चौरजहारीको केन्द्र विजयश्वरी

रुकुम पश्चिम — चौरजहारी नगरपालिको पाँचौं नगरसभाले चौरजहारी नगरपालिका–२, को विजयश्वरीलाई नगरपालिकालको स्थायी केन्द्रको रूपमा कायम गरेको छ । बहुमतका आधारमा हाल कामकाज भइरहेको ठाउँलाई नै नगरपालिकाको स्थायी केन्द्र बनाउने निर्णय पारित भएको प्रमुख विशाल शर्माले बताए ।

चौरजहारीको केन्द्र विजयश्वरी

सभामा उपस्थित सदस्य ६७ मध्ये विजयश्वरीमै केन्द्र कामय गर्ने पक्षमा ६१ मत जाहेर भएको थियो । विपक्षमा ६ मत परेको नगरपालिकाले जनाएको छ । ७५ सदस्यीय नगरसभामा ८ सदस्य उपस्थित भएनन् । विधेयक समिति संयोजक टीकाराम ओलीले केन्द्र तोक्नेसम्बन्धीको विधेयक सभामा पेस गरेका थिए ।

नगरसभाले १० नम्बर वडाको चिन्नेबगरमा नगर अस्पताल, १३ नम्बर वडाको एगौली/छेर्नानमा सीप विकास तालिम केन्द्र निर्माण गर्ने निर्णय पनि पारित गरेको छ । यस्तै, ७ नम्बर वडाको आधारभूत विद्यालय नार्जीलाई नमुना स्कुलको रूपमा विकास गर्न सहयोग गर्ने र माध्यमिक विद्यालय कोजटहारीलाई प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालयको रूपमा विकास गर्ने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ । नगरको दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई राजस्व, यातायातलगायतमा विशेष सुविधा प्रदान गर्ने निर्णय भएको प्रमुख शर्माले बताए ।

बाँफीकोटलाई स्यार्पुमा परितर्वन
बाँफीकोट गाउँपालिकाले भने दोस्रो पटक गाउँपालिकाको नाम परिवर्तन गरेको छ । यसअघि परितर्वन गरिएको नाममा अस्वीकृत भएपछि बाँफीकोटलाई स्यार्पु गाउँपालिका बनाइएको छ । वर्षे अधिवेशनको दोस्रो गाउँसभाले बाँफीकोट गाउँपालिकाको नाम स्यार्पु गाउँपालिका बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले स्यार्पु गाउँपालिका गरेर सिफारिस गर्न सर्वसम्मत निर्णय भएको बताए । यसअघिको गाउँसभाले बाँफिकोटको नाम सहिद स्यार्पु गाउँपालिका बनाउने निर्णय गरेको थियो । उक्त नामको स्थानीय स्तरबाट पनि विरोध भएको थियो । ‘पहिले गरिएको नामकरण अस्वीकृत भयो,’ अध्यक्ष केसीले भने, ‘त्यसैले अर्को नामकरण गरेर सिफारिस गर्ने निर्णय भएको छ ।’

प्रकाशित : असार ३१, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?