१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पहिरोको जोखिममा गाउँ

रुकुम पश्चिम/सल्यान — रुकुम जिल्लाका ६ स्थानीय तहमध्ये त्रिवेणी गाउँपालिका प्राकृतिक प्रकोप हुने दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिम विश्लेषणको क्रममा त्रिवेणीलाई उच्च जोखिममा रहेको गाउँपालिकाको सूचीमा राखेको छ ।

पहिरोको जोखिममा गाउँ

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले अन्य ५ स्थानीय तहभन्दा त्रिवेणी गाउँपालिका उच्च जोखिममा रहेको बताए । ‘विशेषगरी पहिरोको उच्च जोखिममा त्रिवेणी गाउँपालिकाका अधिकांश ठाउँहरू छन्,’ प्रजिअ रेग्मीले भने, ‘विगतका वर्षमा भएका प्रकोप र वस्तुस्थितिको अध्ययन गर्दा त्रिवेणी उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको छ ।’

१० वडा रहेको त्रिवेणीका दसवटै वडा पहिरोको उच्च जोखिममा छन् । बल्लेजुरा, बाँदरपानी, हाइवाङ, पोखरी, कालिमाटी, जम्दाखारा, लाइतलगायतका गाउँहरू पहिरोको जोखिममा छन् । त्रिवेणिकै स्रिमुतु उकालो, डाँगीमोड, झुल्नेटा र खौलामा सडक अवरुद्ध हुन सक्ने अनुमान पनि गरिएको छ । जिल्ला भित्रिने मुख्य सडक राप्ती लोकमार्ग अवरुद्ध भएपछि स्थानीयले आवतजावतमा समस्या हुने निष्कर्ष जिल्ला विपद् व्यवस्थापन समितिले निकालेको छ ।

सानीभेरी गाउँपालिका प्राकृतिक प्रकोप हुने दृष्टिकोणले दोस्रोमा परेको छ । ११ वडा रहेको सानीभेरीका ९ वडा जोखिममा देखिएका छन् । पूर्तिमकाँडा, स्याला, बेलटापु, चाख्लिमेला, बलिबाङ, हाँसु, चिलघुइते, छहरालगायतका गाउँ पहिरोको जोखिममा छन् । आठबीसकोट नगरपालिकाका ७ वडा, चौरजहारी नगरपालिकाका ७ वडा, मुसिकोट नगरपालिकाका ६ वडा र बाँफिकोट गाउँपालिकाका २ वडा प्राकृतिक प्रकोपको दृष्टिकोणले उच्च जोखिममा छन् ।

आठबीसकोटका खारखारा, झिन्चौर, गैरीचोक, धेरला, डाँडाखाली, सिमबजार, गोइरी, स्यानीबार्खु जोखिममा छन् । त्यस्तै मुसिकोट नगरपालिकाका चौखाबाङ, स्यालापाखा, सोलावाङ, छिबाङ पहिरो र बाढीको जोखिममा छन् । चौरजहारी नगरपालिकाका कोटजहारी, नार्जी, खहरे खोला, काली खोला, जहारी खोला लगायत प्राकृतिक प्रकोपको जोखिममा छन् । समितिका अनुसार बाँफिकोट गाउँपालिकाका दुली, झुला, छिन्खेत–राडीज्युला जाने सडक तथा घारीखोला प्राकृतिक प्रकोपअन्तर्गत पहिरोको जोखिममा छन् ।

जिल्लाका अधिकांश ठाउँ पहिरोको जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । जोखिम बढी देखिएका ठाउँमा उद्दार तथा राहत सामग्रीको व्यवस्थापन, उच्च सतर्कताबारे जानकारी गराइसकिएको रेग्मीले बताए । जोखिमयुक्त क्षेत्रमा विपद्को पूर्वतयारी, विपद्का बेला र विपद्पछि गर्नुपर्ने कामका विषयमा अभिमुखीकरण गर्ने तयारी गरिएको छ ।

खर्सुबासमा त्रास
सल्यान छत्रेश्वरी गाउँपालिकाको खर्सुबास गाउँ पहिरोको उच्च जोखिममा परेको छ । प्रत्येक वर्ष वर्षायाममा जाने पहिरोका कारण बस्ती बगाउने खतरा बढेको भन्दै स्थानीयवासी त्रसित भएका हुन् । तीन वर्षदेखि वर्षाको समयमा पहिरोका कारण ठूलो क्षति बेहोर्नुपरेको स्थानीयको भनाइ छ ।

पहिरोले बस्ती छुन थालेकाले वर्षात भएमा गाउँ आसपास जान कठिनाइ भएको स्थानीय टीकाराम पुनले बताए । ‘पानी पर्न थालेपछि मनमा चिसो पस्न थाल्छ,’ पुनले भने, ‘पहिरोको डरले रातभर जाग्राम बस्ने गरेका छौं ।’ वैकल्पिक व्यवस्था नहुँदा जोखिम मोलेरै गाउँमा बस्न बाध्य भएको उनको भनाइ छ । २०६९ सालमा गाउँको बीच भागबाट ठूलो पहिरो गएको थियो । बर्सेनि पहिरो खस्ने क्रम नरोकिएको उनको भनाइ छ । पहिरोले गत वर्ष खोला नजिकैका पाँच घट्ट र दुई घर बगाएको थियो ।

जिल्लाभरिका ७ सय बढी परिवार पहिरोको जोखिममा रहेको भूसंरक्षण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाग्चौरको बाफुखोला, कोटबारा, बन्गाडकुपिण्डेको ब्युरेनी, निगालचुला, भदालेलगायतका बस्ती पहिरोको उच्च जोखिममा छन् । जंगल मासेर सडक निर्माण गर्ने क्रम बढ्दै गएकाले पहिरोको जोखिमसमेत बढेको कार्यालय प्रमुख वीरेन्द्रप्रसाद पटेलले बताए । चुरे क्षेत्र र पहाडी बस्ती भएकाले पहिरोको जोखिम सल्यानमा बढी रहेको उनको भनाइ छ ।

प्रकाशित : असार २६, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?