विद्यालय भवन गाईबस्तुको ओत

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिन्डे नगरपालिकाको मैदुस्थित कृष्ण माध्यमिक विद्यालयको भवन प्रयोगमा नआउँदै भत्कन लागेको छ । २०६४ सालमा निर्माण भएको विद्यालयको ६ कोठे भवन संरक्षण अभावमा भत्किन लागेको हो ।

विद्यालय भवन गाईबस्तुको ओत

साबिकको घाँजरीपीपल गाविसको ९ लाख २५ हजारको लगानीमा भवन निर्माण गरिएको थियो ।


निर्माणको काम सकिएको ९ वर्षसम्म पनि प्रयोगमा नआउँदा भवन भत्कने अवस्थामा पुगेको हो । भवनका जस्तापाता, ढोका र काठ चोरी भएका छन् । विद्यालय भवन कामै नलाग्ने अवस्थामा पुगेपछि सरकारी रकमको दुरुपयोग भएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार भवन गाईबस्तुको गोठको रूपमा परिणत भएको छ । स्थानीय रामबहादुर बुढाले विद्यालय भवन अहिले चरनका लागि आएका पशु चौपायाको ओत लाग्ने ठाउँमा परिणत भएको बताए ।
विद्यालय सार्न नीतिगत समस्या भएपछि भवन प्रयोगमा नआएको भवन निर्माण समितिका अध्यक्ष नारायण खड्काले बताए । ‘केही दलका नेताको व्यक्तिगत स्वार्थका कारण विद्यालयमा बन्नुपर्ने भवन दुई किलोमिटर टाढा बन्यो,’ उनले भने, ‘विद्यार्थीलाई आउजाउ गर्न टाढा भएपछि विद्यालयमै कक्षा सञ्चालन गरिएको छ ।’ भवन निर्माणका लागि स्थानीय रामबहादुर
खड्काले नि:शुल्क जग्गादान गरेका थिए ।


विद्यालयको मुख्य भवनदेखि उक्त भवनसम्मको दूरी टाढा भएकाले पठनपाठन नभएको प्रधानाध्यापक अशोककुमार शाहले बताए । ‘भवन अपुग भएकाले बालबालिकालाई कक्षाकोठाको अभाव छ,’ उनले भने, ‘शिक्षकले पनि यताउता गर्दा समस्या हुने भएकाले समस्या भएको हो ।’


उनका अनुसार शिक्षकलाई दुवै विद्यालय भवनमा अध्यापन गर्न लगाउँदा १५/२० मिनेट बढी समय लाग्ने अवस्था छ ।


विद्यालयमा चार सय बढी विद्यार्थी अध्ययनरत छन् । उनले अहिले सञ्चालन भइरहेको विद्यालय नजिकै भवन बनाउन नगरपालिकालाई अनुरोध गरिएको बताए । उनका अनुसार भवन अभावमा विद्यार्थी कोचाकोच गरेर अध्ययन गर्न बाध्य छन् ।

प्रकाशित : जेष्ठ २५, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?