कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैदीबन्दी सेवासुविधाबाट वञ्चित

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोट कारागारका कैदीबन्दी रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री सुविधाबाट वञ्चित छन् । खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित हुनुपरेको थुनुवा बलबहादुर मल्लले बताए ।

कैदीबन्दी सेवासुविधाबाट वञ्चित

कैदी बन्दीको औषधोपचारमा कारागार शाखाले बेवास्ता गरेको उनको आरोप छ । खल्तीमा पैसा हुनेको उपचार हुने तर नहुनेको उपचार नै नहुने गरेको उनले जनाए । बिरामी कैदी बन्दीले औषधोपचार गरेको बिल पेस गर्दा पनि भुक्तानी नपाएको मल्लको भनाइ छ । ‘दुई सातासम्म धारोमा पिउने पानी आउँदा पनि कसैले वास्ता गर्दैनन्,’ उनले भने, ‘रासन तथा सिदा खर्च ४/५ महिना बित्दासमेत पाउन सकिएको छैन ।’

लत्ताकपडा भत्ता वर्षमा दुई पटक पाउनुपर्नेमा एक पटक मात्र दिने गरेको र उक्त अन्य कारागारका भन्दा निकै कम उपलब्ध हुने गरेको कैदीबन्दीको गुनासो छ । लत्ताकपडा भत्ता अन्य कारगारमा २ हजारका दरले पाइने भए पनि जाजरकोट कारागारमा ७ सय ५० मात्र पाइने उनीहरूको गुनासो छ । कारागारका कर्मचारीले कैदी र थुनुवालाई अपहेलना गर्ने गरेको कैदी निमबहादुर सिंहले बताए ।

केही कर्मचारीले कैदीबन्दीलाई तल्लो दर्जाको नागरिक सम्झेर अश्लील शब्द प्रयोग गर्ने गरेको उनको भनाइ छ । ‘कारागारमा कसैलाई पनि सम्मानजनक व्यवहार भएको छैन,’ उनले भने, ‘सेवासुविधाको अभाव तथा सम्मानपूर्वक व्यवहार नपाउँदा तनावमा बस्न बाध्य छौं ।’ कैदी बन्दीलाई तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य चर्को भएको उनको गुनासो छ ।

कैदीहरू एक प्याकेट सुर्तीको ७० रुपैयाँ मूल्य तिर्न बाध्य सिंहले जनाए । सम्बन्धित प्रशासनलाई १० हजार घूस दिएर मात्र चौकीदार तथा नाइके बन्न पाउने प्रचलन रहेको कैदी बन्दीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकलगायत उच्च तहका कर्मचारी एक पटक पनि कारागारमा नआएको उनीहरू बताउँछन् । जिल्ला प्रशासनलगायत निकायले कैदी बन्दीको समस्याप्रति बेवास्ता गरेको कैदी बन्दीको गुनासो छ । उनीहरूका अनुसार कैदी बन्दीले जायज माग गर्दा पनि सरुवा गरिदिने, कैदसजाय थपिदिने, धम्की आउनेलगायतका समस्या छन् ।

कैदी तथा थुनुवाले अनावश्यक निहुँ खोजेर कारागार प्रशासनलाई समस्यामा पार्ने गरेको जेलेर तेजविक्रम शाहले बताए । २० जना अटाउने क्षमताको जाजरकोट कारागारमा ५७ जना कैदी तथा थुनुवा कोचाकोच गरेर बस्न बाध्य छन् । कारागारमा कैदी बन्दीका लागि दुई कोटा मात्र छन् । एउटै कोठामा ३० जना कैदी लाइन लागेर सुत्न बाध्य छन् ।

कारागारको निर्माणाधीन भवन सम्पन्न नहुँदा कैदीबन्दीलाई समस्या भएको जेलेर शाहले बताए । कारागार प्रशासनका अनुसार अहिले ४८ कैदी र एक महिलासहित ९ जना थुनुवा छन् ।

प्रकाशित : असार ३१, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?