कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिचोलियो शिलाजित भीर

कर्णाली करिडोर
कालिकोट खण्डको सबैभन्दा अप्ठ्यारो शिलाजित भीर छिचोल्दै सेनाले सडक बाजुरा पुर्‍याएको छ । कालिकोटको खुलालुदेखि लालीघाटसम्म डेढ किमि भीर छाडेर लालीघाटदेखि बाजुरासम्म ५१ किमिमा गाडी गुड्न थालेका छन् ।
तुलाराम पाण्डे

कालिकोट — कालिकोटको खुलालुदेखि लालीघाटसम्म डेढ किमि भीर छाडेर लालीघाटदेखि बाजुरासम्म ५१ किमिमा गाडी गुड्न थालेका छन् । शिलाजित भीर कालिकोटको नानीकोटमा पर्छ । लगातार डेढ वर्ष चट्टान फुटाएर सेनाले ६ किमि शिलाजित भीर छिचोलेको हो ।

छिचोलियो शिलाजित भीर

कर्णाली करिडोर कालिकोट हुँदै हुम्लाको सिमाना पुग्न ७ किमिमात्र निर्माण बाँकी छ । त्यसमध्ये एक किमि कडा भीर छ । हुम्लाको कुवाडी खोलापारि पनि १५ किमि सडकमा काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा भारतको जमुनियादेखि तिब्बतको हिल्सा पुग्ने उत्तर–दक्षिण करिडोर निर्माणमा कालिकोट र बाजुरा खण्ड पूरै सकिन लागेको छ भने हुम्लाको हिमाली गाउँपालिकामा पर्ने कुवाडी खोलादेखि काम भइरहेको छ ।

विशेष परिस्थितिको सडक भएको भन्दै २०७१ चैत ५ गते सरकारले कर्णाली करिडोर खुलालु–सिमकोट सडकखण्डको हुम्ला सल्लीसल्लासम्म एक सय ४५ किमि निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । सेनाले सोही वर्ष चैत ९ गतेबाट कालिकोटको लालीघाट, नानीकोट, बाजुराको पिलुचौरमा क्याम्प खडा गरी काम थालेको थियो । कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म एक सय ९६ किमिमध्ये कडा चट्टान भएकाले विस्फोटनसहित हुम्लाको सल्लीसल्लासम्म एक सय ४५ किमिमा सेनाले काम गरिरहेको छ ।

सेनालाई जिम्मा दिएकोमध्ये कालिकोट खण्डको ३८ दशमलव ५ र बाजुराको ४३ किमि सडकखण्ड छिचोलेर हुम्लाको सिमानामा पर्ने कुवाडी खोला नजिक सडक पुग्न लागेको कर्णाली करिडोर सडक निर्माण कार्यदल प्रमुख मिलन कार्कीले बताए । ‘कालिकोटको खुलालुमा पुल नबनेकाले डेढ किमि बाँकी छ,’ कार्यदल प्रमुख कार्कीले भने, ‘बाजुरामा पनि ट्रयाक खोल्ने काम सकिएको छ ।’ उनले कालिकोटको खुलालुबाट लालीघाट जितेसम्म बाँकी रहेको डेढ किमि चट्टानमा काम थालिसकेको बताए ।

