२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

जाजरकोट अस्पतालमा तलब माग्दै आन्दोलन

दुई सातादेखि ओपीडी सेवा ठप्प -स्वास्थ्यकर्मीद्वारा प्रशासनमा धर्ना -बिरामीले उपचार पाएनन्
भीमबहादुर सिंह

जाजरकोट — जिल्ला अस्पतालका चिकित्सकलगायत स्वास्थ्यकर्मी सेवा ठप्प बनाएर आन्दोलनमा उत्रिएका छन् । ७ महिनादेखि तलब भत्ता नपाएको भन्दै उनीहरूले चाँडोभन्दा चाँडो भुक्तानी माग गरेका छन् ।

जाजरकोट अस्पतालमा तलब माग्दै आन्दोलन

चिकित्सक, पारामेडिसिन र कर्मचारी आन्दोलनमा उत्रिएपछि दुई सातादेखि अस्पतालको ओपीडीलगायत सेवा ठप्प छ । उनीहरूले मंगलबार खलंगा बजारमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । आन्दोलनरत स्वास्थ्यकर्मीले तत्काल तलब भत्ता नपाए अस्पतालको आकस्मिक सेवा बन्द गर्ने चेतावनी दिंदै प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई ज्ञापनपत्र पनि बुझाए । उनीहरूले प्रजिअ बस्नेतमार्फत सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र पठाएका हुन् ।


अस्पतालको सेवा अवरुद्ध भएपछि बिरामी मर्कामा परेका छन् । आन्दोलनका कारण अस्पतालमा ओपिडी, एक्सरे, ल्याब, खोपलगायत सेवा ठप्प छन् । अस्पतालको सेवा ठप्प भएपछि बिरामी उपचार खोज्न निजी मेडिकल र जिल्लाबाहिर जान बाध्य भएको भेरी नगरपालिका ३ का वडाअध्यक्ष लीलाबहादुर शाहले बताए । ‘आएका बिरामी उपचारबाट वञ्चित भएका छन्,’ उनले भने, ‘तर सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको छैन ।’


स्वास्थ्यकर्मीले गत १३ र १४ गते अस्पतालमा कालो पट्टी बाँधेर तलब भत्ता नपाएको विरोध गरेका थिए । दुई सातासम्म अस्पतालको सेवा ठप्प हुँदा हजार बढी बिरामी उपचारबाट वञ्चित भए । टाइफाइडले ग्रसित भएर आउँदा उपचार नपाई फर्कन बाध्य भएको नलगाड ५ का कर्णबहादुर खत्रीले बताए । त्यस्तै कुशे गाउँपालिका २, डाँडाभौंताकी राधिका शर्माले पनि अस्पतालमा उपचार नपाएपछि रुकुमको चौरजहारी अस्पताल पुग्नुपरेको सुनाइन् ।


गत पुस/माघदेखिको तलब तथा अतिरिक्त सेवा भत्ता नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र लामाले बताए । भेरी नगरपालिका र बारेकोट गाउँपालिकाअन्तर्गत स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि तलब खान नपाएको उनको भनाइ छ । भेरी नगरपालिकाको कार्यालयमा पटक–पटक तलब माग गर्दा पनि सुनुवाइ नभएको उनले बताए । ‘तलब भत्ता नपाउँदा अस्पताललगायत स्वास्थ्य संस्थाका सय बढी स्वास्थ्यकर्मी बेखर्ची भएका छन्,’ उनले भने, ‘चिकित्सकलगायत स्वास्थ्यकर्मीसँग खाजा खाने रकमसमेत छैन ।’ उनका अनुसार स्वास्थ्यकर्मी दैनिक गुजारा चलाउन ब्याज तिर्ने गरी ऋण लिन बाध्य भएका छन् ।


अधिकांश स्वास्थ्यकर्मी जिल्लाबाहिरका भएकाले तलब नपाउदा दैनिक हातमुख जोर्न कठिनाइ भएको उनले जनाए । ‘५/७ महिनासम्म तलब नपाएर कसरी काम गर्ने ?’ उनले भने, ‘साहुसँग कति उधारो सामान मागेर गुजारा चलाउनु ? आज आउला भोलि आउला भन्दै ७ महिना बित्यो ।’ उनका अनुसार साहुले पनि पत्याउनै छाडेकाले दैनिक जीवन धान्नै कठिनाइ भएको छ । उनले बाध्य भएर १३ गतेदेखि आन्दोलनमा उत्रेको जानकारी दिए ।


चालु आवको अन्तिम दिनसम्म पनि सम्बन्धित निकायले तलब भत्ता नखुवाए अस्पतालको आकस्मिक सेवासमेत बन्द गरी कडा आन्दोलनमा उत्रने स्वास्थ्यकर्मीको भनाइ छ । गत वर्षको साउनदेखि स्थानीय तहबाट तलब भत्ता लगाएतको निकासा हुने निर्णय भएपछि पटक–पटक तलब भत्ता खान समस्या भएको उनीहरू बताउँछन् । ५० शय्याको अस्पतालका स्वास्थ्यकर्मीले तलबसमेत खान नपाउनु लाजमर्दो भएको आन्दोलनरत कर्मचारीको भनाइ छ । जाजरकोट अस्पतालका ५७, भेरी नगरपालिका र बारेकोट गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका ६० गरी १ सय १७ स्वास्थ्यकर्मीले तलब भत्ता नपाएका हुन् ।


अर्थ मन्त्रालयले ससर्त अनुदानको बजेट रकम निकासा नदिँदा अस्पतालका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको भेरी नगरपालिकाका लेखापाल डम्बरबहादुर विष्टले बताए । अस्पताललगायत स्वास्थ्य संस्थाका कर्मचारीका लागि गत चैत ५ मै नपुग तलब भत्ता रकमको कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत माग गरेको, तर निकासा नआएको लेखापाल विष्टले बताए । जाजरकोट अस्पताल र भेरी नगरपालिकाका अन्य स्वास्थ्य संस्थाका चिकित्सकलगायत स्वास्थ्यकर्मीको तलब, अतिरिक्त सेवा भत्ता, बिरामी सिदा खर्चलगायत शीर्षकका लागि २ करोड १६ लाख नपुग भएको उनले जानकारी दिए । बजेट निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोट र स्वास्थ्य सेवा विभागले ४ महिनाअघि नै अर्थ मन्त्रालयमा सिफारिस गरिसकेको विष्ट बताउँछन् ।


जाजरकोटमा नाम मात्रको ५० शय्याको अस्पताल भएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । उक्त अस्पतालमा डाक्टरलाई खुवाउने तलबसमेत आउन नसकेको उनको भनाइ छ । ‘तलबै नपठाउने सरकारले विशेषज्ञ चिकित्सक तथा उपकरण के पठाउला ?’ उनले भने, ‘यो जाजरकोटबासीको स्वास्थ्यप्रतिको खेलबाड हो ।’ चिकित्सकको आन्दोलनले सामान्य उपचार सेवा नपाउँदा दुर्गमबाट आएका बिरामी झन मर्कामा परेको उनले बताए ।

प्रकाशित : असार २७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?