१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अभिभावक पनि विद्यालय

विप्लव महर्जन

सल्यान — दार्मा गाउँपालिका–४, भल्चौरस्थित कालिका आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न बालबालिकासँगै अभिभावक पनि विद्यालय जाने गरेका छन् ।

अभिभावक पनि विद्यालय

विद्यालयमा उपस्थित नहुने र नियमित पठनपाठनमा ध्यान नदिने शिक्षकलाई अभिभावकले निगरानी गर्न थालेका हुन् । बिहान बालबालिकालाई लिएर विद्यालय १० बजे गएका अभिभावकहरू विद्यालय छुट्टी भएपछि अपराह्न चार बजे मात्र घर फर्कने गरेका छन् ।

शिक्षकको नियमित अनुगमन गर्न अभिभावकले निगरानी गर्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा दार्मा –४ का वडाध्यक्ष चन्द्रबहादुर रावतले बताए । उनका अनुसार पठनपाठनलाई प्रभावकारी बनाउन अभिभावकको चासो हुन थालेपछि शैक्षिक गुणस्तर बढ्दै गएको छ । उनीहरूले शिक्षकको शिक्षण शैलीबारे समेत निगानी राख्न थालेका छन् ।

‘विद्यालयको पढाइ सुधारका लागि धेरै कोसिस गरे पनि शिक्षकले बेवास्ता गरेपछि समस्या भएको थियो,’ उनले भने, ‘अभिभावकको निगरानी बढाएपछि पठनपाठनमा सुधार आउन थालेको छ ।’ अभिभावक विद्यालयमा आएपछि बालबालिका समेत नियमित पठनपाठनमा सहभागी हुन थालेका छन् । अभिभावकको निगरानी बढाउन एक महिनादेखि अभियान सुरु गरिएको प्रधानाध्यापक चक्रबहादुर बोहराले बताए । ‘यसले पठनपाठनप्रति बालबालिकालाई समेत रुचि जगाएको छ,’ उनले भने, ‘अभिभावकले शिक्षकसँगै आफ्ना बालबालिकाको पनि निगरानी गरिरहेका छन् ।’ उनका अनुसार विद्यालयमा नआउने, विद्यालयबाट भाग्ने र पठनपाठनमा ध्यान नदिने बालबालिका समेत सुध्रँदै गएका छन् ।

कक्षा ८ सम्म सञ्चालित विद्यालयमा दुई सय ५० विद्यार्थीले अध्ययन गर्दै आएका छन् । विद्यालयले बालविकास केन्द्रमा प्रारम्भिक साक्षरता तथा गणितीय सीप विकासमा जोड दिइएको छ । त्यस्तै कक्षा १ र २ मा नेपाली विषयलाई ९० मिनेट सञ्चालन गर्न थालिएको छ । विद्यालयमा बालमैत्री बसाइ व्यवस्थापन, शिक्षकलाई तालिम र शिक्षक तथा विद्यार्थीको सहयोगमा विद्यालयको सुशासनमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

शैक्षिक सुधारका लागि विद्यालयले गरेको कोसिस सराहनीय भएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । ‘अन्य विद्यालयमा पनि यस्तो कार्यक्रम लागू गर्न आवश्यक छ,’ उनले भने, ‘गाउँपालिका भित्रका सबै विद्यालयलाई नमुना बनाउन गाउँपालिकाले आवश्यक योजना बनाइरहेको छ ।’

प्रकाशित : असार १५, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?