बाख्रापालनबाट आत्मनिर्भर

९ बाख्राबाट व्यवसाय थालेका सुरेश गाहामगरसँग अहिले एक सय आठ उन्नत जातका खसी/बोका र बाख्रा छन् 
विप्लव महर्जन

सल्यान — यहाँका किसानले व्यावसायिक बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् । बजारको अभाव नहुने र आम्दानी मनग्गे हुने भएपछि किसानको बाख्रापालनमा आकर्षण बढेको हो । यसबाट उनीहरू आत्मनिर्भर बन्दै गएका छन् ।

व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका त्रिवेणीका किसान खोपीराम भण्डारीले पालेका बाख्रा । तस्बिर: विप्लव

जिल्ला पशुसेवा कार्यालयबाट १० लाख रुपैयाँ अनुदान लिई सुधारिएको गोठ निर्माण गरेर बाख्रापालन गर्ने ५५ किसान छन् । केही किसानले बाख्रापालनसँगै घाँस खेतीलाई निरन्तरता दिएका छन् । व्यावसायिक बाख्रापालनबाट आएको रकमले घर खर्चसहित छोराछोरीलाई राम्रो शिक्षा दिंदै आएको किसानको भनाइ छ ।

कालिमाटी गाउँपालिका, दम्दवालीका सुरेश गाहामगर पेसाले शिक्षक हुन् । उनले शिक्षणसँगै चार वर्षदेखि बाख्रापालनलाई निरन्तरता दिएका छन् । सुशांक एग्रिकल्चर फर्ममार्फत ९ बाख्राबाट व्यवसाय थालेका उनीसँग अहिले एक सय आठ उन्नत जातका खसीबोका र बाख्रा छन् । बाख्रापालनबाट वार्षिक पाँच लाख बढी आम्दानी गर्दै आएको उनको भनाइ छ । गाहामगरले बाख्रापालनकै रकमले १२ जनाको परिवार पालिरहेको बताए । नजिकै जंगल हुँदा घाँसको समस्या नभएको र परिश्रम पनि धेरै नभएको उनको भनाइ छ । १५ हेक्टर जग्गामा गरिएको घाँस खेतीबाट पनि आम्दानी बढिरहेको उनले जनाए ।

शारदा नगरपालिका–२ डाँडागाउँका कृष्णराज उपाध्यायले पनि बाख्रापालनबाट वार्षिक तीन लाख बढी आम्दानी गर्दै आइरहेका छन् । तीन वर्षदेखि बाख्रा पाल्न थालेका उनका गोठमा स्थानीय र बोयर जातका ८४ खसी/बोका र बाख्रा छन् । यसै वर्षदेखि आम्दानी दोब्बर हुने उनले जनाए । उनले फर्ममा १८ लाख रकम लगानी गरेको बताए । तीन महिनाअघि २० हजारका दरले ६ बोयर जातका पाठा, ३० हजारका दरले दुई बोका र ८० हजारको मल बिक्री गरेको उनको भनाइ छ । उत्पादित बोयर जातका बोका र पाठापाठी पशु कार्यालयले खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आइरहेको छ ।

शारदा नगरपालिका–८ मार्केका जीवराज बोहराले समेत सिर्जनशील बाख्रा फार्म खालेर व्यावसायिक बाख्रापालन गरेका छन । ७० बोका र बाख्रा पालिरहेका उनले समेत वार्षिक तीन लाख बढी कमाउँदै आएको बताए । ‘बाख्रापालनबाट ६ जनाको परिवार सजिलै पाल्दै आएको छु,’ उनले भने, ‘फर्ममा दुई जनालाई रोजगारी पनि दिएको छु ।’

व्यावसायिक बाख्रापालनमा लागेपछि राम्रै आम्दानी भएको कुमाख गाउँपालिका–२, स्विकोटकी सम्झना बुढाथोकीले बताइन् । यसमा लागेपछि परिवार पाल्न सजिलो हुनुका साथै रकम बचत गर्ने अवसर मिलेको उनको भनाइ छ । ‘पहिले चार/पाँचवटा पाल्दा खासै कमाई हुन्थेन । बिक्री गर्दा घरखर्च चलाउन गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘व्यावसायिक रूपमा लाग्दा मनग्गे कमाइ भइरहेको छ ।’

जिल्ला पशु कार्यालयका प्रमुख डा. बालकुमार श्रेष्ठले किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत किसानलाई विभिन्न अनुदान दिंदै आएको बताए । उनले दुई वर्षको अवधिमा झन्डै दुई सय बोयर जातका उन्नत बोका र पाठी वितरण गरेको जानकारी गराए । उनका अनुसार जिल्लाभरि ५ लाख ४७ हजार ५ सय ९४ खसी/बोका र बाख्रा छन् । पशुपालनमा लागेका करिब ८० प्रतिशत किसानले बाख्रापालन गरेका छन् ।

बोकाबाट मासिक २ लाख
त्रिवेणी गाउँपालिकाको लुहामस्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले उन्नत जातको बोकाबाट मासिक दुई लाख आम्दानी गर्दै आएको छ । सहकारीले जमुनापारि जातको बोका ल्याएको ९ महिनामै १८ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ ।

स्थानीय जातका बाख्रामा गर्भधारण गराएबापत मासिक दुई लाख बढी आम्दानी हुँदै आएको सहकारीका सदस्य टीकाराम केसीले बताए । उनका अनुसार बोकाबाट गर्भधारण गराएबापत बाख्रापालक किसानबाट रकम लिने गरिएको हो । सहकारीभित्रका सदस्यले पालन गरेको बाख्रालाई गर्भधारण गराएबापत ६ सय र सहकारी बाहिरका किसानबाट ६ सय ५० रकम लिने गरिएको छ । उन्नत जातको बाख्रामा उन्नत जातको बोकाबाट गर्भधारण गराउँदा जन्मने पाठापाठीसमेत उन्नत जातका हुने गरेको किसानको भनाइ छ ।

