कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रगत पाउनै मुस्किल

मुगु/रुकुम — छायानाथ रारा नगरपालिका–४ की ३३ वर्षीया सुष्मा भामलाई मंगलबार डा. सुरेश गजुरेलले एक प्वाइन्ट रगत दिएर बचाए । सुष्माको शल्यक्रियाबाट प्रसूति गराएका चिकित्सक आफैंले उनको ज्यान खतरामा परेपछि रक्तदान गरेका हुन् ।

रगत पाउनै मुस्किल

उनीमात्र होइन, जिल्ला अस्पतालमा प्रसूतिका लागि आउने गर्भवती र अन्य बिरामीलाई चिकित्सक र स्वास्थ्यकर्मी आफैंले रगत दिएर बचाउने गरेका छन् । बिरामी रगत नपाएर गम्भीर अवस्थाको बन्न थालेपछि चिकित्सक र स्वास्थ्यकर्मीले रगत खोज्न स्थानीय रेडियोमा विज्ञापन गर्ने गरेका छन् ।

‘बिरामीका आफन्तले नै रगत दिन मान्दैनन्,’ जिल्ला अस्पतालका डा. डबलबहादुर मल्लले भने, ‘रक्तसञ्चार केन्द्र नहुँदा रक्तअल्पता भएका गर्भवती महिलालाई ज्यान बचाउन निकै सास्ती खेप्नुपरेको छ ।’ उनका अनुसार रगत नपाएर बिरामी छट्पटाइरहेका बेला स्वास्थ्यकर्मीलाई रगत खोज्न आफैं खटिनुपर्ने बाध्यता छ ।

रगत दिँदा कमजोर हुने र काम गर्न समस्या हुने गलत धारणा स्थानीयवासीमा भएकाले रक्तदान गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । अस्पतालले बेलाबेलामा नेपाली सेना र प्रहरीलाई खबर गरी रक्तदानको व्यवस्था मिलाउने गरेको जनाएको छ । सातापिच्छे यस्तो समस्या आएपछि चिकित्सक र स्वास्थ्यकर्मीलाई सास्ती हुने गरेको हो ।

पोषिलो खानेकुराको अभाव र बढी कामको चापले गर्दा सुत्केरी हुन जिल्ला अस्पतालमा आउने अधिकांश महिलालाई रक्तदान गर्नुपर्ने अवस्था आएको छ । सिनियर अनमी पुण्य देवकोटाका अनुसार रक्तसञ्चार सुविधा नहुँदा बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता छ ।

खत्याड गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा पनि रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई ज्यान बचाउन मुस्किल हुने गरेको छ । रक्तअल्पता भएकी गर्भवती महिलालाई डोकोमा बोकेर बाजुराको कोल्टी लैजानुपर्ने बाध्यता छ । कतिपयले रक्तसञ्चार केन्द्र नहुँदा महँगो हवाई भाडा तिरेर बिरामीलाई नेपालगन्ज र सुर्खेत पुर्‍याउने गरेका छन् ।

चिकित्सकबाट रगत पाएकी मुगु छायानाथ रारा नगरपालिकाकी सुष्मा भाम । तस्बिर : कान्तिपुर

उपचारसँगै रक्तदान
रुकुम पश्चिम– चौरजहारी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर कालेव बुढाले वैशाख १५ गते जाजरकोट भेरी नगरपालिका–२, का १७ वर्षीय टीकाराम बाँठा मगरलाई एक पोका रगत दान गरे । सोही दिन उनै बाँठालाई सोही अस्पतालका रेडियोग्राफर जय बुढाले पनि एक पोका रगत दान गरे । त्यसको एक साताअघि वैशाख ६ गते उनै बाँठालाई चौरजहारी अस्पतालकै प्रयोगाशला प्राविधिक नीमबहादुर गोसार्इंले एक पोका रगत दान गरेका थिए । तीन महिनादेखि चौरजहारी अस्पतलमा उपचाररत बाँठालाई हालसम्म ६ पोका रगत चढाइएको छ । जसमा ३ पोका रगत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले नै दिएका छन् । चौरजहारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई रगत आवश्यक परेको खण्डमा स्वास्थ्यकर्मी आफैं रक्तदानका लागि तत्पर हुन्छन् भन्ने उदाहरण हो यो । डाक्टर कालेवले यो सहित १० पटकसम्म रगत दान गरिसकेका छन् भने जयले ४ पटक र नीमबहादुरले पनि ३ पटक रक्तदान गरिसके ।

‘उपचार गर्नु हाम्रो पेसा हो,’ डाक्टर कालेवले भने, ‘हामीले उपचारमार्फत मात्रै होइन रक्तदान गरेर पनि बिरामीको सेवा गरिरहेका छौं ।’ रगत चढाउनुपर्ने बिरामीसँगै रगत दिन सक्ने कुरुवा नआएको सन्दर्भमा स्वास्थ्यकर्मीबाट रक्तदान गर्ने गरिएको छ । रगत दिन तयार हुने कुरुवाको अवस्थाको आधारमा पनि स्वास्थ्यकर्मीबाट रगत दान गर्ने गरिएको डाक्टर कालेवले बताए । वृद्ध अवस्थाको वा हुनुपर्ने तौलभन्दा कम तौल भएका कुरुवा भए पनि उनीहरूको बिरामीका लागि रगत दान गर्ने गरिएको डाक्टर कालेवले बताए । अस्पतालमा कार्यरत ६० बढी स्वास्थ्यकर्मीले एक पटकभन्दा बढी पटक नै बिरामीका लागि रक्तदान गरेका छन् । चौरजहारी अस्पतालमा रगत चढाउनुपर्ने ५० प्रतिशत बिरामीलाई स्वास्थ्यकर्मीले नै रक्तदान गरेका छन् ।

बिरामी कुरुवा, आफन्त, नेपाली सेना, प्रहरी अन्य सर्वसाधारणले ५० प्रतिशत रक्तदान गर्छन् । रगत दिँदा आफू कमजोर हुन्छु भन्ने भावनाका कारण पनि सर्वसाधारण सजिलै रक्तदान गर्न तयार हुँदैनन् । रक्त समूह नमिल्दा र रक्त समूह परीक्षण गर्न समय लाग्ने जस्तो भएमा पनि स्वास्थ्यकर्मीहरू नै रक्तदानका लागि तयार हुने गरेका छन् ।

प्रकाशित : असार ७, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?