कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१६ विद्यालयको तह घट्यो

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिकाले विद्यालयको तह घटाएको छ । चालू शैक्षिक सत्रमा घटाइएकै कक्षाअनुसार पठनपाठन सुरु भएको छ । १६ मध्ये तीन विद्यालयमा बालविकासको कक्षामात्रै सञ्चालन गरिनेछ ।

१६ विद्यालयको तह घट्यो

नगरपालिकाका अनुसार वडा ४ को भगवती आधारभूत विद्यालय कोटचौतारा, ५ को आधारभूत विद्यालय डाङडुङगे र ज्ञानकुञ्ज आधारभूत विद्यालय मुसिकोट नगरपालिका १४, झिमडाँडामा अब बालविकास कक्षाको मात्रै पठनपाठन हुनेछ । जेठ २२ को नगर कार्यपालिकाको बैठकबाट १६ विद्यालयको तह घटाउने निर्णय गरेको थियो । चालु शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना नभएका यी विद्यालयमा बाल विकासको कक्षा मात्रै सञ्चालन गर्न अनुमति दिने निर्णय भएको नगर कार्यपालिकाले जनाएको छ ।


नगर शिक्षा अधिकृत विनाराम खड्काले साविकका प्राथमिक विद्यालयहरूको मात्रै तह घटाइएको बताए । ५ कक्षासम्म पठनपाठन भइरहका तीन विद्यालयको बालविकास मात्रै राखिएको र ५ कक्षासम्म पठनपाठन गराइरहेका १३ विद्यालयलाई अब ३ कक्षासम्मको पठनपाठन हुने खड्काले बताए । एउटा विद्यालयको अर्को विद्यालयमा समायोजन नगरिए पनि कक्षा घटाइएको छ । निमाविसम्म पठनपाठन गराइरहेका एकदेखि अर्को विद्यालयको दूरी टाढा भएकाले त्यो सम्भव नभएको बताइएको छ ।


विद्यालय समायोजनसँगै नगरपालिकाले लामो समयदेखि हुन नसकेको शिक्षक दरबन्दी मिलान पनि गरेको छ । नगरपालिकामा रहेका ५५ विद्यालयमा न्यूनतम दरबन्दी उपलब्ध हुने गरी मिलान गरिएको अधिकृत खड्काले बताए । ‘बढी भएका शिक्षकहरू नभएका ठाउँमा पठाइएको छ,’ उनले भने, ‘अपुग शिक्षक नगरपालिकाबाट नियुक्त गरी अब हरेक विद्यालयमा न्यूनतम दरबन्दी हुनेछन् ।’ उनका अनुसार १६ शिक्षक सरुवा गरी दरबन्दी मिलान गरिएको छ । मावि २, निमावि ३ र प्रावि तहका ११ शिक्षकलाई शिक्षक/दरबन्दी नभएको ठाउँमा सरुवा गरिएको हो । दरबन्दी मिलान गरेर पनि न्यूनतम दरबन्दी पूर्तिका लागि नगरपालिकाले १ सय ९ शिक्षक नियुक्त गर्नेछ । दरबन्दी मिलानका लागि विभिन्न तीन तहमा अपुग शिक्षक नियुक्त गरी विद्यालयमा पठाउनेछ । जसका लागि प्राथमिकमा ६५, निमाविमा १४, माविमा २६ र उच्च माविमा ४ शिक्षक नगरपालिकाले नियुक्त गर्नेछ ।


शिक्षालाई गुणस्तर बनाउने प्रयासस्वरूप विद्यालय समायोजन तथा दरबन्दी मिलानको निर्णय भएको नगर शिक्षा समिति अध्यक्षसमेत रहेका नगर प्रमुख देवीलाल गौतमले बताए । ‘नगर कार्यपालिकामा प्राप्त प्रतिवेदन र सुझावका आधारमा कार्यपालिकाले निर्णय गरेको छ,’ प्रमुख गौतमले भने, ‘निर्णय कार्यान्वयनका लागि शिक्षा शाखा तथा सम्बन्धित सबै विद्यालयलाई भनिसकिएको छ ।’ विद्यालयमा शिक्षकै नभएर गुणस्तरीयता कायम हुन नसक्ने भएकाले पनि दरबन्दी मिलान र नियुक्ति प्राथमिकतामा परेको उनको भनाइ छ ।


विद्यार्थी नभएपछि सरुवा तयारी
विद्यार्थी नै नभएका विद्यालयका शिक्षकलाई सरुवाको माग गर्न अनुरोध गरिएको छ । नगर शिक्षा शाखाले वडा ४ को भगवती आधारभूत विद्यालय कोटचौतारा, ५ को आधारभूत विद्यालय डाङडुङ्गेका ६ शिक्षकलाई सरुवा हुन चाहेको विद्यालयको प्राथमिकीकरण गरी निवेदन दिन भनेको छ ।


माथिका दुईसहित ज्ञानकुञ्ज आधारभूत विद्यालय मुसिकोट नगरपालिका १४, झिमडाँडाले अब बाल विकासको कक्षा मात्रै सञ्चालन गर्नेछन् । कोटचौतारा र डाङडुङगेका ३/३ शिक्षकलाई सरुवाका लागि निवेदन दिन भनेको हो भने झिमडाँडामा कुनै दरबन्दी नै थिएन । ‘बालविकास मात्रै पठनपाठनको निर्णय भएका ३ मध्ये चौतारा र डाङडुङ्गेकाका शिक्षकलाई सरुवाका लागि निवेदन भनिएको छ,’ उनले भने, ‘झिमडाँडामा कुनै पनि दरबन्दीका शिक्षक नहुँदा त्यस विषयमा कुनै निर्णय नै भएन ।’

प्रकाशित : जेष्ठ ३०, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?