गर्भधारणका लागि त्रिवेणी गाउँपालिकाको फलाबाङ, सिम्ख, ढुंगेबजार, काभ्रालगायतका गाउँबाट बाख्रा ल्याएर किसान सहकारीमा आउने गरेका छन् ।

पशु सेवा कार्यालयको सहयोगमा सहकारीले बोका खरिद गरेको हो । बोकाबाट आम्दानी भएको रकमबाट कृषकलाई ऋण प्रवाह गरिरहेको उनको भनाइ छ । ‘बेलनबाट राम्रो आम्दानी भएपछि अर्को उन्नत जातको बोका ल्याउने तयारी गरेका छौं,’ सदस्य केसीले भने, ‘जमुनापारि र स्थानीय जातको क्रस गराउँदा पाठापाठी पनि उन्नत जातकै जन्मने गरेका छन् ।’ सहकारीमा एक सय सात सदस्य छन् । सहकारीमा आबद्ध अधिकांशले बाख्रापालन गरिरहेका छन् ।

प्रकाशित : असार २९, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

चन्दाको भरमा मदरसा

ज्योति कटुवाल

दैलेख — दैलेखको एकमात्र मदरसा आर्थिक समस्याका कारण बन्द हुने अवस्थामा पुगेको छ । दुल्लु नगरपालिका–१० मा सञ्चालित कादरियाओ मदरसा लामो समयदेखि चन्दाको भरमा छ । सरकारी निकायको बेवास्ताका कारण मदरसा सञ्चालनमा समस्या भएको अभिभावकको गुनासो छ ।

दैलेखमा सञ्चालित एकमात्र कादरियाओ मदरसा । तस्बिर : कान्तिपुर

मुस्लिम समुदायका अगुवा फरमेस मियाँले शिक्षक पाल्न समस्या भएपछि मदरसा बन्द हुने अवस्थामा पुगेको बताए । उनका अनुसार अभिभावकले चन्दा संकलन गरेर मदरसा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

दुल्लु नगरपालिका–१० मा मुस्लिम समुदायका ७० घरधुरी बस्दै आएका छन् । मुस्लिम समुदायको प्रमुख पेसा चुरा बनाउने हो । पुख्र्याैली पेसाबाट पलायन भएका उनीहरूले ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका छन् । अधिकांश अभिभावकको आर्थिक स्थिति मजबुत नभएकाले चन्दा दिन पनि नसक्ने अवस्थामा रहेको मियाँले बताए ।

१० वर्षदेखि गाउँमा मदरसा सञ्चालनमा छ । आधारभूत तहसम्म सञ्चालन गरिएको मदरसा यसअघि शिक्षकलाई तलब खुवाउन नसक्दा तीन महिना बन्द भएको थियो । तीन महिना बन्द भएको मदरसामा अभिभावकले चन्दा संकलन गरी सञ्चालन गर्ने सहमति भएपछि फेरि पठनपाठन सुरु गरिएको हो । विद्यालयमा ६४ जना विद्यार्थी अध्ययनरत छन् । सबै विद्यार्थीलाई एकजना शिक्षिकाले पढाइरहेकी छन् ।

शिक्षिका जावारी मियाँले विभिन्न निकायमा मदरसा सञ्चालनका लागि सहयोग माग्दै आए पनि बेवास्ता भइरहेको बताइन् । उनले मदरसामा पठनपाठनदेखि प्रशासनिक, व्यवस्थापनलगायतका सबै काम आफू एक्लैले गर्दै आएको बताइन् । ‘विद्यालयको आर्थिक अवस्था दयनीय छ,’ उनले भनिन्, ‘चन्दाबाटै विद्यालयको प्रशासनिक, शैक्षिक सामग्री खर्चमा व्यवस्थापन गर्नुपरेको छ ।’ जिल्ला शिक्षा कार्यालयले एक जनामात्र शिक्षकको व्यवस्था गरेको उनको गुनासो छ ।

अरू शिक्षकको व्यवस्था भए पठनपाठन सहज र व्यवस्थित बन्ने उनको भनाइ छ । मुस्लिम संस्कृति र भाषा जोगाउन मदरसा स्थापना गरिएको मुस्लिम अगुवाको भनाइ छ । अभिभावक आर्थिक रूपले सक्षम नभएकाले मासिक चन्दा संकलन गर्न समस्या रहेको शिक्षिका खातुनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएकै कारण तह बढाउन नसकिएको उनको भनाइ छ । ‘कम्तीमा पनि माध्यमिक तहसम्मको शिक्षा दिलाउन सके यहाँका बालबालिकालाई धेरै राहत हुने थियो,’ उनले भनिन्, ‘आर्थिक समस्याका कारण आधारभूत तहको विद्यालय सञ्चालन गर्नै समस्या छ ।’

स्थानीय तह निर्वाचनका बेला अधिकांश उम्मेदवारले सरकारी अनुदानको व्यवस्था गर्ने, शिक्षक दरबन्दी बढाउने, मदरसाको तह वृद्धि गर्नेलगायतका आश्वासन दिएका थिए । ‘जनप्रतिनिधिले वास्ता नगर्दा मदरसा बन्द हुने अवस्थामा पुगेको छ,’ मियाँले भने, ‘अभिभावकले पनि चन्दा संकलन गरी सञ्चालन गर्न सक्ने अवस्था छैन ।’

प्रकाशित : असार २९, २०७५ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्