कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

एक महिनामै भत्कियो ढल

राजबहादुर शाही

मुगु — सदरमुकाम गमगढीको न्युरोडमा निर्माण गरिएको ढलको नहर एक महिना नबित्दै भत्किएको छ । सडक डिभिजन कार्यालय, जुम्लाले ६० लाखमा ठेक्कामार्फत निर्माण गरेको ६ सय ६७ मिटर लामो पक्की ढल भत्किएको हो ।

एक महिनामै भत्कियो ढल

ढल भत्किएपछि न्युरोड सडक हिलाम्मे हुने गरेको छ । ढल बजारका होटल तथा पसलमा पस्ने गरेको छ । निर्माण व्यवसायीले गुणस्तहीन काम गरेकाले ढल भत्किएको स्थानीय तेजबहादुर मल्लले बताए । उनका अनुसार मिलेमतोका कारण ढल गुणस्तरहीन बनेको हो । ‘एक भाग सिमेन्टमा चार भाग बालुवा मिसाउनुपर्नेमा आठ भागसम्म बालुवा मिसाएर प्लास्टर गरिएको छ,’ उनले भने, ‘ढल निकासको नहरमा माथिल्लो भागमा प्लास्टर नै गरिएको छैन ।’

जथाभावी ट्याक्टर चलाउँदा ढल भत्किएको पेटी ठेकेदार हृदयसिंह नेपालीले दाबी गरे । ‘ढल निर्माणमा लगाएको सिमेन्ट सुक्न नपाउँदै ट्याक्टरले भत्काएको हो,’ उनले भने । सडक डिभिजन कार्यालयले ताल्चा क्षेत्रमा निर्माण गरेको ५ सय मिटर ढल निकास पनि भत्किएर काम नलाग्ने भएको छ । ढल भत्किएपछि आकासे पानी पर्दा हिलाम्मे हुने गरेको छ । डिभिजनले ढल निर्माण गरिदिए पनि हेरफेर र संरक्षणको काम नगरपालिकाको भएको डिभिजन प्रमुख माधव अधिकारीले बताए ।


माटो छर्केर सडक सुधार
छायाँनाथ रारा नगरपालिकाले सडक सुधारको नाममा रातो माटो पटान गरेर झारा टार्न खोजेको स्थानीयले आरोप लगाएका छन् । रेडक्रस मार्गदेखि चैन खोलासम्म ११ सय मिटरको सडक ग्राभेलको क्रममा माटोमात्र छर्किएको स्थानीयको भनाइ छ । उपभोक्ता समितिमार्फत ८१ लाखको लगानीमा सडक ग्राभेलको काम भएको हो ।


उपभोक्ता समितिले एक्साभेटर र ट्याक्टर मार्फत सडक माथि माटो पटान गरेको स्थानीयको आरोप छ । स्थानीय रत्नसिंह मल्लले बजेट सकाउने काम मात्र भएको बताए । ‘ग्राभेलको नाममा माटोमात्र राखेर रकमको दुरुपयोग भएको छ,’ उनले भने, ‘सदरमुकाममै यस्तो छ विकास, गाउँमा कस्तो होला ?’ सडकमा पर्याप्त मात्रामा ढुंगा गिट्टी नबिछ्याउँदा सडक हिलाम्मे भएको उनको भनाइ छ । ट्याक्टरले माटो ल्याएर केही ठाउँमा मात्र भरेको उनले जनाए ।


नगरपालिकाका इन्जिनियर महेश कडायतले आफैं योजनास्थलमा पुगेर गुणस्तरीय रूपमा ग्राभेल गर्न समितिका पदाधिकारीलाई निर्देशन दिएको बताए । विकासे काममा गुणस्तरीयता नभएको गुनासो आएपछि तीन गाउँपालिका र एक नगरपालिकाको कामको अनुगमन गर्न थालिएको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले बताए ।


