कुलो भत्किँदा धान खेती बन्द

हरि गौतम

रुकुम पश्चिम — सडक निर्माणको क्रममा सिँचाइ नहर भत्किँदा यहाँको एक ज्युलामा धानखेती लगाउन बन्द भएको छ । उक्त ठाउँमा किसानले पाँच वर्षदेखि मकै लगाउँदै आएका छन् ।

कुलो भत्किँदा धान खेती बन्द

गोतामकोट–स्यालाखदी सडक निर्माणको क्रममा २०७१ मा पीपलज्युला सिँचाइ योजनाको नहर भत्किएको थियो । कुलो भत्केर पानी बन्द भएपछि स्थानीय किसानले पीपलज्युलामा मकै लगाउन थालेका हुन् । ‘सडक बनाउँदा कुलो भत्कियो, पानी नभएपछि धानको सट्टा मकै खेती गर्न थालेका हौं,’ स्थानीय पूर्णबहादुर विष्टले भने, ‘पानी अभावका कारण खेत बाँझै राख्नुभन्दा मकै लगाउन थालेका हौं ।’


भत्केको कुलो बनाउन यसअघि परेको बजेट हिनामिना हुँदा समयमै कुलो बन्न नसकेको उनले बताए । सरोकारवाला निकायले कुलो निर्माणमा बेवास्ता गर्दा राम्रो उत्पादन हुने खेतमा धान लगाउन नपाइएको स्थानीयको भनाइ छ ।


कतिपय किसानले त खेतमै पाखेधान लगाउने गरेका छन् । कुलो मर्मतका लागि पहिलो पटक परेको चार लाख रुपैयाँबाट निर्माणको ५ प्रतिशत पनि काम हुन सकेन । निर्माण जिम्मा लिएको समितिले गम्भीरतापूर्वक कुलो निर्माणको काम गर्न नसकेको आरोप स्थानीय किसानको छ । ४ नम्बर वडाध्यक्ष बाबुराम विष्टले अर्को वर्षसम्म पीपलज्युलामा धान खेती गर्ने गरी कुलो निर्माणको काम भइरहेको बताए ।


सिँचाइ र खानेपानी शीर्षकमा परेको बजेटलाई सिँचाइमा मात्रै खर्च गरेर भए पनि कुलो मर्मतको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । खानेपानीमा परेको ६ लाख र सिँचाइमा परेको ७ लाख गरी १३ लाख रुपैयाँबाट पीपलज्युलामा आउने सिँचाइ कुलो मर्मत भइरहेको उनले बताए । ‘धान रोप्ने खेतमा मकै लगाउँदा स्थानीय किसान चिन्तित भएका छन्,’ अध्यक्ष विष्टले भने, ‘यही कुरालाई मध्यनजर गरी सिँचाइ कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।’ ज्ञानोदय माविका प्रधानाध्यापकसमेत रहेका स्थानीय आशाराम केसीले भत्किएको कुलो मर्मत भए पनि मुहानको मर्मत हुन नसकेको बताए ।


मुहानको संरक्षण र त्यसलाई बलियो नबनाउँदासम्म ज्युलालाई पुग्ने पानी आउन नसक्ने उनको भनाइ छ । कुलोका साथै मुहान पनि मर्मत गरिएपछि धान खेतीका लागि पर्याप्त पानी आउने केसीले बताए ।


झन्डै एक किमि सिँचाइ कुलोमध्ये तीन सय ३३ मिटर कुलो भत्केको थियो । घट्टेखोलाबाट पीपलज्युलामा पानी ल्याई सिँचाइ गरिँदै आइएको छ । साबिकको गोतामकोट गाविसको ३ र ८ नम्बर वडामा पर्ने पीपलज्युला आठबिसकोट नगरपालिकाको राम्रो धान फल्ने ज्युलोमध्येमा पर्दछ ।

प्रकाशित : असार १०, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?