१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ढिलासुस्तीको कारण खोज्न माग

चन्दा आतंक, असुरक्षा र उपकरण आगजनीले काम प्रभावित

सुर्खेत — विकास निर्माणका क्रममा भएको ढिलासुस्तीको अपजस निर्माण व्यवसायीमाथि मात्र थोपर्नु गलत भएको भन्दै कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले ढिलासुस्तीको कारण खोजी समाधानतर्फ लाग्न सरकारसंग माग गरेको छ ।

ढिलासुस्तीको कारण खोज्न माग

महासंघले कर्णाली प्रदेश सरकारमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा खरिद प्रक्रिया, सार्वजजिक निकाय, परामर्शदाता तथा आयोजनासंग सम्बन्धित अन्य पक्षका कारण
निर्माणका काममा ढिलाई हुने गरेको दाबी गरेको हो ।

सरकारले निर्माण योजनामा हुने ढिलासुस्तीको दोष निर्माण व्यवसायीलाई मात्र लगाइएकामा ध्यानाकर्षण भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष मोहनप्रकाश आचार्यले निर्माण व्यावसायीका कारण करिब २५ प्रतिशत ढिलाई हुने दाबी गरे । ‘व्यवसायीको कारण भन्दा पनि अन्य कारणबाटै अधिकांश योजना अपुरा भएका छन्,’ उनले भने, ‘तर हामीलाई मात्र दोष थोपरेकाले सरकारको ध्यानकर्षण गराएका हौं ।’ उनले सरकारी प्रक्रियामा हुने प्रक्रियागत झन्झटका कारण आफूहरू मारमा परेको बताए ।

सार्वजनिक निकायबीचको समन्वय अभावका कारण योजना निर्माणमा समस्या भएको महासंघले जनाएको छ । पूर्वाधार विकास आयोजनाको डाटा सेन्टर स्थापना गर्नुपर्ने महासंघले माग गरेको छ । ‘आयोजना सुरु भएदेखि निर्माण पुरा नभएसम्म आयोजना प्रमुखको सरुवा नभए गतिरोधलाई हटाउन सकिन्छ,’ अध्यक्ष आचार्यले भने, ‘डाटा सेन्टरमा सार्बजनिक निकायले टेन्डर गर्नु एक वर्षअघि नै योजनाको बिबरण उपलव्ध गराउन र निश्चित कार्ययोजनाअनुसार काम गर्न जरुरी छ ।’ महासघले कम दररेट बोलकबोलमा एकमात्र प्रक्रिया अपनाउन जरुरी रहेको जनाएको छ । त्यस्त,ै आयोजनाले निर्माण व्यवसायीलाई समयमै भुक्तानी नदिदा निर्माणमा ढिलाई हुने गरेको महासंघको ठहर छ ।

‘चन्दा आतंक, असुरक्षा र यन्त्र उपकरणको आगजनीले योजना प्रभावित हुने गरेको छ, त्यसतर्फ पनि सरकारको ध्यान जानुपर्छ,’ अध्यक्ष आचार्यले भने, ‘खोला र खानीजन्य निर्माण सामग्रीको अभाव र सहज उपलब्धता नहुनुले पनि समस्या भएको हो ।’

टोल– टोलमा प्रहरी
जिल्ला प्रहरी कार्यालयले टोलटोलमा प्रहरी अभियानको सुरुवात गरेको छ । स्थानीयबासीकै अग्रसरतामा शान्ति सुरक्षा कायम गर्न र नागरिक– प्रहरी सम्बन्धलाई बलियो बनाउन अभियान सुरु गरिएको हो । विभिन्न सामाजिक विकृतिबारे सचेतना जगाउन र अपराधिक क्रियाकलापलाई निरुत्साहित गर्न अभियान सुरु गरेको कार्यालयले जनाएको छ । सुर्खेत प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीका अनुसार अभियानअन्तर्गत प्रत्येक स्थानमा दैनिक प्रहरी गस्ती पुग्ने व्यवस्था मिलाइएको छ । अभियानका क्रममा प्रहरीको कामकारबाहीसम्बन्धी गुनासा संकलन गरिने समेत उनले बताए ।

बिभिन्न स्थानमा टोल सुरक्षा समिति गठन गरी नागरिकलाई सक्रिय बनाइने एसपी चतुर्वेदीको भनाइ छ । ‘अभियानअन्तर्गत प्रहरीले शान्तिसुरक्षा कायम गर्न स्थानीयलाई जागरुक बनाउनेछ,’ उनले भने, ‘शान्तिसुरक्षामा खलल नपुग्ने विभिन्न घटना हुन नदिने र घटना घटेमा दोषीलाई कानुनी कारबाहीमा ल्याउने अभियानको उद्देश्य हो ।’ उनले मदिरा र लागूऔषधका कारण सामाजिक विकृति र आपराधिक घटनामा वृद्धि भइरहेको बताए । उनका अनुसार शान्तिसुरक्षाका लागि नागरिक–प्रहरी सहकार्य जरुरी भएकाले अभियानले यसैमा जोड दिएको छ ।

प्रकाशित : असार ५, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?