कक्षा चार, विद्यार्थी एक

कक्षा ३ मा पनि एक विद्यार्थी, कक्षा २ मा ६ र कक्षा १ मा ४ विद्यार्थी । विद्यालयभरि १० विद्यार्थी कहिल्यै पुग्दैनन् ।
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–१, स्थित आधारभूत विद्यालय नाखिरामा बाल विकासदेखि ४ कक्षासम्म पठनपाठन हुन्छ । यसअघि ७ कक्षासम्म पठनपाठन हुने विद्यालयलाई घटाएर ४ कक्षा सम्ममा सीमित गरिएको छ । तैपनि विद्यार्थी छैनन् । कक्षा ४ मा एक मात्र विद्यार्थी भर्ना भएका छन् ।

कक्षा चार, विद्यार्थी एक

४ कक्षा मात्रै होइन कक्षा ३ मा पनि एक जनामात्रै विद्यार्थी भर्ना भएका छन् । कक्षा २ मा ६ र कक्षा १ मा चार विद्यार्थी भर्ना भए पनि विद्यालयमा भने १० विद्यार्थी कहिल्यै पुग्दैनन् । ‘भर्ना भएका विद्यार्थी पनि विद्यालय आउन छाडे,’ प्रधानाध्यापक अमृत सुनारले भने, ‘विशेषगरी अभिभावकको चासो र चिन्ता नभएका कारण विद्यार्थी विद्यालयमा टिकाउन सकिएको छैन ।’ उनले विद्यालयमा मुस्किलले ५ देखि ७ जना विद्यार्थी मात्रै उपस्थित हुने गरेको बताए ।


बाल विकासमा २६ र १ देखि ४ सम्म १२ गरी ३८ विद्यार्थी भर्ना भएको विद्यालय हाजिरीमा देखिन्छ । तर विद्यालयमा भने भर्ना भएका भन्दा न्यून विद्यार्थी मात्रै उपस्थित हुने गरेका छन् । यस वर्ष विद्यार्थी भर्ना अभियान, विद्यार्थीलाई पोसाक वितरण तथा छात्रवृत्ति प्रदान गर्दा पनि विद्यार्थीहरू विद्यालय आउन छाडेको प्रअ सुनारले बताए । भर्ना भएका सबै विद्यार्थीलाई विद्यालयमा टिकाउन पोसाक, छात्रवृत्ति र दिउँसोको खाजाको समेत व्यवस्था गरिए पनि विद्यार्थीले विद्यालय छाडेको भनाइ उनको छ । ‘विद्यार्थी टिकाउन सक्दो प्रयास जारी राखेका छौं, विद्यालय पोसाकको व्यवस्था भयो, सबै विद्यार्थीलाई छात्रवृत्ति दिन थालेका थियौं, खाजाको समेत व्यवस्था गर्दा पनि विद्यार्थी टिकेनन्,’ प्रअ सुनारले भने, ‘यो अभिभावक सचेत नहुँदाको परिणाम हो ।’

उक्त विद्यालयमा भर्ना भएकाहरू पनि नजिकैका निजी स्कुलमा गइसकेका छन् । यस विद्यालयमा गत वर्ष पनि १४ जना विद्यार्थी मात्रै भर्ना भएका थिए । भर्ना भएका सबै विद्यार्थी अन्तिमसम्म विद्यालय आएनन्, धेरैले बीचैमा छाडे ।


स्थानीय अभिभावकहरूले भने विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्ने भएपछि विद्यार्थीहरू निजी स्कुलमा जाने गरेको बताएका छन् । विद्यार्थी नै नआउने भएपछि बाल विकासदेखि कक्षा ४ सम्मका विद्यार्थीलाई एउटै कक्षामा राखेर पठनपाठन गराउने गरिएको छ । नियमित आउने विद्यार्थी ५/७ जनामात्रै भएकाले एउटै कोठामा राखे विषयवस्तुअनुसार पढाइरहेको प्रअ सुनारले बताए ।

‘कहिल्यै कुनै कक्षा खाली हुन्छ कहिल्यै कुनै खाली हुन्छ,’ उनले भने, ‘त्यसैले पनि एउटै कोठामा राखेर पढाउछौं ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक वादीले कुनै पनि उपायले विद्यार्थी टिकाउन नसकेको बताए । विद्यालयमा एक बाल विकास सहयोगी कार्यकर्तासहित चार शिक्षक छन् । विद्यार्थी नभएकै कारण अघिल्लो वर्ष विद्यालयका पाँच शिक्षकलाई अन्यत्रै काज सरुवा गरिएको छ । एउटा राहत र अरू सबै स्थायी शिक्षक काजमा खटाइएको छ ।


विद्यालयमा चार भवन र ९ कक्षाकोठा छन् । एउटा कार्यालय र दुई पढाइ हुने कक्षाबाहेक अन्य कोठामा लामो समयदेखि ताला झुन्डिएको छ । प्रयोगविहीन भएपछि भवन जीर्ण बन्दै गएका छन् ।

प्रकाशित : असार ८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?