कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोठमै सुत्केरी

तुलाराम पाण्डे

खिन (कालिकोट) — पलाता गाउँपालिका–४, मेहेल्नीकी होइजाली महतारा जेठमा प्रसूति व्यथाले च्यापेपछि गाई बाँध्ने गोठमा पसिन् । घर साँघुरो भएकाले गोठ पसेकी होइजालीले स्थानीय सुडेनी कैली महताराको सहयोगमा ९ घण्टापछि छोरा जन्माइन् ।

गोठमै सुत्केरी

१७ वर्षको उमेरमा विवाह गरेकी महताराले त्यसअघि दुई छोरी पनि गाई गोठभित्रै जन्माएको सुनाइन् ।

‘अस्पताल टाढा छ,’ होइजालीले प्रतिप्रश्न गर्दै भनिन्, ‘पुग्ने बाटो पनि राम्रो छैन, भीर छ, कसरी जानू ?’पलाता–६, उखाडीकी जीवना बमले पनि गएको जेठमा घरमै बच्चा जन्माइन् । २३ वर्षीया उनको ६ वर्षअघि बिहे भयो । यसअघि घट्ट पिस्न गएका बेला व्यथा लागेर बाटोमै छोरी जन्माएकी बमले गएको असारमा सुत्केरी हुन स्वास्थ्य संस्था नगएर घरमै छोरा जन्माइन् । उनी नियमित खोप लगाउन भने नेटास्थित स्वास्थ्यचौकी जाने गरेको सुनाउँछिन् । ‘यता पनि त्यस्तो सुविधा केही छैन,’ बच्चा च्यापेर खोप लगाउन आउँदै गरेकी बमले भनिन्, ‘अस्पताल त नाम मात्रको छ, बरु घरमै सजिलो हुन्छ ।’

उखाडीकै २५ वर्षीया साजना शाही बमले असार पहिलो साता घरमै दोस्रो सन्तानका रूपमा छोरी जन्माइन् । पहिलो सन्तान जन्माउने बेला पनि स्थानीय सुडेनीकै भर परेकी साजनालाई स्वास्थ्य संस्था जानुपर्छ भन्ने जानकारी भए पनि टाढा भएकाले घरमै प्रसूति हुनुपर्‍यो । जुम्ला पिगी माइती घर भएकी साजनाले एसएलसी पास गरेकी छन् । साजना गाउँमा सञ्चालन भएको सबल कक्षाकी सहजकर्ता पनि हुन् । ‘अरूलाई त सुत्केरी हुन अस्पताल जानुपर्छ भनेर सल्लाह दिन्थेँ,’ उनले कान्तिपुरसँग भनिन्, ‘तीन घण्टा उकाली–ओराली गरेर नेटा स्वास्थ्यचौकी पुग्न सकिएन ।’

होइजाली, जीवना र साजनामात्र होइन, कालिकोटको विकट खिनको छलाहा, मेहेल्ने, जाफे, उखाडीलगायत गाउँका महिलाहरू प्रसूति हुन घन्टांै टाढाको नेतास्थित बर्थिङ सेन्टर जान नसकेर घरमै बच्चा जन्माउन बाध्य छन् । कालिकोट, सदरमुकाम मान्मबाट २३ कोस टाढा पर्ने खिनको स्वास्थ्यचौकीको भवन पनि जीर्ण छ । स्थानीय सरकार बनेपछि स्वास्थ्यकर्मी नियमित भए पनि उपकरण र भौतिक पूर्वाधारको कमीले स्वास्थ्य सेवा दिन कठिनाइ छ । दुई अहेब, दुई अनमी, एक भ्याक्सिनेटर र एक सहयोगी कर्मचारी छन् । ‘पानी परे चुहिने, घाम लागे पोल्ने स्वास्थ्यचौकी छ,’ स्वास्थ्यचौकी इन्चार्ज धनबहादुर खत्रीले भने, ‘गाउँपालिकाको डेढ लाखले भुइँमा त प्लास्टर गरियो, माथि चुहिने टाल्न पुगेन ।’

चेतनाको कमीले महिलामा चारपटक गर्भ जाँच गर्नुपर्छ भन्ने जानकारी नै नभएको अर्का अहेब भीमबहादुर शाहीले बताए । ‘टाढाका बस्तीलाई त स्वास्थ्य संस्था टाढा भयो,’ अहेब शाहीले भने ‘नजिकका पनि जाँच गराउन आउँदैनन् ।’ उनले दुर्गममा स्वास्थ्य सेवा दिन निकै कठिनाइ भएको सुनाए ।चेतनाको कमी, स्वास्थ्य संस्था टाढा हुनु, आउने बाटो पनि अप्ठेरो हुनुले अधिकांश महिला प्रसूति हुन स्वास्थ्यचौकी आउन नसकेका अनमी कमलाकुमारी बोगटी बताउँछिन् । उनले बर्थिङ सेन्टरमा पर्याप्त उपकरणको अभाव रहेको सुनाउँदै बिरामी बस्ने प्रतीक्षालय, खानेपानी, फर्निचरको पनि अभाव रहेको गुनासो गरिन् ।

स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या पनि निकै कम छ । खिन स्वास्थ्य चौकीमा वैशाखमा चारजना, जेठ र असारमा तीन/तनिजनाले मात्र सुत्केरी भएको रेकर्ड छ । स्वास्थ्यचौकीका अनुसार बच्चा जन्माएका सबैले चारपटक गर्भ जाँच गराएका थिए ।स्वास्थ्य संस्थामा खानेपानीको अभाव भए पनि सँगै जोडिएको धौलागोह स्वास्थ्यचौकीमा भने खिनको भन्दा अवस्था फरक छ । यहाँको स्वास्थ्यचौकीमा पुस महिनामा मात्र १८ महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको अनमी संंगीता चौधरीले बताइन् ।

प्रकाशित : असार २४, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?