त्यस्तै छायाँनाथ रारा नगरपालिकाले ताल्चा–सल्लेरी सडकमा गुणस्तरीय काम नगरेको स्थानीयको आरोप छ । ८१ लाखको लगानीमा १ हजार १ सय मिटर मात्र सडक खनिएको स्थानीयले जनाएका छन् । उपभोक्ता समितिसँग सम्झौता गरी ठेकेदारलाई कामको जिम्मा दिइएको स्थानीयले बताए । रारा भ्रमणमा आउने पर्यटकको सहजताका लागि सडकमा रकम विनियोजन गरिएको थियो ।


सडकसँगै नाली निर्माण
दैलेख (कास)– ठाटिकाँध गाउँपालिकाले नयाँ सडकसँगै नाली निर्माण गर्न थालेको छ । सडकलाई गुणस्तरीय र बाह्रै महिना यातायातका साधन सञ्चालन हुने बनाउन नाली र सडकको काम सँगसँगै गरिएको हो । गाउँपालिकाभित्रका सबै सडक ८ मिटर चौडाइका बनाउन थालिएको छ ।


यो वर्ष १४ करोड ७८ लाख रकम विनियोजन गरेको गाउँपालिकाले अधिकांश विकास निर्माणका काम निर्माणको अन्तिम चरणमा रहेको जनाएको छ । रामाघाट–बाँकी र बाँकी–बिसकुना सडकमा नाली र सडकको काम सँगसँगै गरिरहेको जनाएको छ । दुई सडकका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । उपाध्यक्ष सुस्मिता सिंहले सडकसँगै विभिन्न पूर्वाधार योजनालाई गुणस्तरयुक्त बनाइएको जनाइन् । ‘सडकको पहुँच नहँुदा विभिन्न पूर्वाधारको विकास गर्न समस्या छ,’ उनले भनिन्, ‘त्यसैले सडकलाई गुणस्तरयुक्त बनाउँदै लगिएको छ ।’ उनका अनुसार सबै वडामा सडक पुगिसकेको छ ।


रामाघाट बाँकी सडकलाई धमाधम चौडा बनाइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले नयाँ ट्रयाक खोल्नमा रोक लगाई खोलिएको ट्रयाक व्यवस्थित गर्न लागिएको बताए । ट्रयाक खोलिएका सडकलाई क्रमश: स्तरोन्नति गर्दै जाने उनको भनाइ छ ।


मध्यपहाडी राजमार्गले समेत ठाटिकाँधलाई छोएको छ । सडकको स्थरोन्नतिसँगै विभिन्न पूर्वाधारको विकास हुनेमा आशा जागेको वडा नंं ५ का महेन्द्र शाहीले बताए । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले सडक पराकिलो र नालीको व्यवस्थापन गरेमात्र सडक टिकाउ हुने बताए । ‘यहाँका ११ स्थानीय तहमध्ये ठाटीकाँधले सडकमा ल्याएको नयाँ नीतिले गाउँपालिकालाई समेत नमुना बनाउनेछ,’ उनले भने, ‘यहाँको योजनालाई अन्य पालिकाले समेत अनुसरण गर्न जरुरी छ ।’ उनले सडकलाई गुणस्तरीय बनाउन सके अन्य पूर्वाधारका योजना समेत गुणस्तरीय र नमुना बन्ने बताए ।


गाउँपालिकाले अहिलेसम्म चालु, ससर्त तथा सामाजिक सुरक्षा भत्ताको ५७ दशमलव ३४ प्रतिशत रकम फस्र्योट गरिसकेको जनाएको छ । त्यस्तै, पुँजीगततर्फ २७ दशमलव ९८ प्रतिशत खर्च भइसकेको गाउँपालिकाले जनाएको छ । असारको दोस्रो साताभित्रमा सबै योजनाहरू सम्पन्न हुने गाउँपालिकाको दाबी छ ।

प्रकाशित : जेष्ठ २९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?