कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानीभेरीमा नगर प्रहरी

रुकुम पश्चिम — सानीभेरी गाउँपालिकाले नगर प्रहरी नियुक्त गरी कामकाज सुरु गरेको छ । जेठ पहिलो साता नियुक्त गरिएका पाँच जना नगर प्रहरीलाई तीन साताको आधारभूत तालिमपछि गाउँपालिकाले कामकाजमा लगाएको हो ।

सानीभेरीमा नगर प्रहरी

५२ जनाले नगर प्रहरीका लागि आवेदन दिएकामा खुला प्रतिस्पर्धाबाट पहिलो चरणमा तीन पुरुष र दुई महिला गरी पाँच जना नगर प्रहरी नियुक्त गरी कामकाजमा लगाइएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । गाउँपालिकाका विभिन्न ३३ बढी कामका लागि नगर प्रहरी नियुक्त गरेको अध्यक्ष पुनको भनाइ छ । जिल्लाका ६ स्थानीय तहमध्ये नगर प्रहरी नियुक्त गर्ने सानीभेरी गाउँपालिका पहिलो हो ।

उनीहरूलाई कामका लगाउनुअघि प्रहरी चौकी सिम्लीले आधारभूत तालिम दिएको थियो । शान्ति सुरक्षा कायम गर्नेदेखि अन्य व्यवस्थापकीय कामकाज गर्ने शैली, रणनीतिका बारेमा नगर प्रहरीलाई सिकाइएको छ ।

गाउँपालिकाले यसअघि कार्यविधि बनाएर नगर प्रहरी कर्मचारीको काम कर्तव्य र अधिकार तोकिदिएको छ । नगर प्रहरीले कार्यविधिअनुसार काम गर्ने अध्यक्ष पुनको भनाइ छ । ‘हालैलाई ३३ वटा कामको प्रयोजनका लागि नगर प्रहरी नियुक्त गरेका छौं,’ अध्यक्ष पुनले भने, ‘पछि आवश्यकता देखिंदै गएको खण्डमा थप कामहरू तोकिनेछ ।’

सवारी आवागमनमा बाधा पुर्‍याउने गरी राखिएका निर्माण सामग्री हटाउन लगाउने, नमानेमा आफैं हटाउने र क्षतिपूर्तिसमेत व्यवसायीबाट उठाउने, फोहोरमैला तोकिएको निर्धारित समयमा तोकिएको ठाउँमा व्यवस्थापन गर्न लगाउने, नमान्नेलाई कारबाहीका लागि पेस गर्ने, सार्वजनिक सम्पत्ति मिचे, नमिचेका बारेमा जानकारी राख्ने लगायतका कामको जिम्मा नगर प्रहरीलाई दिइएको छ ।

प्रकाशित : असार ९, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?