कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आलुले भित्र्यायो समृद्धि

४ लाखसम्म आम्दानी
सिँचाइ नहुँदा आकाशे पानीको भर
सडक नहुँदा बजार पुर्‍याउन किसानलाई सास्ती
भीमबहादुर सिंह

जाजरकाेट — कुशे गाउँपालिका ५, पाँचकाटियाका कर्णबहादुर थापा आलु खेतीबाट मात्र बर्सेनि ४ लाख आम्दानी गर्छन् । थापा करिब ९ रोपनी पाखोमा डेढ मेट्रिक टन आलु उत्पादन गर्छन् । सोही ठाउँका निर्मला मल्ल र पुर्थीबहादुर खत्री पनि आलु खेतीबाटै तीन/तीन लाख हात पार्छन् ।

आलुले भित्र्यायो समृद्धि

खत्री र मल्लले ६/६ रोपनी पाखोमा आलु खेती गर्दै आएका छन् । उनीहरू मात्र हैन, पाँचकाटियाका एक सय बढी किसानले आलु उत्पादनबाट मनग्य आम्दानी गर्ने गरेका छन् ।

पाँचकाटियाका किसानले आलु खेतीबाट ५० हजारदेखि ४ लाखसम्म आम्दानी गर्ने गरेका छन् । ८/९ वर्षयता आलु उत्पादनबाट मनग्य आम्दानी भएको थापाले बताए । ‘विगतमा चिसोले अन्य कुनै उत्पादन नभई बाँझो रहने पाँचकाटियाको पाखोबारी पछिल्लो समय आलु खेतीले हराभरा देखिन्छ,’ थापाले भने, ‘स्थानीय बजार र उपभोक्तामा पाँचकाटियाको आलुको माग बढ्दो छ ।’ मनग्य आलु उत्पादनबाट आम्दानी हुन थालेपछि पाँचकाटियाका स्थानीयको उक्त खेतीतर्फ आकर्षण बढेको थापाले बताए ।

पाँचकाटियाका किसानले ५ सय रोपनी जमिनमा आलु उत्पादन गर्ने गरेको उनले बताए । स्थानीय जातको आलु उत्पादन हुने हुँदा बजारमा यसको खपतको पनि समस्या नभएको थापाको भनाइ छ । उत्पादनमा समस्या छ तर बिक्री गर्न गाह्रो छैन । व्यापारी तथा उपभोक्ता पाखोबारीमै पुगेर आलु लिने गर्छन्,’ उनले भने । ओखरलगायत फलफूल र आलुबाहेक अन्य खेतीको विकल्प नभएको थापाले बताए ।

‘सिँचाइ सुविधा नहुँदा आकाशे पानीका भरमा आलु खेती हुने गरेको छ,’ थापाले भने । चैत/वैशाखमा पानी पर्दा आलु उत्पादनमा वृद्धि हुने उनको भनाइ छ । सुक्खा खडेरी भएमा आलु उत्पादन घट्ने उनले बताए । उनका अनुसार समयमा वर्षात हुँदा यस वर्ष आलु उत्पादन राम्रो भएको छ । दुई हजार मिटरको उचाइमा रहेको पाँचकाटियामा ३० वर्ष अघिसम्म घनाजंगल थियो । जलवायु परिवर्तन तथा पूर्वाधारको निर्माण, मानव बसोबास र बजारीकरणसँगै पाँचकाटिया आलु खेतीले परिचित भएको छ । पाँचकाटिया खलंगा, झाप्रा, पैंक, बारेकोट र नलगाडबाट आएका पाँचवटा सडकको संगम विन्दु तथा पर्यटकीय स्थान हो ।

यहाँका स्थानीयले व्यावसायिक रूपमा आलु खेती गर्ने गरेका छन् । आलु खेतीबाट मनग्य आम्दानी हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । यस ठाउँमा वर्षे सिजनको आलु खेती हुने गरेको छ । माघमा लगाएको आलु असार पहिलो सातासम्म उत्पादन भएर बजारमा जाने गरेको कृषक डिल्ली थापाले बताए । उक्त आलुलाई वर्षे आलु भन्ने गरेको र प्रतिकिलो ४० मा पाखोबारीमै बिक्री हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार बजारमा पाइने हाइब्रेड जातको आलुभन्दा यो आलु फरक स्वादको भएकाले उपभोक्ताको माग बढ्दो छ । ‘नियमित यातायातका साधन आवतजावत गर्न सक्ने सडक नहुँदा उत्पादित आलुलाई बजारसम्म पुर्‍याउन भने कठिन भएको छ,’ उनले भने । कतिपय बजारसम्म पुर्‍याउन घोडा, खच्चडको माध्यमबाट ढुवानी गर्दा आलु बाटोमै सड्ने गरेको उनको गुनासो छ । सदरमुकाम खलंगा, थलहबजार, बाटुलेबजार लगायतलाई पाँचकाटियाकै उत्पादनले धानेको थापा बताउँछन् ।

पाँचकाटियालगायत आसपासका क्षेत्रलाई समेटेर आलु खेतीका लागि ब्लग क्षेत्र घोषणा गरेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । पाँचकाटियाका लागि आलु मुख्य खेती भएकाले लगानी वृद्धि गरेर ब्लग बनाएको बस्नेतको भनाइ छ ।

कुशेका दम्दाला, समाइला, खुर्पा, ढिमे, चाल्ना, पोखरा, रिजालगायत स्थान खेतीका लागि पकेट क्षेत्र मानिएका छन् । अन्य खेतीभन्दा आलुबाट तेब्बर आम्दानी हुन थालेपछि किसानहरू यस खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ ।

प्रकाशित : असार ३०, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?