१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फर्निचर अभावले भुइँमा पढाइ

भीमबहादुर सिंह

जाजरकोट — विद्यालयको कक्षाकोठा हो कि गाईगोठ, छुट्याउनै गाह्रो छ । कक्षा कोठामा बालबालिका, कापीकिताब, फर्निचर र अन्य केही पनि सामग्री देखिंदैनन् ।

फर्निचर अभावले भुइँमा पढाइ

किताबकापी समातेर पढाइ गर्न लागेका बालबालिका देख्दा विद्यालयको कक्षाकोठाजस्तो लाग्छ । तर डेस्क, बेन्च, कुर्सी, कार्पेटलगायत सामग्री देख्न नपाउँदा गाईभैंसी गोठ हो कि भन्ने हुन्छ । विद्यालयको कक्षाकोठा भन्नै नसुहाउने विद्यालय हो कुशे गाउँपालिकाका–६ स्थित दुर्गादेवी आधारभूत विद्यालय, भार्म ।

दुर्गम गाउँ भार्मस्थित दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरू चिसो भुइँमा बसेर पढ्न बाध्य छन् ।

उनीहरू फर्निचर अभावमा भुइँमा बसेर पढाइ गर्न बाध्य भएका हुन् । विद्यालय रहेको स्थान कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र पनि हो । गाउँपालिकाको केन्द्र कायम भएपछि भार्म गाउँको परिचय बदलियो, तर, विद्यालयजस्तो शिक्षण संस्थाको अवस्था परिवर्तन हुन सकेन ।

कार्यालय भवन, मोटरबाटो, खानेपानी, विद्युत्लगायत पूर्वाधार विकासको हिसाबले गाउँपालिका सदरमुकाम भार्मको परिचय बदल्न खोजिए पनि विद्यालयमा आधारभूत पूर्वाधार विकासमा बेवास्ता भएको स्थानीय वीरबहादुर विष्टले बताए । ‘भार्ममा रहेको दुर्गादेवी आधारभूत विद्यालयको अवस्था उस्तै छ,’ उनले भने, ‘विद्यार्थी बस्ने कार्पेट र शिक्षकलाई बस्ने कुर्सीसमेत छैनन् ।’

४३ वर्षअघि स्थापना भएको विद्यालयको कक्षाकोठामा एउटा पनि फर्निचर छैन । कक्षाकोठा सफासमेत छैनन् । ‘नवआगन्तुकलाई विद्यालय भैंसी गोठ हो कि कक्षाकोठा हो ? भनेर छुट्याउन गाह्रो पर्छ,’ विष्टले भने । विद्यालय बत्तीमुनिको अँध्यारो बन्न पुगेको उनको भनाइ छ । बाल विकास केन्द्रदेखि ८ कक्षासम्मको पढाइ हुने विद्यालयमा भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको प्रधानाध्यापक सुनरलाल चौधरीले बताए । फर्निचरको व्यवस्थाका लागि शिक्षा समन्वय एकाइलगायत निकायलाई पटक–पटक सहयोग मागे पनि बेवास्ता भएको प्रधानाध्यापक चौधरीले जनाए ।

विद्यालयमा इलेक्ट्रोनिक हाजिरी तथा तीन सय वाट क्षमताको सोलार सेटका साथै कम्प्युटरको व्यवस्था छ । तर, कम्प्युटर उपयोगविहीन छ । सोलार भने विद्यालयका शिक्षक र स्थानीय अभिभावकलाई मोबाइल चार्ज गर्ने काममा मात्र सीमित छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट विद्यालयमा इलेक्ट्रोनिक हाजिरी, कम्प्युटर र सोलारको व्यवस्था गरेको हो ।

विद्यालयमा २० जना बाल विकास केन्द्रमा अध्ययन गर्ने बालबालिकासहित एक सय ६९ विद्यार्थी छन् । कक्षाकोठामा बस्ने बेन्च तथा कार्पेटको व्यवस्था नहुँदा भुइँमा बसेर पढ्न बाध्य भएको विद्यार्थी हरि विष्टले बताए । भुइँमा बस्दा चिसो लाग्ने, धूलोले कपडा छिट्टै फोहर हुनेलगायत समस्याले सताउने गरेको उनको भनाइ छ ।

त्यस्तै कुशे ७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय समाकोट पनि फर्निचरविहीन छ ।

विद्यालयका एक सय ५० जना विद्यार्थी पनि धूलो तथा भुइँमा बसेर पढाइ गर्न बाध्य छन् । दुर्गादेवी र नेपाल राष्ट्रिय आधारभूत विद्यालय मात्र हैन ।

जिल्लाका दर्जनौं विद्यालय फर्निचर अभावग्रस्त छन् । स्थानीय अभिभावक, शिक्षक, शिक्षा समन्वय एकाइलगायतको चरम लापरबाहीका कारण विद्यार्थी धूलोमा पढ्नुपर्ने बाध्यता भएको हो ।

प्रकाशित : असार ५, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?