कालिकोट खण्डको साढे ३८ किमि सडक सेनाले सडक विभागलाई हस्तान्तरणको प्रक्रिया अघि बढाइसकेको छ । एक साताअघि कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, सडक विभागका इन्जिनियर, स्थानीय जनप्रतिनिधिसहितको टिमले सडकको अनुगमन गरेर हस्तान्तरणका लागि प्रक्रिया अघि बढाएको छ । कहिले बजेटको अभाव त कहिले ठेकेदारले समयमा काम नगर्दा बजेट फ्रिज जाने समस्याले कर्णाली करिडोर (रुपैडिया हिल्सा सडक खण्ड) अन्तर्गत कालिकोटको खुलालु–हुम्ला सिमिकोट सडकमा सडक विभागले आर्थिक वर्ष २०६५/०६६ देखि काम सुरु गरे पनि लक्ष्यअनुसारको प्रगति भएको थिएन । माटो भएको भागमात्र कोट्याएर बजेट सके पनि गाडी चल्ने बाटो नबनेको कांग्रेस कालिकोटका युवा नेता नगेन्द्र विष्टले बताए । कर्णाली करिडोर सडक विभागका कर्मचारी, ठेकेदारलगायतको कमाइ खाने भाँडोमात्र बनेकाले निर्माण जिम्मा नेपाली सेनालाई दिनुपर्ने कालिकोटवासीले माग गरेका थिए ।

कालिकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमिकोटसम्म कुल एक सय ९६ दशमलव किमि लामो कर्णाली करिडोरमध्ये कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला एक सय ४५ किमि कडा चट्टान भएको सडक निर्माण गर्न विस्फोटनसहित निर्माणको जिम्मा सेनाले लिएर काम थालेको हो । सेनालाई २०७६ भित्र सम्पन्न गर्ने गरी सरकारले जिम्मा दिए पनि पर्याप्त बजेट नहुँदा समयमै काम सकिन कठिन छ । हालसम्म नेपाली सेनाले ८३ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

आगामी वर्षका लागि ३५ करोड रुपैयाँ बजेट सडक विभागसँग मागेको छ । कालिकोटको खुलालु र हुम्लाको कवाडी खोलामा दुईवटा फलामे बेलिब्रिज निर्माणसहित बाँकी रहेको खुलालु खण्ड, बाजुराको एक किमि चट्टान र हुम्लाको भीर फुटाउन ३५ करोड माग गरेको सेनाले जनाएको छ । सेनाका अनुसार बाजुरा खण्डमा पनि सबैजसो काम सकिएको छ । कालिकोटको सान्नीगाड र फुगाडमा खोला तर्न फलामे बेलिब्रिज निर्माण भइसकेको छ । बाजुरामा दुईवटा बेलिबिज्र निर्माण भएका छन् । करिडोरअन्तर्गत कर्णाली नदीमा २३ वटा ठूला पुल र अन्य १२ वटा पुल बनाउनुपर्नेछ ।

नेपाली सेनाले कालिकोटको जितेस्थित कर्णाली नदीमा हिउँदेयाममा गाडी तार्न फेरी हालिए पनि वर्षामा नदी बढेपछि फेरी बन्द भएको छ । ‘निर्माण सामग्री ढुवानी गर्न कठिनाइ हुन्छ,’ सडक निर्माण कार्यदल प्रमुख कार्कीले भने, ‘सात महिना सबै सामान हेलिकप्टरमा ढुवानी गर्नुपर्ने बाध्यता छ, त्यही पनि समयमा पाइँदैन ।’ उनले १ सय ४५ किमि लामो सडक भएकाले धेरैजसो इक्विपमेन्ट ढुवानी गर्न हेलिकप्टरकै प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए ।

हाल सेनाले सडक निर्माणमा होल खोप्न १७ वटा कम्प्रेसर मेसिन, ५ वटा एस्काभेटर, ३ सय ५० स्थानीय कामदार र २ सय २७ जना नेपाली सेना सडक निर्माणमा सक्रिय छन् । कालिकोटको खुलालुदेखि बाजुराको लैफुसम्म ४०, लैफुदेखि हुम्ला सिमानासम्म ४३ र हुम्ला खण्डमा एक सय १३ दशमलव ३ सय ४७ किमि सडक निर्माणका लागि सरदर प्रतिकिमि ७० लाख लागत पर्ने गरेको नेपाली सेनाको अनुभव छ । कर्णाली करिडोर कालिकोटदेखि हिल्सासम्मको सडक निर्माणका लागि सडक विभागको कुल २ अर्ब ८४ करोड ११ लाख १६ हजार लागत इस्टिमेट छ । जसमध्ये हुम्लाको सल्लीसल्लादेखि सिमकोटसम्म ५१ किमिमा सडक विभागले ठेक्कामार्फत काम गरिरहेको छ भने कालिकोट, बाजुरा र हुम्लाको सल्लीसल्लासम्म सेनाले काम गरिरहेको छ ।

