वडाध्यक्षको चिनारी सफल किसान

हरि गौतम

रुकुम पश्चिम — त्रिवेणि गाउँपालिका–१, का ३७ वर्षीय मोहनकिशोर ओली सोही वडाका अध्यक्ष हुन् । तर उनको परिचय वडा अध्यक्षमा मात्रै सीमित छैन । उनले आफूलाई किसानको रुपमा पनि चिनाउँदै आएका छन् ।

वडाध्यक्षको चिनारी सफल किसान

‘म पहिला किसान हुँ, त्यसपछि मात्रै वडा अध्यक्ष,’ ओलीले भने, ‘मेरो पृष्ठभूमी कृषकको हो, मेरो कर्म पनि कृषि नै छ यसैले म कृषक वडाअध्यक्ष हुँ भन्न अ ्यारो मान्दैन ।’

वडा र गाउँपालिकामा गर्नुपर्ने काम, बैठक भेला तथा सभाहरूमा बाहेक अरु समय उनले कृषिमै विताउने गरेका छन् । ‘जनताबाट चुनिएकाले जनताका काम प्राथमिकतामा पर्ने नै भए, त्यसपछि मेरो समय भनेको बारी र खोरमै हो, म अत्याबश्यक बाहेकको समय बारी र खोर भन्दा अन्यत्र दिन भ्याउदैन,’ अध्यक्ष ओलीले भने ।

उनले दुई वटा कृषिलाई एकै साथ व्यवसायिक बनाउँदै अघि बढेका छन् । उनको बारीमा अलैंची र खोरमा बाख्रा छन् । दुवैलाई व्यवसायिक तवरबाट सुरु गरेका ओलीले आम्दानी लिन थालेको पनि केही वर्ष भैसक्यो । ‘मात्रामा थोरै होला तर केही वर्षदेखि म मेरो घरको सम्पूर्ण खर्च कृषिबाटै व्यहोर्ने गरेको छु,’ उनले भने ‘पछिल्लो समय अलैंचीको बारी र बाख्राको खोर बढै छ भने आम्दानीको मात्रा पनि बढिरहेकै छ ।’

७ वर्ष पहिलेदेखि अलैंची खेती गर्न थालेका उनले हालसम्म ३ रोपनी जग्गामा अलैंची खेती गरेका छन् । केही बुटा अलैंची लगाएर यसको व्यवसायीक खेती सुरु गरेका उनको पहिलो कमाई १५ हजार थियो । गत सिजनमा उनले अलैंचीबाट एक लाख आम्दानी गरे । अबको सिजनमा एक लाख भन्दा बढी आम्दानी हुनेमा उनी विश्स्त छन् । हरेक सिजनमा अलैंचीले आम्दानी बढाउँदै लगेको अनुभव उनले संगालेका छन् । उनले अलैंची खेती गरेको क्षेत्र अलैचीका लागि अब्बल मानिन्छ । उनी मात्रै होइन त्यस क्षेत्रका हरेक किसानको बारीमा अलैंची खेती छ ।

राम्रो लगानी गर्न सके एउटै टोलबाट एक करोडको आम्दानी गर्न सकिने सम्भावना उनले देखेका छन् । ‘वडामा आउने बजेटले मात्रै केही गर्न सकिने अवस्था छैन, अन्य निकायले सहयोग गर्न रुची गर्दैनन्,’ उनले भने, ‘थोरै लगानी बढाउन सके हामी सबै किसानको आम्दानी बढ्नेमा हामी ढुक्क छौं ।’

अलैंचीसँगै उनले व्यावसायिक रूपमा बाख्रापालन पनि गरिरहेका छन् । उनीसँग हाल ३२ वटा बाख्रा छन् । थोरै लगानी गरेर ३ वटा बाख्राबाट बाख्रापालन सुरु गरेका उनले बाख्राको संख्या बढाएका छन् भने आम्दानी पनि लिन सुरु गरेका छन् । चालु वर्षमा बाख्रा बिक्रीबाट ७५ हजार आम्दानी भएको ओलीले बताए । ‘बाख्रा बढ्दै छन्, माग आएका सबै बिक्री गर्ने गरेको छैन, उनले भने, ‘कहिलेकाहीं फाट्टफुट्ट बिक्री गरिने बाख्राको आम्दानी ७५ हजार हो ।’ घर खर्च छोराछोरीको पढाइको व्यवस्थापन कृषिबाट भइरहेको उनले बताए । ओली सफल हुँदै गएका कृषक त हुँदै हुन् उनले अन्य किसानका लागि प्रेरणाको स्रोत पनि हुन् ।

१ नम्बर वडाका सदस्य लक्ष्मण ओलीले वडाध्यक्ष नै व्यावसायिक कृषिमा लागेकाले अरूलाई पनि कृषि गर्न प्रेरणा भइरहेको बताए । ‘जनताका कामको अलावा कृषिमै व्यस्त अध्यक्षका कारण पनि धेरै सर्वसाधारण व्यावसायिक कृषिप्रति आकर्षित देखिनुभएको छ,’ उनले भने, ‘आफूले सिकेको सीप अरूलाई सिकाउने र गर्नुपर्छ भनेर हौसला प्रदान गर्ने अध्यक्षको बानीले सबैलाई सजिलो भएको महसुस हामीले गरेका छौं ।’

प्रकाशित : असार ३२, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?