कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

हतारमा बजेट सक्दै स्थानीय तह

हरि गौतम

रुकुम पश्चिम — सानीभेरी गाउँपालिको चालु आर्थिक वर्षको हालसम्मको वित्तीय प्रगति ५९ प्रतिशत छ । आर्थिक वर्ष सकिंदासम्म ६५ देखि ७० प्रतिशत मात्रै वित्तीय प्रगति हुने अनुमान गाउँपालिकाको छ ।

हतारमा बजेट सक्दै स्थानीय तह

बाँफिकोट गाउँपालिकाले ६५ प्रतिशत प्रगति हासिल गर्दा त्रिवेणि गाउँपालिकाले ७० प्रतिशत मात्रै भुक्तानी दिएको छ । मुसिकोट नगरपालिकाले ६५ प्रतिशत भुक्तानी दिइसक्दा चौरजहारी नगरपालिकाको वित्तीय प्रगति ७० प्रतिशत नजिक छ ।


आठबीसकोट नगरपालिकाले ८० प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले सबै स्थानीय तहलाई चालुतर्फको असार २० र पुँजीगततर्फको २५ गतेभित्र सबै भुक्तानी दिइसक्नु भनेको छ । तर स्थानीय तहको वित्तीय प्रगतिअनुसार अबको १८/२२ दिनमा थप बाँकी प्रगति हुने सम्भावना न्यून छ । ११ महिनामा ६० देखि ८० प्रतिशत मात्रै वित्तीय प्रगति गरेपछि केही दिनमा बाँकी प्रगति गर्न स्थानीय सरकारलाई सजिलो छैन । यसअघिका वर्षहरूमा जस्तै आर्थिक वर्षको अन्तिममा धेरै भुक्तानी दिने तयारीमा स्थानीय सरकारहरू छन् ।


‘काम गर्ने मामिलामा विगतको स्थानीय निकाय र अहिलेको स्थानीय सरकारमा खासै फरक देखिएन,’ मुसिकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख मुकुन्दप्रसाद शर्माले भने, ‘काम गर्ने तौरतरिका पुरानै भएपछि भुक्तानीको ढर्रा पनि पुरानै हुने भयो ।’ उनले स्थानीय सरकारले नयाँ ढंगबाट काम काज नगरी विगतअनुसार नै सुरु गरेकाले बढी काम गरिएको भए पनि पुरानै तरिकाबाट भएको बताए । स्थानीय सरकारले विगतको तुलनामा बढी काम गरेको भए पनि तौरतरिका नयाँ नअपनाएको र पुरानै सोचबाट बाहिर निस्कन नसक्नुका कारण पनि समस्या भएको क्याम्पस प्रमुख शर्माको भनाइ छ ।


स्थानीय तहमा चालु वर्षमा समानीकरण र ससर्त गरी दुई किसिमको बजेट छ । समानीकरणको बजेट फ्रिज जाँदैन । ससर्ततर्फको बजेट मात्रै फ्रिज जाने भए पनि विनियोजित शीर्षकको बजेट खर्च गर्नुपर्ने र त्यसको हिसाब किताब समयमै बुझाउन कोलेनिकाले भनेको छ । वित्तीय प्रगति बढाउन अनुगमनलगायतका मापदण्डको हेरफेर नगरेरै भुक्तानी दिनुपर्ने अवस्थाको सामना स्थानीय सरकारले गर्नुपर्ने मुसिकोट नगरवासी टेकबहादुर पाण्डे बताउँछन् । ‘समयमै काम सकेर समयमै भुक्तानी दिँदा त्यसको गुणस्तरीयता, मापदण्ड पूरा गरे नगरेको हेर्न पाइन्छ,’ उनले भने, ‘अन्तिममा आवरमा भुक्तानी दिँदा कैफियत रहने सम्भावना धेरै हुन्छ ।’


स्थानीय सरकारहरूले भने भौतिक प्रगति भइसकेकाले वित्तीय प्रगति पनि समयसीमाभित्रै हुने दाबी गरेका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले सबै योजनाअनुसारको काम भइसकेकाले अब भुक्तानीको काम मात्रै बाँकी रहेको बताए । ‘कति भुक्तानीको लाइनमा छन्,’ उनले भने, ‘कति फाइल आउँदै होलान, हामी निर्धारित समयभित्रै भुक्तानीको काम पनि सक्छौं ।’


सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेद्र रावलले कतिपय शीर्षकको बजेट खर्च नहुने अवस्थामा रहेकाले पनि बजेट खर्चको प्रतिशत कम देखिएको बताए ।


‘यो वर्ष समानीकरणतर्फको बजेट फ्रिज जाने भन्ने छैन, कतिपय शीर्षकहरूको काम हुन सक्ने पनि नदेखिएकाले कम प्रगति देखिएको हो,’ रावलले भने, ‘भइसकेका कामको भुक्तानी केही दिनमा नै सकिन्छ ।’ उनले अब यो वर्ष नसकिने खालका काम अघि नबढाउने र अर्को वर्ष सुरुआतमै ती कार्यक्रम अघि बढाउने तयारी गरिएको पनि बताए ।

प्रकाशित : असार ४, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?