जोडिए दुर्गमका गाउँ
कर्णाली करिडोरअन्तर्गत कालिकोट र बाजुरामा गरी करिब ७५ किमि सडकको ट्रयाक खुलेपछि दर्जन बढी गाउँ सडकसँग जोडिएका छन् । कालिकोटको लालीघाटदेखि बाजुरासम्म ५१ किमिमा त दैनिक गाडी गुड्ने सडक निर्माण भएको छ । ग्रामीण बस्ती कर्णाली करिडोरसँग जोडिएपछि स्थानीय बजार केन्द्र निर्माण हुन थालेका छन् ।

कर्णाली करिडोरबाट गाउँगाउँसम्म सडक पुर्‍याउन स्थानीय जनप्रतिनिधि पनि सक्रिय छन् । कर्णाली नदीको तिरैतिर कालिकोट, बाजुरा हुँदै हुम्ला पुग्ने कर्णाली करिडोरले यहाँका अन्कन्टार गाउँबस्ती जोडिएका छन् । भीर, पहारा छिचोल्दै सदरमुकाम मान्मबाट दुई दिनको पैदल लाग्ने यहाँको पलाता र पचालझरना गाउँपालिकाका दर्जन बढी गाउँबस्ती कर्णाली करिडोरसँग जोडिएपछि स्थानीयलाई आवागमन मात्र सहज भएको छैन, दुई दिनसम्म पिठ्युँमा बोकेर पुर्‍याउनुपर्ने दैनिक उपभोग्य सामान पनि सहजै गाउँ नजिकैका बजारमा पाइन थालेको छ ।

सडकसँगै विकास निर्माणका सामग्री पनि ढुवानी गर्न सहज भएको छ । स्थानीयले भीर पहाराको खोचमा पिलरसहितका पक्की घर निर्माण थालेका छन् । कर्णाली करिडोरले कालिकोटका १७ वटा पहिलेका गाविसलाई नजिक्याएपछि यहाँका लालीघाट, रेंगिल, आम्ताडा, सान्नीगाड, भात्तडी, फुगाड, भुराबगर, जार्रकोट र घाटपारी चौरमा बजार बन्न थालेका छन् ।

कर्णाली नदीको तीरैतीर कर्णाली करिडोर खुलेपछि स्थानीय तहले करिडोरमाथिका गाउँ पुग्न धमाधम सडक निर्माण थालेको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए । सडक नपुगेको कर्णालीको हुम्ला हुँदै हिल्सा जोड्ने कर्णाली करिडोर निर्माणले तीव्रता लिएसँगै सडकसँग जोडिएका गाउँमा आर्थिक गतिविधि पनि सुरु भएका छन् ।

सडक आएपछि रास्कोट नगरपालिकाका स्युना, सिप्खाना र फुकोटका केही अगुवा कृषकले व्यवसायी तरकारी खेती सुरु गरेको स्थानीय माधव न्यौपानेले बताए । कहिले बजेटको अभाव त कहिले योजनामा डुप्लिकेसनको समस्याले काम नभएको कर्णाली करिडोर तीन वर्षअघि विस्फोटनसहित निर्माणको जिम्मा नेपाली सेनाले लिएपछि कालिकोटको जितेदेखि नानीकोट र थिर्पूको बीचमा पर्ने घाटपारी चौरसम्म मालवाहक साना ट्रक, १४ वटा यात्रुवाहक जिप र दुईवटा ट्याक्टर सञ्चालनमा छन् । त्यसमाथि बाजुरासम्म गाडी चलाउन पहल भइरहेको समितिका अध्यक्ष हस्त बमले बताए ।

