिदीले आमालाई घर ल्याएपछि राति ११ बजे मृत्यु भएको सुनाए । मृतकका पति चुरे सार्की ज्याला मजदुरीका लागि भारत छन् । मृतकका ३ छोरा र ३ छोरी छन् ।

हत्याविरुद्ध र्‍याली र ज्ञापनपत्र
जातीय विभेद हुने गरी निर्वाचित दलित महिला सदस्यलाई कुटेर हत्या गरेको जनाउँदै यहाँका अधिकारकर्मीहरूले मान्म बजारमा विरोध र्‍याली निकालेका छन् । स्थानीय जनप्रतिनिधिसहित एक दर्जन अधिकारकर्मीले दलित भएकै कारण जातीय अपमानसहित कुटेर हत्या गरिनु निन्दनीय भएको बताउँदै मृतकलाई सहिद घोषणा, परिवारलाई राहत, दोषीलाई कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतममार्फत प्रधानमन्त्री कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगलगायतलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा जातीयताकै कारण कुटीकुटी लखेटेर हत्या गरेको उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ गौतमले दोषीलाई पक्राउ गरेर अनुसन्धान भइरहेकाले कसैले पनि उन्मुक्ति नपाउने प्रतिबद्धता गरे ।

कालीकोटमा जातीय विभेद चर्को भएकाले दलित समुदायमाथि आक्रमण र हत्या हुने गरेको गुनासो गर्दै तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपाली दर्शनाले दोषीलाई कडा कारबाही हुनुपर्ने बताइन् । उनले मुद्दालाई कमजोर बनाउन अमुक व्यक्तिसँग सम्बन्ध रहेको गलत प्रचार भएकोप्रति आपत्ति जनाइन् । ‘कुनै बहाना बनाएर हत्या गर्न पाइँदैन,’ नेपालीले भनिन्, ‘दोषीलाई उन्मुक्ति दिन पोस्टमार्टमको रिपोर्ट कमजोर बनाउने षड्यन्त्र भइरहेको छ ।’

प्रकाशित : जेष्ठ २४, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?