नमुना बस्ती पहिरोको जोखिममा

ज्योति कटुवाल

दैलेख — बजार सदरमुकाम नजिकैको नमुना बस्ती पहिरोको जोखिममा छ । भिरालो स्थानमा बस्ती भएकाले बर्सेनि बादी समुदायलाई पहिरोको त्रास हुने गरेको हो ।

नमुना बस्ती पहिरोको जोखिममा

गत वर्षको वर्षायाममा गएको पहिरोमा परी तीन जनाले ज्यान गुमाएका थिए । यस वर्ष पनि माथिबाट पहिरो जाने क्रम सुरु भएकाले स्थानीय त्रसित भएका छन् ।

स्थानीयवासीले पटक–पटक नगरपालिका र जिल्ला प्रशासन कार्यलयमा पहिरोबाट बस्ती जोगाउन माग गरे पनि बेवास्ता भएको गुनासो गरेका छन् । बादी समुदाय लामो समयदेखि लालपुर्जाविहीन जग्गामा बस्दै आएका छन् । अस्थायी वासस्थान भएकाले सुरक्षित स्थानमा आफूहरूलाई स्थानान्तरण गर्नुपर्ने स्थानीयको माग छ । ‘पानी नपरेका दिन मात्र सुत्ने गरेका छौं,’ स्थानीय पवा बादीले भनिन्, ‘आकाशमा पानी पर्न लागे रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।’ उनले आर्थिक अवस्था कमजोर भएकाले पक्की घर बनाउन नसकिएको बताइन् । उनले वर्षौंदेखि लालपुर्जा नपाएकाले अन्यत्र स्थानान्तरण गर्न सरकारसँग माग गरिन् ।

स्थानीय शिक्षिका कमला बादीले द्वन्द्वको समयमा नमुना बस्तीमा आएर बसेको बताइन् । ‘वर्षौं बित्यो सरकारले न लालपुर्जा दियो, न जीविकोपार्जनमा सहयोग,’ उनले भनिन्, ‘अहिले पहिरोको जोखिम बढ्दै गएको छ । सबै निकायलाई यसबारे जानकारी गरायौं, कसैले वास्ता गरेनन् ।’ उनले विभिन्न निर्वाचनका बेला उम्मेदवारले स्थायी बास र जीविकोपार्जनको आश्वासन देखाए पनि अहिले फर्केर नहेरेको बताइन् । स्थानीयका अनुसार गाउँमा पहिरोको त्रास बढ्दै गए पनि स्थानीय सरकारले बेवास्ता गरिरहेको छ । नारायण नगरपालिका–६ का वडाध्यक्ष प्रकाश न्यौपानेले तत्काल पहिरो रोकथाम गर्न पहल गरिने बताए । ‘तत्कालका लागि पहिरो रोक्न ग्याबिन तारजाली राखिनेछ,’ उनले भने, ‘आगामी वर्ष उनीहरूका लागि स्थायी वासस्थानको व्यवस्था गरिनेछ ।’ उनले अधिकांश घरधुरी विपन्न भएकाले वैकल्पिक व्यवस्था गर्न नसकेको बताइन् । वर्षा भर्खर सुरु भएकाले समयमै रोकथाम गर्न सके बस्ती सुरक्षित हुने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बादी समुदायलाई पहिरोको त्रासबाट जोगाउन आवश्यक पहल गरिने जनाए । ‘तत्काल पहिरोको त्रासबाट उनीहरूलाई मुक्त बनाइनेछ,’ उनले भने, ‘वर्षायाम सकिएपछि विभिन्न निकायको सहयोगमा उनीहरूलाई सुरक्षित बसोबासको व्यवस्था मिलाइनेछ ।’ नारायण नगारपालिकाका प्रमुख रत्नबहादुर खड्काले नमुना बस्तीको समस्या समाधानका लागि छलफल भइरहेको जनाए ।

प्रकाशित : असार २७, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?