कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिलोपटक विपक्षीको अवरोध

प्रकाश अधिकारी

सुर्खेत — कर्णाली प्रदेशसभाको ९५ औं बैठकसम्म प्रतिपक्षी दल कांग्रेस सांसदको भूमिका पनि सत्ता पक्ष सरहकै थियो । कहिलेकाहीँ सत्तापक्षकै सांसदले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गरिरहँदा प्रतिपक्षी सांसद मौन बदस्थे ।

पहिलोपटक विपक्षीको अवरोध

तर, प्रदेशसभाको बिहीबारको बैठकमा फरक दृश्य देखियो । पहिलोपटक विपक्षी दलको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित हुन पुग्यो ।


सभामुखले विभिन्न विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउन सुरुमै समय दिए, विपक्षी दलका नेता जीवनबहादुर शाहीलाई । उनले कालिकोटमा दलित वडा सदस्यको हत्यादेखि रारा–कर्णाली पर्यटन वर्ष उद्घाटनमा भ्रष्टाचार भएको प्रसंग समेत उठाए । ‘वडा सदस्यको हत्या किन भयो ? खोइ प्रदेश सरकारले चासो दिएको ?’ उनले भने, ‘सत्यतथ्य पत्ता लगाइयोस् । प्रहरी प्रशासन प्रदेशको मातहतमा छैन भन्दै सरकार उम्किन पाइँदैन ।’


सांसद शाहीले हालै सम्पन्न कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा जर्सी नपाएको विषयले प्रदेशकै बेइज्जत गरेको बताए ।


उनले वीरेन्द्रनगरको सडक मर्मत सुधारमा चासो नदिएको विषयमा पनि आक्रोश पोखे । ‘नगरपालिकासँग बजेट छैन, प्रदेश सरकारले बजेट खर्च गर्न नसक्ने ?’ उनले सोधे, ‘राजधानीको सडकको यो अवस्था हुँदा यति नजिकको सरकार के हेरेर बसिराखेको छ ?’ यस अघि थुप्रैपटक संसदमार्फत र मुख्यमन्त्री/मन्त्रीहरूलाई भेटेरै सडक मर्मतमा लगानी गर्न आग्रह गरेपनि सुनुवाइ नभएको बताए । रारा–कर्णाली पर्यटन वर्ष उद्घाटनमा भ्रष्टाचार भएको विषय पत्रपत्रिकामा प्रकाशित भइसक्दासमेत सरकारले आधिकारिक धारणा व्यक्त नगरेकामा आपत्ति जनाए ।


सरकारले चालु आवको रातो किताब प्रकाशन नगरी पुन: दुई महिनापछि नीति तथा कार्यक्रम ल्याउन खोजेको र आफूहरूले संसद्मा पेस हुँदै छ भन्ने समाचार पत्रिका पढेर थाहा पाएको बताए । सरकार गैरजिम्मेवार, विधि–प्रक्रियाविपरीत सञ्चालन हुँदै आएको भन्दै संसद् बैठक अवरोध गर्ने घोषणा गरे । लगत्तै बाँकी ५ सांसद सिटबाट उठे । सभामुख राजबहादुर शाहीले सिटमा बस्न आग्रह गरे पनि अवरोध कायमै रह्यो ।


कांग्रेसको अवरोध कायमै रहेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुखले सहमति जुटाउन दलका नेताहरूसँग परामर्श गरे पनि कांग्रेस लचिलो भएन । अन्तत: बैठक शुक्रबारसम्मका लागि स्थगित भयो । सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । कांग्रेसको अवरोधले सरकार ल्याउने नीति तथा कार्यक्रम अनिश्चित बनेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?