१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सडक, कृषि र पर्यटनमा प्राथमिकता

बजेट आज
प्रकाश अधिकारी

सुर्खेत — कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि झन्डै २३ अर्बको बजेट प्रस्तुत गर्दै छ । सरकारको दोस्रो बजेट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले शुक्रवार दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै छन् ।

सडक, कृषि र पर्यटनमा प्राथमिकता

मन्त्रालय स्रोतले संघीय सरकारले उपलब्ध गराएको अनुदान, आन्तरिक स्रोत, चालु आवमा खर्च हुन नसकेको रकम, वैदेशिक सहायतासमेत समावेश गरेर बजेट निर्माण गरिएको जनायो । आर्थिक मामिला मन्त्री ज्वालाले ‘घाटा बजेट’ ल्याउनुुपर्ने बाध्यता रहेको बताए । एकातिर राजस्व संकलनको दायरा निकै कम हुनु र अर्कोतर्फ तीव्र विकासको आकांक्षालाई सम्बोधन गर्न बजेटको आकार बढाइएको बताए ।

अन्तरदेशीय भन्सार र ठूला उद्योग–कलकारखाना नभएकाले यहाँ राजस्व संकलन अत्यन्त न्यून छ । गत आवमा कर्णालीका १० जिल्लाबाट १ अर्ब १६ करोड ४८ लाख ७२ हजार ४ सय ४६ रुपैयाँ राजस्व संकलन भएको थियो ।

कर्णाली प्रदेशका लागि केन्द्रले १६ अर्ब ६९ करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो । ‘संघीय सरकारबाट वित्तीय समानीकरण र ससर्त अनुदान गरी २२ अर्ब प्राप्त भएको छ,’ मन्त्री ज्वालाले भने, ‘हामीसँग आफ्नै स्रोत ५० करोड जुन चालु आवमा खर्च हुन नसकेको समेत जोडेर झन्डै २३ अर्बको बजेट निर्माण गरेका छौं ।’ प्रदेश सरकारले संघीय सरकारबाट ऋण लिने, आन्तरिक स्रोत बढाउने र विदेशी दाताहरूसँग अनुदान पनि संकलन गर्ने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्षको अन्तिम चौमासिकका लागि ल्याइएको एक अर्ब दुई करोडमध्ये अधिकांश बजेट खर्च हुन सकेको छैन । मन्त्री ज्वालाले खर्च हुन नसकेको उक्त रकम प्रदेश सञ्चित कोषमै रहेकाले नयाँ बजेटमा समावेश गरिएको बताए । ‘हाम्रो राजस्व संकलनको अवस्था निकै कमजोर छ, अनुदानकै भरमा बजेट निर्माण गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘विदेशी विकास साझेदारहरू लगानी गर्न इच्छुक छन्, उनीहरूबाट पनि प्राप्त हुन सक्ने अनुदान सहयोगलाई आकलन पनि गरेका छौं ।’ यसपटकको बजेट उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने खालको रहेको बताए ।

बजेटमा सरकारले प्रदेश लगानी कोष गठन गर्ने व्यवस्था गरेको छ । त्यस्तै, मन्त्रालय स्रोतका अनुसार बजेट विनियोजनको मुख्य प्राथमिकता सडक, जलविद्युत्, कृषि, पर्यटन क्षेत्र छन् । बजेटमा केही प्रदेशका आफ्नै गौरवका आयोजनाको पहिचान गरी रकम विनियोजन गरिएको छ । बजेटलाई वितरणमुखी हुनबाट रोक्न यसपटक ५ लाखभन्दा कम बजेटका योजना समावेश गरिएको छैन ।

अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरूमा सबैभन्दा कमजोर रहेको प्रदेशमा प्रदेश सरकारले ल्याउन लागेको बजेटलाई सबैतिरबाट चासोका साथ हेरिएको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा कम योगदान कर्णाली प्रदेशकै छ । तथ्यांकका अनुसार ३० खर्ब रुपैयाँको मुलुकको अर्थतन्त्रमध्ये कर्णाली प्रदेशले ४ प्रतिशत अर्थात् १ खर्ब २४ अर्ब रुपैयाँमात्रै योगदान गरेको छ ।

प्रकाशित : असार १, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?