२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

१० महिनामा ७७ किमि सडक

नगरपालिकाका अनुसार चालु आवमा निर्माण भएपछि १२ वटा वडा कार्यालय सडक सञ्जालमा जोडिए

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले १० महिनामा ७७ दशमलव ३ किमि सडक निर्माण गरेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म १ र २ नम्बर वडाबाहेकका १२ वडाका विभिन्न गरी १८ सडक निर्माण गरिएको हो । वडा कार्यालयलाई आसपासका वडा कार्यालयसँग जोड्न सडक निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

१० महिनामा ७७ किमि सडक

नगरप्रमुख गोर्खबहादुर केसीले निर्वाचित भएको पहिलो वर्ष ७७ किमि सडक निर्माण
सम्पन्न भएको बताए । ३ नम्बर वडामा ३ किमिको बसेरा–खदी सडक, ४ नम्बर वडामा १ किमिको रुमाल–धाराढुंगेखानी– हरिताल सडक, ५ नम्बर वडामा साढे २ किमिको मुलाबजार–होली सडक, ३ किमिको अनाहा–लामाढुंगा सडक र ७ नम्बरमा २ किमिको ढुंगिला–डाँफे सडक निर्माण गरिएको छ ।


त्यस्तै वडा ७ र ८ मा ८ किमिको खारखारा–दाँजे, ९ मा ९ किमिको बसपार्क–बटालागाउँ–सुन्दरपानी सडक, ९ र १० वडामा ५ किमिको गिजा–झिन्चौर–भयाउने सडक निर्माण गरिएको नगरपालिकाले जनाएको छ । ९ र १० वडा जोड्ने गरी १० किमिको घट्टाखेत–सुन्दरपानी–मैडाँडा सडक, ११ वडामा १ किमिको चिसापानी–डाँडा–फारुला–गोइरी सडक, साढे ३ किमिको सिमबजार–गोइरी–लटाहम्पा सडक, २ किमिको सिमबजार–जिलिंगा–सानीबार्खु सडक निर्माण भएको छ । १२ नम्बर वडामा पूजाखोला–चोरमारा–ठूलीबार्खु सडक, १३ मा साढे ६ किमिको भल्मा–घेत्मा सडक, १४ नम्बर वडामा ६ किमिको पीपलचौर–च्यापच्यापे सडक र साढे ५ किमिको बाँकेजिउला सडक निर्माण भएको हो । नगरपालिकाका अनुसार चालु आवमा निर्माण भएका सडकका कारण १२ वडा कार्यालय सडक सञ्जालमा जोडिएका छन् ।


१४ वडा रहेको नगरपालिकाका १ र २ वडाबाहेक अरू सबै अब सडक सञ्जालमा जोडिएको नगर प्रमुख केसीले बताए । ‘विकासका लागि पहिलो पूर्वाधार सडक भएकाले प्राथमिकताका साथ निर्माण गरियो,’ नगरप्रमुख केसीले भने, ‘आगामी आवमा बाँकी १ र २ वडामा सडक सञ्जाल पुर्‍याइनेछ ।’ उनले सबै सडकलाई क्रमश: स्तरोन्नति गरिने र घारीखोलादेखि राडीबजारसम्मको सडक कालोपत्रे गरिने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?