२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

‘कोद्‌या खेतीमा भौती दु:ख छ’

तुलाराम पाण्डे

काठमाडौँ — असार १५ मा देशभर राष्ट्रिय धान दिवसको चटारो भइरहेका बेला पलाताको धौलागोहका कृषकलाई बारीमा कोदो सार्न भ्याइनभ्याइ छ । लामो खडेरीपछि असार १२ मा पानी परेकाले किसान दैनिकजसो पाखो बारीमा कोदो रोप्न व्यस्त भएका हुन् ।

‘कोद्‌या खेतीमा भौती दु:ख छ’

कृषकहरू बिहानै घरबाट लालाबाला र रोटी बोकेर बारीमा पुग्छन् । उनीहरूको दिनचर्या बारीमै बित्ने गरेको छ । ‘धानखेत त छैन,’ पलाता–२, मिजुवाडाका ५२ वर्षीय कृषक माघे न्यौपानेले भने, ‘धौलागोहको अधिकांश जमिनमा कोदो रोपिन्छ ।’ उनका अनुसार जमिन पनि पूरै ठाडो पाखो भएकाले कोदो सार्ने चलन छ ।

धौलागोहमा थोरै धानखेत पलाता १ को पुलाहा र ३ को रिमामा मात्र छ । त्यही खेतमा कोदोको बेर्ना उमारेर धौलागोहको पाखोमा कृषकले सार्ने गर्छन् । उनीहरूलाई कोदोको बीउ ल्याउन मात्र गाउँबाट दुई घण्टा पैदल हिंडेर जानुपर्छ । यसपटक समयमै पानी परेकाले असार १५ मै धौलागोहका कृषकहरू कोदो रोप्न र एक कुटे मकै गोड्न व्यस्त भएको ६८ वर्षीया लालकला न्यौपानेले बताइन् । छोरा, बुहारीलगायत १५ जनासँगै धौलागोहको राडुनेटा अल्की ज्युलामा कोदो सार्दै गरेकी वृद्धा न्यौपानेले गाउँको प्रमुख अन्नबाली कोदोको खेती पनि कम हुन थालेको गुनासो पोखिन् । ‘कोद्या (कोदो) खेतीमा दु:ख भौती (धेरै) हुन्छ,’ उनले भनिन् ‘सइतो (सजिलो) मानेर मकै लगाउँछन् । त्यही पनि खच्चडलाई बेचेर खाद्यको सडेको चामल खान्छन् ।’

पलाता गाउँपालिकामा पर्ने धौलागोह खाद्य संकट हुने क्षेत्र हो । पानी कम परेकाले यस वर्ष पनि गहुँ उत्पादन नभएको अर्का कृषक हरिप्रसाद न्यौपानेले बताए । उनका अनुसार विगतको तुलनामा कोदो खेती गर्ने कृषकको संख्या न्यून छ । कोदो खेती गरेको जमिनमा हिउँदमा पानी परे पनि गहँु उत्पादन कम हुने भएकाले कृषकहरूले मकै खेती बढी गर्न थालेका छन् । एक हजार दुई सय घरधुरी रहेको धौलागोहमा कालिकोटकै सबैभन्दा बढी जनसंख्याको बसोबास छ । लेकाली भेकमा सिमी, आलु उत्पादन हुने धौलागोहमा फापर, चिनो, कोदो बढी उत्पादन हुने क्षेत्र मानिन्छ ।

सुक्खा खडेरी बढी हुने धौलागोहमा विगतमा विश्व खाद्यले कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरे पनि यस वर्ष कार्यक्रम नआएकाले स्थानीय समस्यामा परेको पलाता २ का वडाध्यक्ष विरी विश्वकर्माले बताए । उनले खाद्य सञ्चालनको थिर्पु डिपोमा पनि चामल नभएकाले भोकमरीको अवस्था आएको गुनासो पोखे । पलाताको खाद्य संकट कम गर्न स्थानीय उत्पादनमा जोड दिंदै जमिन बाँझो राख्न नपाइने नीति बनाएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले सिँचाइ, उन्नत बीउ, कृषि औजार र कृषकलाई तालिमलगायत सेवा प्रवाह गरिरहेको बताए ।

बारीमै बसेर खाना खाँदै ।

प्रकाशित : असार १६, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?