कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बजारमा म्याद नाघेका खाद्यवस्तु

भीमबहादुर सिंह

जाजरकोट — सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती पाइएको छ । म्याद गुज्रेका खाद्यवस्तुको बिक्रीवितरण भइरहेको जनगुनासो बढेपछि जिल्ला प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

बजारमा म्याद नाघेका खाद्यवस्तु

खलंगा, छेडा, थलह, कालिमाटी, रिम्नालगायत बजारमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

औषधि, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, भुजा, मसला, खानेतेल, मिनरल वाटर, बिस्कुटलगायत खाद्यवस्तु म्याद नाघेको अवस्थामा फेला परेका हुन् । स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्यवस्तुको बिक्री वितरण हुने गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन नेतृत्वको अनुगमन टोलीले कोकाकोला १२ बोतल, फ्यान्टा २८ बोतल, स्प्राइट १५ बोतल, फ्रुटी एक दर्जन, भुजा सात प्याकेट, ५३ प्याकेट भुजा, मसला ४९ प्याकेट, सेन्चुरी पोट्याटो २० प्याकेट, हरियो मटर ३४ प्याकेट, स्नेहा रातो ३ प्याकेट, निम्बु चटपटे ४ प्याकेट, कुरकुरे १४ प्याकेटलगायत म्याद गुज्रेको खाद्यवस्तु बरामद गरेको छ ।

अनुगमन टोलीबाट बरामद भएका खाद्यवस्तु मंगलबार विभिन्न कार्यालयका कार्यालय प्रमुख र पत्रकारको रोहबरमा नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । पहिलो दिनको अनुगमनबाट एक लाख बराबरको म्याद गुज्रेको वस्तु बरामद भएको सहायक प्रजिअ शर्माले बताए ।

बजारमा म्याद सकिएका अखाद्य वस्तुको बिक्रीवितरण हुने गरेको सूचनाका आधारमा बजार अनुगमनलाई तीव्रता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । मदिरा, सुर्तीजन्य वस्तु, खाद्य तथा दैनिक उपभोग्य वस्तु, औषधि, निर्माण समग्री लगायतको नियमित अनुगमन गरिने उनले बताए । अनुगमनका क्रममा गैरीखाली, शान्तिचौतारा, ठाटी, तल्लो थाप्ले लगायतका ठाउँका व्यापारीले म्याद सकिएको खाद्यवस्तु बिक्रीवितरण गरेको पाइएको शर्माले जनाए ।

सदरमुकाम भन्दा बाहिरका बजारमा पनि अनुगमनलाई तीव्रता दिने प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । म्याद गुर्जेका खाद्यवस्तुको बिक्री गरेर उपभोक्ता ठगी गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउने प्रजिअ बस्नेतले बताए । प्रत्येक साताको शुक्रबार, शनिबार र आइतबार बजार अनुगमन गर्ने योजना रहेको बस्नेतको भनाइ छ । ‘कतिपय व्यापारीलाई पनि खाद्यवस्तुको म्याद गुज्रेको थाहा नभएको पाइयो,’ उनले भने, ‘बजार अनुगमनको सँगसँगै उपभोक्तालाई सचेत बनाउने सन्देश प्रवाह गरिनेछ ।’

शनिबार जिल्लास्तरमा बजार र उपभोक्ता हकहितसम्बन्धी सचेतीकरण कार्यक्रम आयोजनासमेत गरिएको थियो । पहिलो पटक व्यापारीलाई मौखिक सचेत गराइएको र दोस्रो पटक यही अवस्था दोहोरिए उपभोक्ता हकहित संरक्षण ऐनअनुसार कारबाही गर्ने प्रजिअ बस्नेतले बताए । जाजरकोटको स्थानीय बजारमा सबैभन्दा बढी म्याद गुज्रेको पेय पदार्थ फेला परेको उनको भनाइ छ ।

प्रकाशित : असार ७, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?