कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

वर्षैभरि बेमौसमी तरकारी

कृष्णप्रसाद गौतम

तेस्रो बजार (कालिकोट) — खाँडाचक्र नगरपालिका–५, तेस्रो बजारका धनबहादुर कार्कीले तीन वर्षदेखि बेमौसमी तरकारी खेती गरेका छन् । उनको तीन रोपनी बारीमा वर्षैभरि काँक्रा, फर्सी, टमाटर, काउली, खुर्सानीलगायतका बेमौसमी तरकारी फलिरहेको हुन्छ ।

वर्षैभरि बेमौसमी तरकारी

तरकारी खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्दै आएका उनले गाउँमै दुईतले पक्की घर बनाउनुका साथै छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेका छन् ।

स्थानीय धर्म कार्कीले तरकारीबाट भएको आम्दानीले सुर्खेतको वीरेन्द्रनगरमा घडेरी किनेको बताए । उनले दैनिक २५ किलोदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्री गर्ने गरेका छन् । तीन रोपनीमा तरकारी खेती गर्दै आएका धनबहादुरको आम्दानी वार्षिक तीन लाख रुपैयाँभन्दा बढी छ । ‘तरकारी खेती गर्न थालेपछि आत्मविश्वास बढेको छ,’ उनले भने, ‘जीवनस्तर पनि व्यवस्थित बन्दै गएको छ ।’ तेस्रो बजार मात्र होइन् यहाँका ताडी दाहा, पिलीलगायतका गाउँका ३ सय ५० बढी घरधुरीले व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन् । तेस्रो बजारवरिपरिका किसान १७ समूहमा संगठित भएका छन् । तरकारी खेतीमा लाग्नुअघि अधिकांश पुरुष रोजगारीका लागि भारत जानुपर्ने बाध्यता थियो । ‘भारतको कमाइले वर्षभरि खान पुग्दैनथ्यो,’ उनले भने, ‘तरकारी खेतीमा लागेपछि बर्सेनि केही रकम बचत हुँदै आएको छ,अधिकांश किसान घरजग्गा जोड्न सफल भएका छन् ।’ उनी निजी सेवा प्रदायकसमेत हुन् ।

उनले अरू किसानलाई ब्याड बनाउने, बेर्ना सार्ने, रोगकीरा नियन्त्रण गर्ने, गोडमेल गर्नेलगायतका बिभिन्न सल्लाह दिंदै आएको बताए । तेस्रो बजारकै एकल महिला कला कार्कीले चार रोपनी जग्गामा तरकारी खेती गर्दै आइरहेकी छन् । तरकारीबाट वार्षिक तीन लाख ५० हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ । एक वर्षअघि जेठो छोरालाई आन्द्राको क्यान्सर हुँदा तरकारी बिक्रीबाट भएको आम्दानीले उपचार गर्न सम्भव भएको कार्की बताउँछिन् । छोराको उपचारमा ८ लाख खर्च भएको कार्कीको भनाइ छ । ‘तरकारी खेतीबाटै धेरै गर्न सक्ने आँट आएको छ,’ उनले भन्छिन्, ‘घरखर्च चलाएर वर्षमा डेढ लाख बढी बचत गर्न थालेकी छु ।’ दुई छोरा र दुई छोरीको पठनपाठन र घर खर्च चलाउन सजिलो भएको उनी बताउँछिन् । तेस्रो बजारस्थित फूलबारी कृषक समूहमा २९ घरधुरी आबद्ध छन् । समूहका सबै किसानले प्लास्टिक घर निर्माण गरेका छन् । समूहका सदस्यले बेमौसमी तरकारी खेतीबाट वार्षिक न्यूनतम दुई लाख रुपैयाँ कमाउँदै आएको समूहका सचिब कार्कीले बताए । समूह स्थापनापछि पुरुषहरू कृषिको काममा लाग्न थालेका छन् । उनका अनुसार तेस्रो बजारमा प्लास्टिक घरका साथै खुला रूपमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ ।

उच्च मूल्य कृषिवस्तु विकास आयोजनाले तेस्रो बजारमा दुई सिँचाइ पोखरी निर्माण गरिदिएको छ, जसले चौबीसै घण्टा सिँचाइ सुविधा छ ।उच्च मूल्य कृषिवस्तु विकास आयोजनाले तेस्रो बजार आसपासका किसानलाई व्यावसायिक तरकारी खेतीका लागि एक करोड २५ लाख ७४ हजार रुपैयाँको विभिन्न सहयोग उपलब्ध गराएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीका अनुसार कृषकलाई तरकारी खेतीदेखि बजारीकरण सहयोग पुर्‍याउन सिँचाइ, प्लास्टिक घरलगायतका सहयोग
गरिएको छ ।

प्रकाशित : श्रावण १, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?