कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी शिक्षकको भरमा विद्यालय

विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिकाको जयतपानीस्थित प्रतिभा माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । माध्यमिक र निम्न माध्यमिक तहमा दरबन्दी शून्य रहेको हो । त्यहाँ एक जना शिक्षक मात्रै कार्यरत छन् ।

निजी शिक्षकको भरमा विद्यालय

ती पनि प्राथमिक तहका हुन् । दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या भइरहेको विद्यालयले जनाएको छ ।

२०४६ सालमा स्थापना भएको विद्यालय निजी स्रोतबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ । अभिभावकबाट शुल्क उठाएर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । प्रधानाध्यापक देवीलाल नेपालीका अनुसार पटक पटक शिक्षक दरबन्दी पूर्ति गर्न माग गरे पनि बेवास्ता भएपछि पठनपाठनमा समस्या भएको हो । स्थानीय तहले समेत शिक्षक भर्ना गर्न अनुदान नदिएपछि पठनपाठन प्रभावित भएको उनले जनाए । उनका अनुसार प्राथमिक तहमा दुई र निमाविमा एक राहत शिक्षक कार्यरत छन् ।


मावि र निमाविमा विषयगत शिक्षक भर्ना गर्न अभिभावकबाट भर्ना, परीक्षालगायत अन्य शुल्क उठाउन बाध्य भएको विद्यालयले जनाएको छ । अभिभावकबाट संकलन गरिएको रकमले शिक्षकलाई तलब खुवाउने गरिएको छ । ‘सरकारले कक्षा १० सम्म नि:शुल्क पठनपाठन गराउने भने पनि विद्यालयमा भरपर्दो स्रोत नभएकाले शुल्क उठाउनुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक नेपालीले भने,‘दरबन्दी नहुँदा पठनपाठनमा ठूलो असर
परेको छ ।’

माध्यमिक तह सञ्चालन गर्नुअघि यहाँका बालबालिका तीन/चार घण्टा हिंडेर मार्केको त्रिभुवन जनता मावि र सेजवालटाकुराको महेन्द्र माविमा जान बाध्य थिए । माध्यमिक तह पढ्न टाढा जानुपर्ने बाध्यता भएपछि गाउँकै विद्यालयलाई माध्यमिक बनाइएको थियो । विद्यालयमा स्वारा, ज्यामिरे, गिठाचौर, सेरा र जयतपानीका बालबालिका अध्ययन गर्दै आएका छन् । कक्षा १० सम्म चार सय बढी विद्यार्थी अध्ययनरत छन् ।

दरबन्दी नहुँदा तीन सय बढी अभिभावकले बोर्डिङसरह भर्ना, परीक्षा लगायतका विभिन्न शुल्क तिर्नुपरेको विद्यालय संस्थापक रिमबहादुर बुढाथोकीले बताए । ‘माध्यमिक तह सञ्चालन भएपछि त सरकारी दरबन्दी दिनुपर्ने हो नि,’ उनले भने, ‘तर कसैले चासो देखाएनन् । त्यसैले अभिभावकबाट शुल्क उठाउनुपर्ने बाध्यता छ ।’ उनले दरबन्दी मिलान गरेर शिक्षकको व्यवस्था गरे पठनपाठन प्रभावकारी बनाउन सकिने बताए ।

बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले शिक्षक अभाव भएको गुनासो आएपछि करारमा शिक्षक भर्ना गर्न थालिएको बताए । उनले नगरपालिका भित्रका सबै विद्यालयको पठनपाठन प्रभावकारी बनाउन काम भइरहेको दाबी गरे ।

प्रकाशित : असार ९, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?