स्थानीय सरकारको निर्देशन बेवास्ता

पुलको एक सय मिटर नजिकबाट ढुंगा, गिट्टी र बालुवा निकाल्न नपाउने नियम भए पनि व्यवसायीले बेवास्ता गरेका छन् ।
ज्योति कटुवाल

दैलेख — अनियन्त्रित गिट्टी बालुवा बालुवाको ओसारपसार रोक्न स्थानीय तहले निर्देशन दिए पनि उत्खनन रोकिएको छैन । व्यवसायीले जभाभावी गिट्टी बालुवा उत्खनन गर्न छोडेका छैनन् ।

स्थानीय सरकारको निर्देशन बेवास्ता

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले असार १० गतेदेखि अवैध रूपमा गिट्टी बालुवा उत्खननमा रोक लगाएको थियो । भदौ मसान्तसम्म जिल्लाभित्रका कुनै पनि खोलाबाट गिट्टी–बालुवा निकासी गर्न नपाइने नियम भए पनि त्यसको बेवास्ता हुँदै आएको छ ।

विकास निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी, उपभोक्ता समितिलगायतले अवैध रूपमा उत्खनन गरिएको गिट्टी–बालुवा प्रयोग गर्दै आइरहेका छन् । अव्यवस्थित ढुंगा, गिट्टी र बालुवा उत्खननले कर्णाली राजमार्गका पुलमा क्षति हुने क्रम बढ्दै गएको स्थानीयको भनाइ छ । क्रसर चलाएर गरिने जथाभावी उत्खननले कर्णाली नदी र लोहोरे खोलाको दोभानमा रहेको तल्लो डुंगेश्वर पुल जोखिममा पर्न थालेको स्थानीयको भनाइ छ ।

पुलबाट ठूला सवारी साधन चलाउँदा आउने आवाजले आफूहरू त्रसित हुने गरेको चालकको भनाइ छ । सुर्खेत, दैलेख र अछामको सिमाना छुँदै गाडीहरू कालिकोट, जुम्लालगायतका जिल्लामा जाने गरेका छन् । सुर्खेत, दैलेख र अछामको केन्द्रविन्दु मानिने डुंगेश्वर पुलको पिलरमुनिबाटै ढुंगा, गिट्टी र बालुवा मनलाग्दो तरिकाले निकाल्दा जोखिम बढेको स्थानीय पूर्ण थापाले बताए । ‘यो पुलको विकल्प अरू छैन, तर गिट्टी बालुवा उत्खनन जथाभावी गर्दा जोखिम बढेको छ,’ उनले भने, ‘स्थानीय सरकारले पनि उत्खनन रोक्न सक्रियता देखाएन ।’

स्थानीयका अनुसार यहाँको गिट्टी बालुवा अन्यत्र जिल्लामा समेत पुग्ने गरेको छ । पुलको एक सय मिटर नजिकबाट ढुंगा, गिट्टी र बालुवा निकाल्न नपाउने नियम भए पनि व्यवसायीले बेवास्ता गरेका छन् । कर्णाली बगर वरपरका बस्तीसमेत जोखिममा परेको स्थानीयको भनाइ छ । खोला आसपासमा झन्डै दुई सय घरधुरीको बसोबास छ ।

खोला नजिकैको नमुना बस्तीका बासिन्दासमेत जथाभावी उत्खननले बस्ती जोखिममा परेको भन्दै चिन्तित छन् । दिउँसो रोकिए पनि गिट्टी बालुवा रातको समयमा ओसारपसार हुने गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले बताए । उनले रातको समयमा ओसारपसारमा संलग्नलाई पक्राउ गरिएको बताए । ‘कानुन बनाएर मात्र भएन, पालना गर्न पनि उत्तिकै आवश्यक छ,’ उनले भने, ‘प्रहरीले मात्र एक्लै केही गर्न सक्दैन ।’

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले रातिको समयमा प्रहरी परिचालन गरेर अवैध बालुवा गिट्टी नियन्त्रणमा लिइरहेको बताए । उनले सवारीसाधनलाई जरिवानासमेत गरिएको बताए, रामाघाट खोला, तल्लो ढुंगेश्वर, चुप्रा खोला, लोहोरे खोला, छामघाट खोलालगायतका स्थानहरूबाट भदौंसम्म बालुवा गिट्टीको निकासी रोक्ने निर्णय सबैलाई जानकारी गराइएको जिल्ला समन्वय समितिका संयोजक प्रेम थापाले बताए । ‘यो वर्षको असार अन्तिममा पुन: गिट्टी बालुवा संकलनको लागि ठेक्का खोल्नुपर्ने हो,’ उनले भने, ‘अहिलेसम्म प्रदेश सरकारले जिम्मेवारी तोकेको छैन् ।’

स्थानीय तह मातहत रहेका खोलाबाट उत्खननका लागि स्थानीय तह वा जिससमध्ये कसले सूचना खोल्नेबारे अन्योल रहेको उनको भनाइ छ ।

प्रकाशित : असार १९, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?