कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बादीको पुर्ख्याैली पेसा संकटमा

करेन्ट र विषादीका कारण सल्यानका अधिकांश खोला–नदीमा माछा कम भएपछि बादी समुदायको पेसा संकटमा पर्दै गएको छ ।
विप्लव महर्जन

सल्यान — खोलामा माछा पाइन छाडेपछि बादी समुदायको पुर्ख्याैली पेसा संकटमा पर्न थालेको छ । पानीको सतह घट्दै गएपछि यहाँका अधिकांश खोलामा माछा पनि घटेका छन् । जलवायु परिवर्तनको प्रभाव, खोलामा पानीको सतह घट्नु र करेन्ट तथा विषादीको प्रयोग लगायतका कारणले माछा घटेका हुन् ।

बादीको पुर्ख्याैली पेसा संकटमा

शारदा खोलामा वर्षौंदेखि माछा मार्दै आएका त्रिवेणी गाउँपालिकाका ४२ वर्षीय लालबहादुर बादीले पुख्र्यौली पेसा संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको बताए । ‘पहिले जालको सहायताले माछा माथ्र्यौं, दैनिक दस किलोसम्म माछा पाइन्थ्यो,’ उनले भने, ‘अहिले बल्छीले माछा मार्न थालेका छौं, दिनमा एक किलो माछा भेटाउन समेत समस्या छ ।’

खोलामा माछा नभएका कारण जीविकोपार्जनमा समस्या आएपछि बादी समुदायले पेसा बदल्न थालेको उनले बताए । पहिले माछा बेचेर राम्ररी घरखर्च चलाएका उनले साँझ–बिहानको छाक टार्न समस्या भएको जनाए ।

जलवायु परिवर्तनका कारण खोलामा पानीको सतह र माछाको संख्या घट्दै गएको संरक्षणकर्मीको भनाइ छ । स्थानीय दीर्घबहादुर बादीले ३० वर्षदेखि अपनाउँदै आएको पुख्र्यौली पेसा बदल्ने सोच बनाएका छन् । ‘पहिले खोलामा पानी प्रशस्तै हुन्थ्यो, जाल खेलेरै दैनिक १० किलोसम्म माछा मारिन्थ्यो,’ उनले भने, ‘त्यसैबाट घरखर्च राम्ररी चलेको थियो । अहिले माछा पाउनै गाह्रो छ, त्यसैले हाम्रो पेसा पनि संकटमा पर्‍यो ।’ उनले माछाकै खोजीमा दिनभर धाउँदा पनि मुस्किलले एक किलो माछा पाउने जनाए ।

शारदा खोलामा माछा मारेर जीविकोपार्जन गर्दै आएका दुई दर्जन बढी बादी समुदायले पेसा परिवर्तन गरेका छन् । ‘अधिकांश मजदुरीका लागि भारतका विभिन्न ठाउँमा गएका छन्, केहीले गाउँमै मजदुरी गरिरहेका छन्,’ उनले भने, ‘गाउँमा अहिले चार/परिवारले मात्र माछा मार्ने पुख्र्यौली पेसा गरिरहेका छौं ।’

उनले सरकारी निकायबाट सहयोग भए व्यावसायिक माछा पालन गरेर आफूहरू आत्मनिर्भर बन्नसक्ने बताए । उनका अनुसार जीविकोपार्जनमा समस्या भएपछि बादी समुदायका बालबालिका सानै उमेरमा मजदुरी गर्न बाध्य छन् । अधिकांश बादी परिवारलाई साँझ/बिहानको छाक टार्न समस्या छ । आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश बालबालिका शिक्षाबाट वञ्चित भएको उनको भनाइ छ ।

प्रकाशित : असार १, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?