१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

राउटेलाई स्थायी परिचयपत्र

राउटे समुदायको स्थायी ठेगाना अब गुराँस गाउँपालिकामा कायम
ज्योति कटुवाल

दैलेख — फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले स्थायी परिचयपत्र पाउने भएका छन् । गुराँस गाउँपालिकाले राउटे समुदायको स्थायी बासस्थान तोकेर शनिबार परिचयपत्र वितरण गर्न थालेको छ । राउटे समुदायको स्थायी ठेगाना अब गुराँस गाउँपालिकामा कायम हुनेछ ।

राउटेलाई स्थायी परिचयपत्र

जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको नामथर र ठेगाना खुल्ने गरी परिचयपत्र वितरणको व्यवस्था गर्न गाउँपालिकालाई परिपत्र गरेको थियो । अहिले सरकारले राउटे समुदायका लागि मासिक भत्ताको व्यवस्था गरेको छ । राउटेलाई दिइने परिचयपत्र छपाइको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । शनिबार परिचयपत्र वितरण गर्ने तयारी गरिएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए ।

राउटे मुखिया सूर्यनारायण शाहीले सरकारले दिने भत्ताका लागि धेरै स्थानमा घुम्नुपर्ने बाध्यता हटेको बताए । उनका अनुसार एकै स्थानमा बस्न पाउँदा राउटे समुदाय खुसी भएका छन् । मौसम र हावापानी अनुकूल भएकाले आफूहरू गुराँसमा बसेको उनको भनाइ छ । उनीहरू अहिले गुराँस गाउँपालिका–८, गर्चे खोलामा बस्दै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले भत्ताका लागि राउटेलाई विभिन्न स्थानमा जानुपर्ने बाध्यता हटेको बताए । बासस्थान फेरिरहने कारणले राउटे समुदायबाट अत्यधिक मदिरा सेवन गरी होहल्ला र झैझगडा गर्ने, जथाभावी वन फँडानी गर्ने जस्ता मुद्दा आउने गरेका थिए । ‘अब बासस्थान एकै ठाउँमा भएपछि यस्ता घटना कमी हुने अपेक्षा छ,’ उनले भने, ‘उनीहरूको जीवनस्तर पनि व्यववस्थित हुनेछ ।’

यसैबीच, राउटे समुदायका लागि एईआईएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखमार्फत राउटे परियोजना सञ्चालन गर्न लागिएको छ । परियोजनाले सन् २०१८ देखि तीन वर्षको अवधिमा एक करोड २७ लाख रुपैयाँको परियोजना सञ्चालन गर्न लागेको हो । संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले राउटे समुदायको स्वास्थ्य उपचारलाई सहज बनाउन र आनीबानीमा परिवर्तन गर्न कार्यक्रम लागू गरिएको बताए । उनीहरूका लागि पोषण, बाल संरक्षण र साक्षरता कक्षा सञ्चालन गरिने उनको भनाइ छ ।

आधुनिक उपचारमा विश्वास
राउटे समुदायले विगत वर्षमा आधुनिक उपचार पद्धतिमा विश्वास गर्दैनथे । अहिले घाउ चोटपटक लागेमा, ज्वरो, रुघाखोकी जस्ता कुनै स्वास्थ्य समस्या देखिए उनीहरू नजिकैको स्वास्थ्यचौकी वा मेडिकलमा पुग्ने गरेका छन् ।

जंगलमा बस्ने र घुमन्ते जीवनशैली अपनाउने भएकाले उनीहरूको विश्वास जडीबुटी र घरेलु उपचारमा थियो । अहिले उनीहरू कुनै शारीरिक समस्या देखिए बस्ती पुग्ने आगन्तुकसँग डाक्टर वा स्वास्थ्यर्मी पठाइदिन आग्रह गर्छन् ।

राउटे अगुवा सूर्यनारायण शाहीले आधुनिक औषधि उपचारमा विश्वास गर्न थालिएको बताए ।

केही वर्षअघि महामुखिया मैनबहादुर शाहीकी पत्नी दुनीको खुट्टामा क्यान्सर भएपछि शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया भएको थियो । काठमाडौंमा उपचारपछि उनलाई सञ्चो भएका कारण राउटेले आधुनिक औषधि र उपचारको भर गर्न थालेका हुन् ।

प्रकाशित : असार २८, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?