सुत्केरी भएपछि जँचाउन बेवास्ता

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाकी द्वारिका विष्टले गर्भवती भएको समयमा चार पटक गर्भ जाँच गराइन् । सुत्केरी भइसकेपछि भने उनले स्वास्थ्य जाँच गर्न ध्यान दिइनन् ।

सुत्केरी भएपछि जँचाउन बेवास्ता

‘सुत्केरी जाँच पनि गर्नुपर्छ र ?’ सुत्केरी जाँच गरे/नगरेको बारे सोध्दा उनले भनिन्, ‘मेरो बच्चा ६ महिना बढीको भइसक्यो, खोइ मलाई त सुत्केरी जाँच गर्नुपर्छ भन्ने थाहै छैन ।’

सुत्केरी भइसकेपछि जाँच नगर्ने विष्ट एक्ली भने होइनन्, स्वास्थ्य संस्थामा होस् या घरमा सुत्केरी भएका हुन् अधिकांशले सुत्केरी जाँच गर्ने गरेका छैनन् । प्रसूतिगृहको तथ्यांक केलाउने हो भने यसको पुष्टि हुन्छ । आठबीसकोट नगरपालिका–४, गोतामकोट स्वास्थ्यचौकीस्थित प्रसूतिगृहमा साउनदेखि हालसम्म सुत्केरी भएका ६७ मध्ये एक जना पनि सुत्केरी जाँचका लागि आएका थिएनन् ।

‘एक जनाबाहेक अरू महिला चेकजाँचमा आउनुभएन,’ अनमी सुस्मिता पुनमगरले भनिन्, ‘भौगोलिक विकटता, पर्याप्त जानकारीको अभावलगायत कारण सुत्केरी जाँच नियमित हुन नसकेको हो ।’सानीभेरी गाउँपालिका–९, सिम्ली स्वास्थ्यचौकीमा रहेको प्रसूतिगृहमा चालु आर्थिक वर्षमा ८८ जना महिला सुत्केरी भएका छन् । तीमध्ये जाँचका लागि चार जना मात्रै आएका छन् । स्वास्थ्यचौकी इन्चार्ज छविलाल केसीले स्वास्थ्यचौकी नजिकैका भएकाले पनि चार जनाले सुत्केरी जाँच
गराएको बताए ।

गर्भवती भइसकेपछि ९ महिना अवधिमा चार पटक गर्भ जाँच गरेजस्तै सुत्केरी भइसकेपछि पनि चार पटक नै सुत्केरी जाँच गर्नुपर्ने हुन्छ । जिल्ला अस्पताल सल्लेका डा. बुनेशकुमार बादलले सुत्केरी भएको २४ घण्टा, तीन दिन, सात दिन र २८ दिनमा सुत्केरी जाँच गर्नुपर्ने बताए । ‘गर्भवती जाँच गरेजस्तै सुत्केरी जाँच पनि अनिवार्य हो,’ डा. बादलले भने, ‘यताका धेरैजसोले सुत्केरी जाँच गरेको पाइएन ।’ गर्भवती अवस्थाको चेकजाँचमा सबै सचेत भए पनि सुत्केरीपछिको चेकजाँचलाई बेवास्ता गर्ने गरिएको उनको भनाइ छ ।

जिल्ला अस्पतालमा रहेको प्रसूतिगृहमा सुत्केरी हुनेहरू अधिकांश पहिलो सुत्केरी जाँच हुने गरेको छ । २४ घण्टामा गर्नुपर्ने चेकजाँच गरेपछि मात्रै अस्पतालले सुत्केरीलाई घर पठाउने गरेको छ । बाँकी तीनवटा सुत्केरी जाँच भने जिल्ला अस्पतालमा पनि मुस्किल छ । सदरमुकामबाहिरका प्रसूतिगृहमा सुत्केरी हुनेहरूले त २४ घण्टाको सुत्केरी जाँच पनि गर्दैनन् । बस्ने, खाने ठाउँको व्यवस्था नहुँदा उनीहरू छिटो–छिटो घर फर्कन तयार हुन्छन् भने स्वास्थ्यसंस्थाले पनि सुत्केरी भइसकेपछि जतिसक्दो छिटो बिदा दिने गरेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविका शोभा मल्लले सुत्केरी जाँच गर्नुपर्छ भन्ने जानकारी अभाव हुनु तथा भौगोलिक विकटताले सुत्केरी चेकजाँच हुन नसकेको बताइन् । ‘सुत्केरी जाँचका लागि टाढा हिँड्नुपर्छ, उनीहरूको शारीरिक अवस्था कमजोर भएका बेला भएर पनि सुत्केरी जाँच सफल भइरहेको छैन,’ उनले भनिन् ।

प्रकाशित : असार २७, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?