कालिकोटको विकट पलाता क्षेत्रका धौलागोह, खिन, थिर्पू, पचालझरनाको नानीकोट, राम्नाकोटलगायतका विकट गाउँसँग जोडिने सडक निर्माणपछि गाडी सञ्चालन हुँदा स्थानीयका पिठ्युँका भारी छुटेको पलाता ८ का अध्यक्ष वज्रबहादुर बमले बताए । गाडी कालिकोटको अन्तिम गाउँ नानीकोट पुगेको देखेपछि कांग्रेसबाट वडाध्यक्ष निर्वाचित बमले अचम्मित हुँदै स्थानीय लवजमा भने, ‘यस्तो अनकन्टार ठाउँमा गाडी आउन्ना (आउलान्) सोचेकै थिइनँ । उनले आफूले कैलालीको कटासे र बर्दियाको राजापुरबाट पिठ्युँमा नुन बोकेर ल्याएको सुनाउँदै भने, ‘अब छोरा नानीले सुविधा पाउने भए ।’

लक्ष्य पूरा हुन कठिन

सरकारले राष्ट्रिय गौरवको आयोजना मानेको कर्णाली करिडोरमा पर्याप्त बजेट अभावमा अबको एक वर्षभित्र सडक पूरा हुन नसक्ने देखिएको छ । कालिकोटको खुलालुबाट हुम्ला सदरमुकाम सिमिकोट जोड्ने सडक दुई वर्षमा पूरा गर्ने सरकारी लक्ष्य पूरा हुन कठिन छ ।

हुम्ला खण्डमा पनि कडा चट्टान हुनु, निर्माण सामग्री ढुवानीका लागि कालिकोटको खुलालुमा पक्की पुल निर्माण हुन ढिलाइ हुनु, पर्याप्त बजेट नदिनु र निकासामा हुने गरेको ढिलासुस्तीले एक वर्षभित्र हुम्ला सदरमुकामसम्म सडक पुग्न नसक्ने अधिकारीको भनाइ छ । ‘बजेट थोरै दिन्छन्,’ सडक निर्माणमा संलग्न एक प्राविधिकले भने, ‘एक वर्षमा त कसरी हुम्ला सडक पुग्ला ?’ उनले वर्तमान अर्थमन्त्रीले कर्णाली करिडोरको लक्ष्य र बजेटको सिलिङ केही उल्लेख नगरेकाले सरकारको प्राथमिकता स्पष्ट नभएको सुनाए ।

गत वर्षको बजेट भाषणमार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र हुम्ला र एक वर्षभित्र डोल्पा सदरमुकाममा सडक पुर्‍याउने घोषणा गरेका थिए । अहिलेका अर्थमन्त्रीले सडक पुर्‍याउने भने पनि समय सीमा र बजेट नभनेको स्थानीयको गुनासो छ । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषित गरेको बहुचर्चित कर्णाली करिडर खुलालु–लैफु हिल्सा सडक निर्माण सम्पन्न गर्ने दुईवर्षे सरकारी लक्ष्य यसअघिका ३ जना अर्थमन्त्रीले बजेट भाषणमा भने पनि सोहीअनुसारको काम भएको छैन । ‘दुई वर्षभित्र हुम्ला सदरमुकाम सडक पुर्‍याउने त सरकारले भन्दै आएको छ,’ कर्णाली करिडोर निर्माणका लागि दबाब समूहका संयोजक विमल शाहीले भने, ‘काम गर्न पर्याप्त बजेट चाहिन्छ, जुन कर्णाली
करिडोरमा अभाव छ । उनले खुलालुस्थित कर्णाली नदीमा पुल बनाउने प्रचार हुन थालेको ६ वर्ष बिते पनि काम अझै नभएको पनि गुनासो पोखे ।

प्रकाशित : जेष्ठ २७, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?