२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एक झिल्कोले हर्‍यो दुई प्राण

कलेन्द्र सेजुवाल

सुर्खेत — विद्यालयका एक्लो शिक्षक सूर्यनारायण चौधरी १ र २ कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पहिलो पिरियड पढाउँदै थिए । आइतबार बिहानैदेखि गडबड भइरहेको आकाश दिउँसो करिब ११ बजे एक्कासि गर्जिन थाल्यो ।

एक झिल्कोले हर्‍यो दुई प्राण

शिक्षक–विद्यार्थी सबै चनाखो भए, डरले मुखामुख गर्न थाले । क्षणभरमै डरलाग्दो गर्जनको एक ‘झिल्को’ भ्यालबाट कोठाभित्रै पस्यो, जसले कक्षाकोठामा पढ्दै गरेका दुई विद्यार्थीको प्राण लग्यो ।


सदरमुकाम वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्रको चिङगाड गाउँपालिकामा पर्ने धारापानी प्राथमिक विद्यालयमा आइतबारको घटनाले ठूलो शोक निम्त्याएको छ । २ कक्षामा पढ्ने अमर चन्द र निर्मला चन्दको परिवारमाथि त पीडाले झन् ठूलो बज्र प्रहार गरेको छ । ‘दैवको लीला, कतिबेला के हुने हो थाहा नहुने रहेछ,’ छोराको शव बोकेर जिल्ला प्रहरी कार्यालयमा पुगेका अमरका बुवा रामबहादुर भन्दै थिए, ‘बिहान हाँस्दै स्कुल गएको छोरो फर्केर आएन ।’ अमर रामबहादुरका जेठो छोरा हुन् । उनका चार वर्षका एक छोरा र ९ महिनाकी छोरी छन् ।


निर्मलाको मृत्युले उनकी आमा बेहोस छिन् । नातिनीको शव बोकेर ६५ वर्षीय जितेबहादुर चन्द पोस्टमार्टमका लागि वीरेन्द्रनगर आएका छन् । ‘यो उमेरमा आएर कसैले पनि यस्तो दु:ख देख्नु नपरोस्,’ जिल्ला प्रहरी कार्यालय अगाडि टोलाइरहेका उनले भने, ‘नातिनी त गइहाली, घरमा सम्हाल्न सकिने अवस्था छैन ।’


जंगलको छेउमा अवस्थित डेढ दर्जन घरपरिवार रहेको बस्तीका बालबालिकालाई सहज होस् भनेर २०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा १६ विद्यार्थीमात्र अध्ययनरत छन् । चौधरी एक्लो शिक्षक हुन् भने उनलाई कार्यालय सहयोगी हरिबहादुर चन्दले पढाउन सघाउँछन् । स्थानीय समाजसेवी डोरप्रसाद शर्माले नजिकैको सल्लाको रुखमा परेको चट्याङको झिल्को झ्यालबाट कोठाभित्र पसेको बताए । ‘पढाउँदै गर्दा चट्याङको करेन्ट कालोपाटीमा ठोक्किएर कोठाभरि फैलियो,’ उनले भने, ‘त्यसपछि कोलाहल मच्चियो, विद्यार्थीमात्र होइन, शिक्षक पनि घाइते छन् ।’


चट्याङबाट शिक्षक चौधरीसहित ६ बालबालिका घाइते भएका छन् । घाइतेमा पवित्रा शाही, दुर्पता चन्द, निरुता चन्द, लक्ष्मी चन्द, ताराकुमारी चन्द र सुरेश चन्द रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले घाइतेहरूको मटेलास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको र गम्भीर घाइते पवित्रालाई थप उपचारका लागि वीरेन्द्रनगर ल्याइएको बताए ।

प्रकाशित : जेष्ठ २९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?